अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

 अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन् । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रूपमा रूपान्तरण गर्ने श्रेय बेजोसमाथि छ । 

सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताएका छन् । जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहेका छन् ।

कोरोना भाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाउँदा अमेजनको नाफा पनि झन्डै दोब्बर अर्थात् ७.२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कुल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो । 

अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यमा सक्रिय  रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । उनले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहेका छन् । 

५७ वर्षीय बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट सुरु गरेका थिए । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा (रिटेल) व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले संगीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरू नवीन परियोजनामा काम गरिरहेको छ । 

उनका अन्य व्यवसायहरूमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लु ओरिजिन रहेका छन् । अमेजनको प्रमुख कार्यकारीका रूपमा नियुक्त हुन लागेका जेस्सीले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकका रुपमा काम सुरु गरेका थिए । उनी सन् २००३ देखि अमेजन वेब सर्भिसेजमा कार्यरत छन् । 

बेजोसले जेस्सी बेजोड प्रतिभा र नेतृत्व रहेको बताउँदै उनीमाथि आफ्नो पूर्ण विश्वास रहेको प्रस्ट्याएका छन् । बेजोसको नेतृत्वमा व्यापक प्रगति गरेको अमेजनको मुख्यालय सियाटल, वासिङ्टनमा रहेको छ र यसले अमेरिकी राजधानीबाहिर दोस्रो मुख्यालय पनि बनाउँदै छ । अमेजनको बजार मूल्य मंगलबार झन्डै १६ खर्ब ९० अर्ब डलरको रहेको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झन्डै १० गुणा बढी हो । 
 

सुझावित समाचार