कोभिड प्रभावित उद्योगहरूलाई पुनरुत्थान र पुनः सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागसँग विभिन्न माग राखेको छ । महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार विभागका महानिर्देशक जीवलाल भुसालसँग छलफल गर्दै यस्तो आग्रह गरेको हो ।
प्रतिनिधिमण्डलले उद्योगका लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनुपर्ने, एकल बिन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने, उद्योगका लागि आवश्यक पूर्वाधारहरूको सरल र भरपर्दो व्यवस्था हुनुपर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने माग राखेको छ ।
त्यस्तै, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यावहारिक एवं संस्थागत कठिनाइहरूका बारेमा उद्योग विभाग र महासंघबीच कार्यदल गठन गरी सुझाब संकलन गर्ने तथा उद्योग क्षेत्रको संख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्नेलगायतका सुझाब राखेको थियो ।
महानिर्देशक भुसालले महासंघसँग नजिक रहेर काम गर्न विभाग तयार रहेको बताउँदै महासंघले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्ने विश्वास दिलाए । उनले एकल बिन्दु सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासंघबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको पनि बताएका थिए । उनले उद्योगहरूको संख्यात्मक र गुणात्मक अध्ययन गर्ने कार्यका लागि महासंघले राखेको प्रस्तावलाई विभागको तर्फबाट पूर्ण समर्थन जनाएका छन् ।