विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध जाहेरी दर्ता

जाहेरी दिन एक जना मात्र अभिभावक पुगिन्, अरू अभिभावकलाई राजनीतिक दबाबमा जाहेरी दिन रोकियो

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

नयाँ पत्रिका फलोअप
विद्यार्थीमाथि कक्षाकोठामै यौन दुर्व्यवहार गर्ने शिक्षक शालिकराम पोखरेलविरुद्ध जाहेरी दर्ता भएको छ । पीडित बालिकाका तर्फबाट अभिभावक गीता राईले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेकी हुन् । कमल गाँपालिका– ३ सहिद धर्मभक्त माविका शिक्षक पोखरेल र शिव भट्टराईले अधिकांश बालिकालाई कक्षाकोठामै यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका थिए । यद्यपि एकजना अभिभावकले पोखरेलविरुद्ध मात्रै जाहेरी दिएकी हुन् । दशभन्दा बढी अन्य विद्यार्थी र अभिभावक यसअघि जाहेरी दिनका लागि आइतबार इलाका प्रहरी कार्यालय दमक आएका थिए ।

उनीहरूले जाहेरी तयारी पारेर दर्ता गर्न प्रहरी कार्यालय जाँदै गर्दा दर्ता गर्न दिइएको थिएन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कमल– ३ का वडा सदस्य चक्रबहादुर गुरुङ र शिक्षक–अभिभावक संघ अध्यक्ष लेखनाथ खतिवडाले जाहेरी दर्ता नगरी दबाबमा फर्काएका थिए । शिक्षक पोखरेल ओली समूहमा आबद्ध भएका कारण उनका विरुद्ध जाहेरी दिन गुरुङ र खतिवडाले रोक लगाएका हुन् । गुरुङ तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् भने अहिले ओली समूहको नेकपामा छन् । खतिवडा पनि ओली समूहको नेकपाका स्थानीय नेता हुन् । 

विद्यालय व्यवस्थापन समितिले सोमबार बिहान विद्यालयमा कार्यपालिका सदस्य, गाउँपालिका शिक्षा शाखा, अभिभावक, विद्यार्थी र शिक्षकसहितको बैठक राखेर दुवै शिक्षकलाई माफीसमेत मगाए । माफी मागेपछि शिक्षक भट्टराईले सोही विद्यालयमा पढाने सहमति भएको छ भने पोखरेललाई अन्तै सरुवा गर्ने सहमति भएको छ । 

अरू बालिका र अभिभावकले भने जाहेरी दर्ता नगर्ने प्रतिबद्धता जनाएका छन् । ‘विद्यार्थीकै मागबमोजिम सहमति भएको छ । शिव सरको विषयमा समस्या छैन उहाँले यहीँ पढाउनुहुन्छ भनेर विद्यार्थीले भने शालिक सरको विषय उहाँको पारिवारिक समस्या छ । काठमाडौं गइरहनुपर्छ । तत्काल बिदा बस्ने र आवश्यकताअनुसार काठमाडौं सरुवा जाने भन्नुभएको छ,’ कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले भने, ‘सोमबारको बैठकमा शिक्षकहरूले अभिभावक भर पढाउने क्रममा तिमीहरूलाई चोट परेछ । यसमा क्षमता चाहन्छौँ भन्नुभयो ।’

यद्यपि राईले भने माफी माग्दैमा न्याय नपाइने भएका कारण जाहेरी दर्ता गराएको बताइन् । ‘मलाई पनि स्कुलमै मिल्नुपर्छ भन्दै थिए । तर, मलाई त्यसमा न्याय हुँदैन जस्तो लाग्यो । शालिकराम सरले मेरो नानीलाई दुर्व्यवहार गर्नुभएको रहेछ,’ उनी भन्छिन्, ‘त्यसकारण मैले उहाँविरुद्ध जाहेरी दिएको हुँ । न्याय पाने आस गरेकी छु ।’

पोखरेल विगत दुई दशकदेखि सहिद धर्मभक्त माविमा शिक्षण पेसा गर्दै आएका छन् । उनी प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक नभएका कारण मावि तहमा पनि उनले नेपाली विषय अध्यापन गराउँदै आएका थिए । विगतदेखि नै विद्यार्थीलाको संवेदनशील अंग छुने, अनावश्यक शरीरमा छुने, मसार्नेलगायतका गतिविधि गर्दै आएको पीडित पीडित विद्यार्थीले गुनासो गरेको यसअघि नयाँ पत्रिका दैनिकले पटक–पटक समाचार प्रकाशन गर्दै आएको थियो । 

शिक्षक पोखरेलविरुद्ध जाहेरी परेकाले तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए । ‘एकजना शिक्षकविरुद्ध मात्र जाहेरी आएको छ । जाहेरी नआई अर्का शिक्षकलाई हामी केही गर्न सक्दैनौँ,’ उनले भने, ‘अब तत्काल पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।’

सुझावित समाचार