गण्डकी प्रदेश सभा स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । ०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।
आफ्नो स्थापनाको तेस्रो वर्ष पूरा गरेको गण्डकीले यस अवधिमा विभिन्न ४६ वटा विधेयक पारित गरेको छ । हाल प्रदेश सभा सचिवालयमा एक नयाँ विधेयक दर्ता भएको छ ।
हालसम्म प्रदेश सभाको तीन हिँउदे, तीनवर्षे र एक विशेष गरी सातवटा अधिवेशन सम्पन्न भइसकेका छन् । विषेश गरी वर्षे अधिवेशनलाई बजेट र हिँउदेलाई कानुन एवं नीति–नियम बनाउने अधिवेशनको रूपमा लिने गरिन्छ ।
वार्षिकोत्सवमा एकचौथाई सदस्य पनि उपस्थित भएनन्
स्थापना दिनको अवसर पारेर प्रदेश सभा सचिवालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश सभाका कुल सदस्यमध्ये एकचौथाई सदस्यसमेत उपस्थित भएनन्। कार्यक्रममा मुख्यमन्त्रीसँगै चार मन्त्री, सभामुख, उपुभामुख, प्रमुख प्रतिपक्ष दलका नेता, सार्वजनिक लेखा समितिका सभापति र ६ सांसद गरी जम्मा १४ जनाको मात्र उपस्थिति रहेको थियो । कार्यक्रममा प्रचण्ड–माधव समूह, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू अनुपस्थित रहेका थिए ।