माघमा इतिहासकै धेरै आयात

बिहिबार, ६ फागुन, २०७७
डिजिटल संस्करण

मासिक आयात अघिल्लो वर्षको माघको तुलनामा ३० प्रतिशतले बढेर झन्डै डेढ खर्ब पुग्यो, वैदेशिक व्यापार कोरोना प्रभावबाट मुक्त

माघ महिनामा नेपालको इतिहासकै सबैभन्दा बढी मासिक आयात भएको छ । कोरोनाको प्रभावबाट वैदेशिक व्यापार मुक्त भएसँगै माघ बहिनामा आयातको बढेर १ खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । यो अघिल्लो वर्षको माघको तुलनामा ३१ प्रतिशतको वृद्धि हो ।

नेपालमा कोरोना महामारीको संक्रमण तथा जोखिम बढेसँगै चैत २०७६ देखि आयात व्यापार सुस्ताएको थियो । त्यसको १० महिनापछि आयात व्यापार हालसम्मकै उच्चदरमा बढेको हो । ‘चालू आर्थिक वर्षको सात महिना (माघ)मा आइपुग्दा मासिक गणनामा हालसम्मकै उच्च आयात भएको छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । यसअघि असोज २०७५ मा १ खर्ब ४१ अर्ब २४ करोडको आयात भएको थियो । 

गत फागुन २०७६ देखि नेपालको आयात खस्किएको थियो । गत वर्ष फागुन महिनामा नेपालमा १ खर्ब २० अर्ब ४७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । त्यसपछिका तीन महिना आयात व्यापार झन्डै ५० प्रतिशतले घटेको थियो । चैतमा ५८ अर्ब २९ करोड, वैशाखमा ४२ अर्ब ६० करोड र जेठमा ७५ अर्ब ६८ करोड रुपैयाँको आयात भएको थियो । लकडाउनको अन्त्य भएर आर्थिक गतिविधि बढेसँगै आयात क्रमशः बढ्दै आएको थियो ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको सात महिना (माघ महिनासम्ममा) नेपालमा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँबरारको आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँले बढी हो । वार्षिक तुलनामा निरन्तर ऋणात्मक देखिएको आयात माघ महिनामा आइपुग्दा धनात्मक देखिएको हो । ‘एक वर्षभन्दा बढी समयदेखि वार्षिक तुलनामा आयात निरन्तर घटेको देखिएको थियो’ दाहालले भने, ‘माघ महिनामा आइपुग्दा गत वर्षको भन्दा केही बढेको देखियो, यसले कोरोनाको प्रभावपछि आयात व्यापार लयमा फर्किएको देखायो ।’

लक्ष्यभन्दा साढे ६ अर्ब बढी राजस्व
आयात वृद्धिसँगै भन्सार राजस्वसमेत उच्चदरमा बढेको छ । माघ महिनामा भन्सार विभागले ३५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा साढे ६ अर्ब रुपैयाँ बढी अर्थात् ४१ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ ।

यो गत वर्षको माघको तुलनामा ५२.७८ प्रतिशतले बढी हो । माघ महिनासम्ममा भन्सार राजस्व संकलन २ खर्ब ३८ अर्ब ९० करोड पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.९ प्रतिशतले बढी हो । आयात बढेसँगै राजस्वसमेत उच्चदरमा बढ्न थालेको महानिर्देशक दाहालले बताए । 

 निर्यात साढे ७ प्रतिशतले बढ्यो 
माघ महिनासम्ममा नेपालले ६९ अर्ब ९१ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.६२ प्रतिशतले बढी हो । नेपालले माघ महिनामा मात्रै ९ अर्ब ११ करोडको निर्यात भएको छ । यो गत वर्षको माघको तुलनामा १८.५३ प्रतिशतले बढी हो ।

महानिर्देशकले ल्याए ‘कोरोनाकालमा भन्सार प्रशासन’ पुस्तक
भन्सार विभागका महानिर्देशक सुमन दाहालको ‘कोरोनाकालमा भन्सार प्रशासन–प्रयास एवं अनुभूतिसंग्रह’ नामक पुस्तक सार्वजनिक भएको छ । कोरोनाकालमा भन्सार विभागले गरेका प्रयास, भन्सार प्रशासनले भोगेका समस्या, व्यापार सहजीकरणमा अपनाएका रणनीतिलगायत विविध पक्ष समेटिएको पुस्तक सार्वजनिक भएको हो । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले पुस्तकको विमोचन गरे । 

कोरोनाकालमा भन्सारमा देखिएको समस्या, समस्या समाधानमा गरिएका पहल, प्राप्त सफलतालगायत विषयलाई समेटेर पुस्तक तयार पारिएको महानिर्देशक दाहालले बताए । ‘महामारीका वेला भन्सारमा के–कस्ता समस्या देखिन सक्छन् र त्यसको समाधान कसरी गर्ने भन्ने जानकारी पुस्तकबाट प्राप्त गर्न सकिन्छ’ उनले भने, ‘यस पुस्तकले नीति–निर्माण तथा पूर्वतयारीका लागि बाटो देखाउने विश्वास लिएको छु ।’

See More On

सुझावित समाचार