विकास बैंकहरूको सवा अर्ब ब्याज उठाउन बाँकी, नाफा १७ प्रतिशत बढ्यो

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

सञ्चालनमा रहेका १९ विकास बैंकमध्ये चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका १४ बैंकको नाफा २ अर्ब ९४ करोड पुगेको छ । यो गत आवको यही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो । समग्रमा नाफा बढे पनि ६ वटा बैंकको नाफा घटेको छ । त्यस्तै, एउटाको नाफा ऋणात्मक रहेको छ । समस्याग्रस्त फुकुवापछि सञ्चालन भइरहेको नारायणी डेभलपमेन्ट बैंकको नाफा ऋणात्मक देखिएको हो । 

अधिकांश बैंकमा कोभिड–१९ को प्रभाव परे पनि कतिपयको खुद ब्याज आम्दानी बढेको विवरणले देखाएको छ । यसअघि उठाउन नसकेको २७ करोड ब्याज दोस्रो त्रैमासमा संकलन भएपछि नाफा बढ्न सहयोग पुगेको हो । तीन विकास बैंकले भने यो विवरण नै उल्लेख गरेका छैनन् । 

कोभिडका कारण ब्याज उठाउन समस्या परे पनि पछिल्लो तीन महिनामा ब्याज उठ्तीदर राम्रोे छ । राष्ट्र बैंकको नियमअनुसार बैंकहरूले उठाउन नसकेको ब्याज रकमको ६३ प्रतिशत नियामकीय सञ्चितिमा राख्नुपर्छ । बैंकहरूले कुल १ अर्ब २३ करोड रुपैयाँ सञ्चितिमा राखेका छन् । पहिलो त्रैमासमा १ अर्ब ५० करोड ब्याज उठ्न सकेको थिएन । यसको अर्थ असोजदेखि पुसमा भने २७ करोड ६७ लाख रुपैयाँ उठाएका हुन् । बैंकहरूले अझै १ अर्ब २३ करोड ब्याज उठाउन सकेको छैन । 

बैंकहरूले नियामकीय सञ्चितिमा राख्नुपर्ने रकम घटेपछि लगानीकर्तालाई लाभांशका रूपमा वितरण गर्न सक्ने रकममा पनि सुधार भएको छ । ११ विकास बैंकमा पहिलो त्रैमासमा वितरणयोग्य नाफा ऋणात्मक भएका चारवटाको समेत वितरणयोग्य नाफा धनात्मक भएको छ । 

असोजमा बैंकहरूले ३३ करोड ५८ लाख रुपैयाँ लाभांशका रूपमा वितरण गर्न सक्ने अवस्थामा थिए भने पुसमा १ अर्ब ८७ करोड वितरण गर्न सक्ने भएका छन् । पुससम्मको चुक्ता पुँजीका आधारमा बैंकहरूले औसतमा ५ प्रतिशत लाभांश दिन सक्ने देखिएका छन् । बैंकहरूले २ दशमलव ८२ प्रतिशतदेखि ११ दशमलव ९७ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिएका छन् ।

यी बैंकहरूले गत आवको तुलनामा ग्राहकमा गएको कर्जा लगानी भने १४ प्रतिशतले विस्तार गरेर २ खर्ब ८३ अर्ब ८३ करोड रुपैयाँ पुर्‍याएका छन् । (नारायणी डेभलपमेन्टबाहेक) औसत खराब कर्जादर २ दशमलव ८८ प्रतिशतबाट घटेर २ दशमलव १७ मा सीमित भएको छ । कुल कर्जामा ६ अर्ब १६ करोड रुपैयाँबराबरको कर्जा खराब भएको हो । २९ लाख रुपैयाँ कर्जा लगानी रहेको नारायणी डेभलपमेन्टको भने ४४ प्रतिशत कर्जा खराब छ । यसअघि यस बैंकको खराब कर्जा ७३ प्रतिशत थियो ।

सुझावित समाचार