बुधवार नेप्से परिसूचक झिनो अंकले बढेर २ हजार ५ सय ४३ बिन्दुमा पुगेको छ । बुधबार बजारमा ८ दशमलव ६६ अंकको वृद्धि भएको हो । परिसूचकमा दिनभर उच्च उतार–चढाव देखिएको छ । २ हजार ५ सय ४४ बाट सुरु भएको बजार एकोहोरो घटेर २ हजार ५ सय ११ सम्म पुग्यो । त्यसपछि सामान्य थपघट भइरह्यो ।
नेप्सेको मैनवत्ती चित्रले लामो तल्लो धागो र सानो शरीरको कालो मैनवत्ती बनाएको छ । यसले लगानीकर्ताहरू बजारको गतिमा सुनिश्चित हुन नसकिरहेको संकेत गर्छ । तर, कारोबार रकम भने अझै उच्च नै छ । यस दिन ७ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसले बजारमा लगानी गर्नेहरूको कमी नरहेको संकेत गर्छ । बिहीबारको पहिलो कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।
यस दिन बैंक, होटेल, विकास बैंक, वित्त कम्पनी र निर्जीवन बिमा कम्पनीको समूहगत परिसूचक मात्रै वृद्धि भएको छ । बैंकिङ समूहको वृद्धिले नेप्सेमा उछाल आएको छ । वाणिज्य बैंक समूहको ग्लोबल आइएमई, प्रभु, कुमारीलगायतका बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । मूल्यसमेत वृद्धि भएका यी बैंकको ३७ देखि ५२ करोड रुपैयाँसम्म कारोबार भएको हो । मूल्य भने १९ देखि २५ रुपैयाँसम्म वृद्धि भएको छ ।
गोर्खा फाइनान्स, गुह्येश्वरी मर्चेन्ट, आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरैले वृद्धि भएको छ । यी कम्पनीको मूल्य ९ देखि १० प्रतिशतसम्म वृद्धि भएको हो । साधना लघुवित्त, सपोर्ट माइक्रो फाइनान्सको मूल्य भने उच्चदरमा घटेको छ ।
कारोबारमा आएका १ सय ९१ मध्ये ६८ वटाको मूल्य बढेको र १ सय ७ को मूल्य घटेको छ ।
यस दिन वित्तीय विवरण सार्वजनिक गरेको बुटवल पावरको दोस्रो त्रैमासमा नाफा ८३ प्रतिशतले घटेर १३ करोड ८३ लाख रुपैयाँमा सीमित भएपछि सेयर मूल्य घटेको हो । मूल्य १२ रुपैयाँले घटेर ४ सय १३ रुपैयाँमा सीमित भएको छ । सूर्यालाइफ इन्स्योरेन्सको भने नाफा ३२ प्रतिशतले बढेर २० करोड रुपैयाँ पुगे पनि मूल्य ६ रुपैयाँले घटेर आठ सय ८९ रुपैयाँमा सीमित भएको हो ।