ट्याक्सी त जल्यो नै, झन्डै आफैँ त्यसैमा जलिनँ : कुम्भनारायण श्रेष्ठ ट्याक्सीचालक

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

ज्याला मजदुरीको कामबाट दिक्क भएका कुम्भनारायण श्रेष्ठले ट्याक्सी चलाउन सिके । सवारीचालक अनुमतिपत्र पनि लिए । केही महिना त्यत्तिकै बसे । मजदुरी गर्नभन्दा ट्याक्सी चलाउन सजिलो भन्ने लागेपछि साहु खोजे । एक महिनाअघि एक ट्याक्सीसाहु भेटे । दिनको १५ सयदेखि दुई हजार रुपैयाँ दिने सहमतिपछि ट्याक्सी भाडामा लिए र चलाउन थाले ।

सदाझैँ उनी बिहीबार पनि बिहानै उठे । ग्यारेजबाट ट्याक्सी निकालेर थापाथली पुगे । चोकमा पुग्नासाथ यात्रु पाए । यात्रुलाई सोह्रखुट्टे लगे । चोकमा टहलिँदै थिए । फेरि अर्को यात्रु सामाखुसी जाने भन्दै चढे । लिएर सामाखुसीतर्फ लागे । चोकमा मात्रै पुग्दै थिए । ट्याक्सीका यात्रु झरे ।

सोही ठाउँमा फेरि अर्को यात्रु चाबहिल जान भन्दै उनीकहाँ आए । उनले हुन्छ भने । यात्रु ट्याक्सीमा चढे । उनी आफ्नो सिटमा बसेर सिटबेल्ट कसे । ट्याक्सी अगाडि बढाउने क्रममा उनको ध्यान पछाडि पुग्यो । ग्राहकले त जर्किनको पेट्रोल पो सिटमा खन्याउन थाले । ‘के गरेको’ भन्न नपाउँदै उनीसँगै रहेका अर्कोले सलाई कोरे र आगो सल्काए । क्षणभरमै अलप भए । 

कुम्भनारायण सिटमै थिए । आत्तिएका उनले बल्लतल्ल सिटबेल्ट खोल्न भ्याए । र, जलिरहेको ट्याक्सीबाट भाग्न सके । नत्र उनी पनि ट्याक्सीसँगै खरानी हुने थिए । ‘महिना दिन मात्रै भएको थियो ट्याक्सी भाडामा लिएर चलाउन थालेको ।

दिनको दुई हजार रुपैयाँ साहुलाई दिनुपर्ने । त्यही भएर बिहानै कोठाबाट निस्किएँ । यात्रु पनि पाइयो । खुसी नै थिएँ । सामाखुसी पुगेपछि भने नसोचेको भयो । ट्याक्सी त जल्यो नै, झन्डै आफैँ त्यसैमा जलिनँ,’ नयाँ पत्रिकासँग उनले भने ।

सुझावित समाचार