महिला हिंसाका उजुरी मिलापत्रमै सीमित

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमा सीमित हुने गरेको छ । चालू आर्थिक वर्ष ०७७/०७८ साउनदेखि पुस महिनासम्म जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ३५ वटा महिला हिंसाको उजुरी दर्ता भएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख नन्दुकुमारी अधिकारीले बताइन् ।

ती अधिकांश उजुरी छलफल गरी मिलापत्रबाटै समाधान हुने गरेको अधिकारीको भनाइ छ । केन्द्रका अनुसार यी उजुरीमध्ये २३ वटा मिलापत्र गरिएको छ । त्यस्तै, सातवटा मुद्दा अदालतमा दर्ता गरिएको र पाँचवटा उजुरी छलफलको क्रममा रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा ६१ वटा घरेलु हिंसाका उजुरी परेका थिए । यीमध्ये ४५ वटा मिलापत्र गरी टुंग्याइएको छ । ०७५/७६ मा १२ वटा घरेलु हिंसाको परेको थियो जसमा नौवटा मिलापत्रमा टुंगिएको थियो । त्यस्तै, ०७४/०७५ मा ७९ वटा घरेलु महिला हिंसाका उजुरी प्रहरीमा दर्ता भएको थियो । यी उजुरीमध्ये ४५ वटा मिलापत्रमा टुंग्याएको छ । 

चालू आर्थिक वर्षमा १६ उजुरी, १२ मिलापत्र
यस्तै, चालू आर्थिक वर्षको साउनदेखि पुससम्म प्रहरीमा १६ वटा ठाडो उजुरीको निवेदन आएकोमा १२ वटा मिलापत्र भएको छ भने चारवटा छलफलका क्रममा छन् । आव ०७६/७७ मा १८ वटा ठाडो उजुरी आएकोमा ११ वटा मिलापत्र भएको छ । आव ०७५/०७६ मा एक सय २६ वटा ठाडो उजुरीको निवेदन परेकोमा ९१ वटा मिलापत्र भएको छ ।

कुटपिट गरी घर निकाला गरिएको, शारीरिक तथा मानसिक यातना, शारीरिकसँगै मानसिक यातना दिने, आवश्यक खर्चसमेत नदिई आर्थिक अभावमा पारेर यातना दिने, आर्थिक यातना दिएकोलगायतका महिला हिंसाको उजुरी आउने गरेको केन्द्रका प्रमुख अधिकारीले बताइन् । प्रहरीबाहेक जिल्लाको आठवटै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरी पनि मिलापत्रमै सीमित हुने गरेको पाइन्छ । 

पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाका आउने गरेको राइनास नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिका संयोजक धनकुमारी गुरुङले बताइन् । कुटपिट गरेको, महिला हिंसाका बारेमा खान लाउन नदिएकोलगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको गुरुङको भनाइ छ ।

सुझावित समाचार