भट्ट हत्याका दोषीलाई कारबाही गर्न महिला आयोगको माग

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन–अनुसन्धान सुरु भएको पाइएको बताइएको छ । 

अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पीडितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ । 

आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अपराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशील भएर लागेको बताइन् । घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादुर थापासँग गम्भीर छलफल भएको उनले बताए । 

घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको उनको भनाइ छ । केन्द्रमा रहेको आयोग कसरी तलसम्म पुग्न सक्छ भनी छलफल भइरहेको उनले बताइन् । 

आयोगकी सदस्य खतिवडाले आफू घटनास्थल पुग्दा त्यहाँको प्रहरी दिन र राति नभनी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको बताइन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पीडक कानुनको दायरामा आउने उनको विश्वास छ । 

पीडितको बुबा भर्खरै बितेको, दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा विक्षिप्त भएको पाइएको टोलीले जनाएको छ । पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिनसमेतको आयोगले सरकारसँग अपिल गरेको छ ।

सुझावित समाचार