कृषि सिँचाइको सुविधाका लागि सर्लाही र रौतहटका स्थानीय डिपबोरिङतर्फ आकर्षित हुन थालेका छन् । आकाशे पानीको भर पर्नुपर्ने र कतैबाट पनि सिँचाइ सुविधा हुन नसक्ने ठाउँमा सहज ढंगले सिँचाइ पुर्याउन सकिने भएकाले किसानहरूले धमाधम डिप–ट्युबवेल र स्यालो–ट्युबवेल जडान गर्न लागेका हुन् ।
०७२ मा बागमती सिँचाइ आयोजनाको कार्यालयपरिसरमा जडान भएको भूमिगत जलस्रोत तथा सिँचाइ विकास कार्यालयले सर्लाही र रौतहटका नियमित सिँचाइ नहुने र सिँचाइको व्यवस्था भएको स्थानमा स्यालो–ट्युबवेल र डिप–ट्युबवेल स्थापना गर्दै आएको छ ।
कार्यालयका अनुसार हालसम्म सर्लाहीमा ४६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने गरी ३७ वटा डिप–ट्युबवेल र १५ सयभन्दा बढी स्यालो–ट्युबवेल निर्माण गरिसकिएको छ । कार्यालयले रौतहटमा २६ सय हेक्टर सुक्खा क्षेत्र सिँचाइ हुने गरी एक हजार थान स्यालो–ट्युबवेल र ४१ थान डिप–ट्युबवेल निर्माण भइसकेको हाइड्रोलोजिस्ट मनोज खतिवडाले जानकारी दिए ।
जमिनमा पानीको लियर निकै तल गइसकेकाले धेरै तल पुगेर पानी निकाल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । सामान्यतः एउटा डिप–ट्युबवेल स्थापना गर्न सवा करोड र एक थान स्यालो–ट्युबवेल निर्माण गर्न एक लाखको हाराहारीमा लगानी लाग्ने गरेको कार्यालयले जनाएको छ ।
लालबन्दी नगरपालिकास्थित हिरापुरमा डिपबोरिङ जडान गरिने भएको छ । बागमतीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास कार्यालयले लालबन्दी नगरपालिका–११, हिरापुरमा डिपबोरिङ जडान गर्न लागेको हो । एक करोड रुपैयाँभन्दा बढीको लागतमा डिपबोरिङ जडान गर्न लागेको कार्यालयका हाइड्रोलोजिस्ट खतिवडाले जानकारी दिए ।
सिँचाइ समस्याकै कारण कृषि उत्पादनमा ह्रास
लालबन्दी नगरपालिका–११ का वडाध्यक्ष दिपक लामाले प्राविधिकलाई सो क्षेत्रको अनुगमन गराएका थिए । डिपबोरिङ जडानपछि वर्षैभरि खेती गर्न सकिने भन्दै डिपबोरिङ निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रमोद महतोले खुसी व्यक्त गरे । उनकाअनुसार डिपबोरिङको जडान कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेछ । डिपबोरिङ गाड्ने, घर निर्माण गर्ने, विद्युतीकरण र मेसिन जडान भूमिगत जलस्रोत तथा सिँचाइ विकास कार्यालयले गर्नेछ ।
लालबन्दी तरकारी खेती जोन भए पनि सिँचाइको समस्याकै कारण यहाँका नागरिकले आफूलाई वर्षभरि खान पुग्ने गरी अन्न उत्पादनसमेत गर्न नसकेको स्थानीय राममाया क्याप्छाकी बताउँछिन् । तीन कठ्ठा क्षेत्रफलमा तरकारी उत्पादन गर्दै आएकी उनले टायर गाडामा भाडा तिरेर पानी ओसारी खेती गर्दै आएकी छिन् ।
सो क्षेत्रबाट बर्सेनि करोडौंको तरकारी उत्पादन भएर देशका विभिन्न मुख्य सहरसम्म पुग्ने गरेको छ । ‘खेती सप्रिने भनेकै सिँचाइले हो,’ उनले भनिन्, ‘खेतमा बिरुवाले पर्याप्त सिँचाइ कहिल्यै पाउँदैन, के उत्पादन हुनु र कमाउनु ? कहिले बिरुवा खडेरीले यसै मर्छ अनि लगानी पनि डुब्छ ।’ सिँचाइका लागि डिपबोरिङ जडान हुँदै छ भनेर थाहा पाएका स्थानीय शिलान्यास कार्यक्रममा भेला भएका थिए । ‘खेतमा सिँचाइको व्यवस्था हुने भएपछि जनताका लागि सरकार पनि रहेछ भन्ने लाग्यो,’ स्थानीय हिरा वाइबाले भने ।