सडकमा जनताको हौसलाको राप हेर
सबथोक फेरिँदै छ, चस्मा हटाएर हेर (नेपाली अनुवाद)
पन्जाबी कवि बल्ली सिंह चिमाको यो कविता भारतमा चर्किएको किसान आन्दोलनसँगै अहिले गीत बनेको छ । बल्ली सामाजिक न्याय, अकर्मण्यता, प्रतिगमनका विरुद्ध सडकका लागि लेख्छन् । जनताका लागि लेख्छन् । भारतमा अहिले किसान आन्दोलन चर्किरहेको छ ।
आन्दोलन दबाउन भारत सरकारले पानीको पाइप काटिदिएको छ । सडकमा खाना बनाउन सकस गरिदिएको छ । बाटोमा फलामका तिखा काँटी तेर्साएका छन् । यता नेपालमा प्रतिनिधिसभा विघटनपछि नागरिकहरू सडकमा उत्रिएका छन् । नाराहरू सडकमा छन् । कविताहरू सडकमा छन् । तर, सरकार भने नियुक्ति गरेर बसिरहेको छ ।
एकथरी भन्छन्, कविताको परख गर्न छुट्टै माहौल चाहिन्छ । ‘पिन ड्रप साइलेन्स’ खोजी गर्छ कविताले । त्यहाँ कविले श्रोतालाई कविताको परख गराउँछ । तर, कविताको शक्ति सडकमै देखिने कवि विनोदविक्रम केसीको विश्वास छ । कविता जनतासँग, जनताको साथमा हुन्छ भने कविता सडकमा आइपुग्नैपर्छ, विनोदको विश्वास हो यो ।
‘शासकलाई खबरदारी गर्न, जनतालाई सुसूचित गर्न सडकमा जान्छ कविता, राजनीतिक परिवर्तन गर्नुपर्ने संक्रमणकालीन समयमा आम जनताको अवाजलाई मुखरित गर्न कविता सडकमा जाने हो ।’
कवि श्रवण मुकारुङ‘मूलतः सडक जनताकै हो । र कविता पनि जनताकै हुन्छ, शासकको हुँदैन ।’
कवि भूपाल राई‘माहोलको कुरा गर्दा कुनै पनि आन्दोलनमा जाँदा आन्दोलनकै लागि गइएको हुन्छ । हाम्रो ध्यान आन्दोलनमा मात्र हुन्छ । त्यसकारण कोलाहलले असर गर्दैन ।’
कवि स्वप्निल स्मृति‘सडकमा कविता
किन आवश्यक छ भने मान्छेहरू सडकमै छन् । मान्छे सडकमा छन्, आन्दोलन छ, राजनीति छ, संस्कृति पनि सडकमै छ भने कविता स्वतः त्यहाँ पुग्छ ।’
कवि संगीत
उनी भन्छन्, ‘मूलतः सडक जनताकै हो । र कविता पनि जनताकै हुन्छ, शासकको हुँदैन ।’ कवि भूपाल राई थप्छन्, ‘केही कवि राज्यसत्ताको सेवक हुन्छन् । केही हर समयमा राज्यसत्तासँग प्रतिवाद गरेर, प्रतिपक्षी चेतनालाई बाहिर ल्याउँछन् । र, सदासर्वदा समाजको सेवा गर्ने कवि सडकमा आइपुग्छ । आउनैपर्छ । उसको कार्यभार नै सडकमा आइपुग्ने हो ।’
०००
कवि श्रवण मुकारुङको चर्चित कविता छ, ‘बीसे नगर्चीको बयान’ । ०६२/६३ सालको जनआन्दोलनमा चर्चित बनेको यस कविता श्रवणले त्यही समयमा नै १२/१३ ठाउँमा वाचन गरेका थिए । श्रवणको कवितामाथि कवि विनोदको बयान छ, ‘बीसे नगर्चीको बयानले पहिलोपटक कवितामा जनतालाई जोड्यो । यो कविता यत्तिकै चर्चित भएको होइन । इतिहासमा पहिलोपटक कविता विश्वविद्यालयको पाठ्यक्रमबाट बाहिर आएको थियो ।’
कवि चन्द्रवीर तुम्बापो कवितालाई छिटो र तत्तातो प्रहार गर्ने विधा मान्छन् । त्यसकारण नै कविता साहित्यका अरू विधानभन्दा चाँडो सडकमा आइपुग्छ, चन्द्रवीरको मत छ । उनी हिजोका निर्मला पन्त हत्याकाण्ड, उखु किसानको आन्दोलन सम्झन्छन् । भन्छन्, ‘कविता सस्यानु ठाउँमा पनि पुगेको हुन्छ ।
सडकको हरेक मोडमा पुगेको हुन्छ । कविता न्यायको पक्षमा सबैभन्दा छिटो सडकमा पुग्ने हतियार हो ।’ कविताको शक्ति नै सडक र सडकसँग जोडिएका जनतामा पुगेपछि देखिने कवि विमला तुम्खेवाको भनाइ छ । भन्छिन्, ‘कविताको ओज प्रत्येक परिवर्तनका लागि सडकमा उभियो या उभिएन, सामाजिक न्यायका लागि सडकबाट बोल्यो या बोलेन, त्यसले निक्र्योल गर्छ ।’ कविताले आफ्नो तागत देखाउनै हरेक आन्दोलनमा सडक आइपुग्ने र आफ्नो उपस्थिति जनाउने कवि चन्द्र्रवीरको मत छ ।
०००
