आज ओली समूहको जनसभा : काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण
आज ओली समूहको जनसभा : काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी

नारायणहिटी दरबारअगाडि निर्माण गरिएको सभास्थल

जनसभामा दुई लाख मान्छे उतार्ने आयोजककाे दाबी, करिब तीन हजार स्वयंसेवक परिचालन गरिने

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभामा काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

नारायणहिटीसामुन्नेको वारपार क्षेत्रमा जनसभा गर्ने गरी प्रदर्शनमा दुई लाख मान्छे उतार्ने तयारी गरिएको आयोजक बागमती प्रदेश कमिटीले दाबी गरेको छ । प्रदर्शनमा ओली पक्षले करिब तीन हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ ।

ओली पक्षले सार्वजनिक गरेको रुटअनुसार बागबजारबाट सम्पर्क मञ्च, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनलगायत पेसागत संगठनहरूको जुलुस निस्कनेछ । त्यस्तै, महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घन्टाघरबाट मुस्लिम समुदाय तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीको जुलुस सुरु हुनेछ ।

त्यस्तै, त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघर मण्डला क्षेत्रबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट सहभागी हुनेको जुलुस सुरु हुने प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिएका छन् । 

त्यस्तै, पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट र रसुवा, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि रुट तोकिएको छ ।

त्यस्तै, टेकुबाट काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोह्रखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको जनाइएको छ । 

सुझावित समाचार