कोभिडका कारण बन्द भएका ११ प्रतिशत उद्योग फेरि खुलेनन्

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

उद्योग मन्त्रालयले गरेको अध्ययन प्रतिवेदन : लकडाउनपछि बन्द भएका ८९ प्रतिशत उद्योग पनि आंशिक रूपमा मात्रै सञ्चालन, सदाका लागि बन्द चारमध्ये तीनवटा साना उद्योग

कोभिड–१९ का कारण बन्द भएका ११ प्रतिशत उद्योग फेरि कहिल्यै खुल्न नसकेको उद्योग मन्त्रालयले गरेको अध्ययनले देखाएको छ । कोभिड–१९ को महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण बन्द भएका ती उद्योग सदाका लागि पलायन हुन पुगेका हुन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको ‘कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभाव’ विषयक अध्ययन प्रतिवेदनले कोभिडका कारण १० दशमलव ८१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएको देखाएको हो । बाँकी ८९.१९ प्रतिशत उद्योग–व्यवसायहरू आंशिक रूपमा सञ्चालन भइरहेका छन् । सरकारले कोभिड–१९ महामारीको नियन्त्रणका लागि गरेको बन्दाबन्दी र त्यसपश्चात्को समयमा समेत कुनै पनि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको प्रतिवेदनले देखाएको छ । कोभिडका कारण पूर्ण रूपमा बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको छ ।  

मन्त्रालयले गत १७ कात्तिकदेखि १६ मंसिरसम्म तथ्यांक संकलन गरेको थियो । अध्ययनमा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा–पित्तलका भाँडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोसाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने ३७ उद्योग–व्यवसाय सहभागी थिए । जसमा लघु उद्यम तथा घरेलु उद्योग १७ वटा, साना उद्योग ८ वटा, मझौला उद्योग ४ वटा र ठूला उद्योग ८ वटा रहेका छन् । कोभिड–१९ महामारीका कारण उद्योग–व्यवसायको सञ्चालन क्षमता घटेको तथा उत्पादनमा समेत गिरावट आएको छ । 

उद्योगी तथा व्यवसायीहरूले कच्चा पदार्थको आपूर्र्ति, श्रमिक परिचालन र उत्पादनको बजारीकरणमा समस्या भोगिरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कोभिडका कारण बन्दाबन्दीको समयदेखि हालसम्म उद्योग–व्यवसायमा परेको प्रभाव आकलन गर्न, उद्योग–व्यवसायलाई पहिलेकै अवस्थामा ल्याउन तथा उद्योग–व्यवसायको प्रवद्र्धन गर्न नेपाल सरकारले चाल्नुपर्ने नीति तथा कार्यक्रम पहिचान गर्ने उद्देश्यले मन्त्रालयले अध्ययन गरेको हो ।

१६ प्रतिशत उद्योग मात्रै नाफामा
कोभिड–१९ र यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनमा उत्पादन तथा बिक्री–वितरणमा प्रत्यक्ष असर पारेपछि उद्योग–व्यवसायको आम्दानीसमेत नराम्ररी प्रभावित भएको देखिएको छ । अध्ययनमा सहभागी उद्योगहरूमध्ये १६.२२ प्रतिशतले मात्रै नाफामा रहेको बताएका छन् । नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूला उद्योग रहेका छन् । कोभिडका कारण धेरैले रोजगारीसमेत गुमाएका छन् । सबैभन्दा बढी रोजगारी गुमाउने संख्या लघु उद्योगमा रहेका छन् । त्यसपछि क्रमशः साना, मझौला र ठूला उद्योगहरूमा रोजगारी गुमेको प्रतिवेदनले देखाएको छ । रोजगारी गुमेको अवस्थालाई लैंगिक दृष्टिकोणबाट हेर्दा महिलाको तुलनामा पुरुषहरूले उल्लेखनीय संख्यामा रोजगारी गुमाएको अध्ययन प्रतिवेदनले जनाएको छ ।

व्यवसायीको यस्तो माग 
अध्ययनमा सहभागी उद्योग–व्यवसायीहरूले उद्योग–व्यवसाय सञ्चालनको अवस्थालाई पुरानै लयमा फर्काउन विभिन्न सुझाब दिएका छन् । सरकारले ब्याजदरमा छुट दिनुपर्ने, सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, करमा छुट दिनुपर्ने, विद्युत्को डिमान्ड शुल्क उत्पादनका आधारमा गरिनुपर्ने, कर्जा तिर्ने अवधि थप गरिनुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता दिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने तथा घरभाडा छुट दिनुपर्ने बताएका छन् । त्यसैगरी, विद्युत् महसुल कम गर्नुपर्ने, कम्तीमा २ वर्षसम्म श्रमिकको न्यूनतम ज्याला वृद्धि गर्न नहुने, अन्तशुल्क र भ्याटको दरमा पुनर्मूल्यांकन गर्नुपर्ने र नेपाल सरकारले घोषणा गरेका सबै सहुलियतहरू तुरुन्त प्रदान गर्नुपर्ने उनीहरूको सुझाब छ ।

उत्पादनमा ५० प्रतिशत गिरावट यस्ता छन् अन्य समस्या
सर्वेक्षणमा सहभागी उद्योगहरूमध्ये ५४ प्रतिशत उद्योगहरूको ५० प्रतिशतसम्म उत्पादन गिरावट आएको छ । अध्ययनमा सहभागीमध्ये २३.५२ प्रतिशत लघु तथा घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको देखिएको छ । लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशत उद्योगहरूले कोभिड–१९ को महामारीका कारण आफ्नो उत्पादनमा असर परेको बताएका छन् ।

त्यसैगरी, ७६.४७ प्रतिशत लघु तथा घरेलु उद्योगले कच्चा पदार्थ प्राप्तिमा कठिनाइ हुनुका साथै श्रमिक परिचालनमा समेत असर परेको बताएका छन् । त्यस्तै, ८८.२४ प्रतिशत लघु तथा घरेलु उद्योगहरूले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका छन् ।

साना उद्योगहरूमध्ये ८७.५ प्रतिशत उद्योगहरूले उत्पादनमै प्रत्यक्ष असर परेको बताएका छन् । ७५ प्रतिशत साना उद्योगहरूले उद्योगका लागि कच्चा पदार्थ प्राप्त गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै, ८७.५ प्रतिशत उद्योगहरूले श्रमिकहरूको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका छन् । अध्ययनमा सहभागी मझौला उद्योगहरूमध्ये ५० प्रतिशतले कच्चा पदार्थ प्राप्तिमा समस्या परेको, ७५ प्रतिशतले श्रमिक परिचालनमा समस्या परेको बताएका छन् ।

कोभिड–१९ ले सबै मझौला उद्योगको उत्पादन र बजारीकरणमा असर परेको अध्ययनले देखाएको छ । ठूला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र बजारीकरण सबै क्षेत्रमा असर परेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

See More On

सुझावित समाचार