भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

पर्साको जिराभवानी गाउँपालिका– १ पिपरडारीस्थित ओरिया खोलामा भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते भएका छन् ।  शुक्रबार बिहान नेपाल प्रवेश गरी बालुवा तस्करी गर्न आएका  भारतीयलाई रोक्न गएका सशस्त्र प्रहरीमाथि भारतीयहरूले आक्रमण  गरेका हुन् । 

तस्करको आक्रमणबाट  सशस्त्र प्रहरी जवान आयुष राय यादव र महेशप्रसाद यादव घाइते भएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । घाइते प्रहरीहरूको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक खड्काले बताए । 

भारतसँग सीमा जोडिएको ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको बालुवा उत्खनन रोक्न सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको २२ जनाको टोली खोलामा गस्ती गएको थियो ।  

सशस्त्र प्रहरी निरीक्षकद्वय वसन्त जिसी र केदार राईको नेतृत्वमा गएको २२ जनाको सशस्त्र प्रहरीको टोलीले खोलाबाट बालुवा लोड गरिएका तीनवटा भारतीय ट्याक्टर नियन्त्रणमा  लिएको थियो । तर, नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोलामै ट्याक्टर भासिएपछि सशस्त्र प्रहरीले निकाल्ने प्रयास गरिरहेको थियो । 

नेपाली भूमिको ओरिया खोलामा भारतीयले गर्दै आएको बालुवा तस्करी रोक्ने क्रममा यसअघि पनि पटकपटक नेपाली सुरक्षाकर्मीलाई भारतीयहरूले आक्रमण गरी घाइते बनाएका थिए ।

सुझावित समाचार