कवि श्रवणले सडकमा मात्रै चार दर्जनभन्दा बढी कविता सुनाइसकेका छन् । हालको नागरिक आन्दोलनमा पनि श्रवण, भूपाल, विमला, विनोद, चन्द्रवीरहरूसँग माइतीघरमा कविता सुनाइरहेका थिए । राज्यले उत्पीडन गरेपछि, अन्याय गरेपछि, जनताको हक अधिकारलाई सुनिश्चित नगरेपछि त्यसकाविरुद्ध संगीन घडीमा सडकमा जानेमा कविता पनि अग्रपंक्तिमा पर्ने श्रवणको विश्लेषण छ । ‘शासकलाई खबरदारी गर्न, जनतालाई सुसूचित गर्न सडकमा जान्छ कविता,’ श्रवण सुनाउँछन्, ‘राजनीतिक परिवर्तन गर्नुपर्ने संक्रमणकालीन समयमा आम जनताको अवाजलाई मुखरित गर्न कविता सडकमा जाने हो ।’
कतिपय अवस्थामा कविले एक खालको मानसिकता र मनोविज्ञानमा रहेर कविता लेखेको हुन्छ । त्यस्ता कविता कतै रहिरहेका वेला सडकलाई आवश्यक पर्ने र त्यहीँ शक्तिशाली हुने कवि स्वप्निल स्मृति बताउँछन् । तर, सडकमा कोलाहल हुन्छ, गाडीका हर्नहरू हुन्छन् । दर्शक/श्रोतामा एकाग्रता नहुन सक्छ । ‘माहोलको कुरा गर्दा कुनै पनि आन्दोलनमा जाँदा आन्दोलनकै लागि गइएको हुन्छ ।
हाम्रो ध्यान आन्दोलनमा मात्र हुन्छ । त्यसकारण कोलाहलले असर गर्दैन,’ स्वप्निल सुनाउँछन् । साथै सडकमा आइपुग्ने कविताको स्वरूप छुट्टै हुने र सामाजिक, राजनीतिक सरोकारको विषयलाई बोकेर आउने स्वप्निलको भनाइ छ । भन्छन्, ‘अन्य स्वरूप र स्वभावका कविताको क्षेत्र छुट्टै हुन्छ ।’
कवि बच्चु हिमांशु समाजमा विद्यमान असमानता, विभेद वा हिंसाका घटनामा कविलाई चुप रहने छुट नरहेको दाबी गर्छन् । ‘कविहरू कविता लिएर सडकमा आउनुको कारण आफूले उठाइरहेको मुद्दा जसका लागि उठाइएको हो, उनीहरूसँग भावनात्मक निकटता हुनु र उत्तरदायित्व निर्वाह गर्न राज्यसत्तालाई रचनात्मक दबाब दिनु हो ।’
०००
०४६ सालको जनआन्दोलनमा स्र्रष्टाहरू मुखमा पट्टी बाँधेर सडकमा उत्रिएका थिए । ०६२÷०६३ मा पनि स्रष्टाहरू आन्दोलनमा उत्रिए । यसपटक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिने तयारीमा छन् स्र्रष्टाहरू । सडकमै उत्रिनुको कारण खोतल्छन् कवि संगीत, ‘सडकमा कविता किन आवश्यक छ भने मान्छेहरू सडकमै छन् । मान्छे सडकमा छन्, आन्दोलन छ, राजनीति छ, संस्कृति पनि सडकमै छ भने कविता स्वतः त्यहाँ पुग्छ ।’
कवि विनोद पनि जनता सडकमा आएको वेला कविता पनि सडकमै आइपुग्ने बताउँछन् । ‘कवि सडकमा आएपछि कविता पनि सडकमा आइपुग्छ । मान्छेबीचको मान्छे न हो कवि ।’ कविताको खास सौन्दर्य र त्यसको प्रभाव सडकमै देखिने बताउँछन् कवि स्वप्निल । भन्छन्, ‘कविताहरू जब सडकमा आइपुग्छन्, तब कविताको खास सौन्दर्य र शक्ति देखा पर्छ ।’
सडकमा श्रोता र पाठकको लेयर हुने कवि श्रवण बताउँछन् । सडकमा सुनाइने कविताको चरित्र अलि फरक हुने उनको मत छ । ‘एक्लै पठन गरिने कविता अलि फरक होला । त्यसैले गर्दा कविता विचित्रको विधा हो,’ श्रवण भन्छन्, ‘सरलता, रिदमिक, मान्छेलाई उद्देलित गर्ने कविताहरू पुगेका हुन्छन् ।’ सडकमा सीधा मान्छे र समाजसँग जोडिएर कविता वाचन गर्नुपर्ने भएकाले त्यसको महत्व बेग्लै हुने कवि भूपालको विश्लेषण छ । ‘सडकमा थुप्र्रै खालको कविता सुनाइयो । त्यहाँ सुनाएको कविताको अनूभूति बेग्लै हुन्छ । साथै कवि र कविता पनि आन्दोलनको हिस्सा भएको हुन्छ ।’
कवि लक्ष्मी रुम्बा सडकमा उभिएर कविता सुनाउँदाको अनुभूति जनताको विद्रोह र संघर्षसँग अनुघुलन हुने बताउँछिन् । उनको मत छ, ‘सडक जनताको हो । त्यहाँ उभिँदै गर्दा मेरो कविता स्वयं जनता भएको अनुभूत गर्छु ।’ सडकमा कविता भन्नु एउटा कविको कर्म पनि सडकमा छन् भन्नु रहेको संगीत बताउँछन् । भन्छन्, ‘कवितालाई जनताको बीचमा लैजाने हो भने सबैभन्दा शक्तिशाली मञ्च सडकै हो ।’