बेंसीसहर-चामे सडक तीन दिन बन्द

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर-चामे सडक तीन दिनकाा लागि बन्द गरिएकाे छ । बेंसीसहर-चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ स्याँगेमा सडक मर्मत गर्नका लागि यातायात बन्द गरिएकाे हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गरी माघ २० देखि २२ गतेसम्म यातायात बन्द गरी सडक ढलान गरिने जनाएको छ । अब उक्त सडकमा तीन दिनसम्म कुनै पनि सवारीसाधन आवतजावत नहुने भएको छ। माघ २० गते बिहान १० बजेदेखि माघ २२ गते राति १० बजेसम्म बेंसीसहर–चामे सडकमा सवारीसाधन आवतजावत बन्द गरिएकाे लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उनले भने, ‘तीन दिन सवारीसाधन बन्द गरी निर्माणकार्य अघि बढाउनका लागि आवश्यक समन्वय गरिदिन डुम्रे–बेंसीसहर सडक योजनाले अनुरोध गरेअनुसार सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।’

जीर्ण सडकखण्डअन्तर्गत करिब एक सय मिटर ढलान गरिने डुम्रे–बेंसीसहर–चामे सडक योजनाले जनाएको छ । बेंसीसहरदेखि रामबजारसम्म सडक स्तरवृद्धि तथा मर्मतका लागि आर्थिक वर्ष ०७४/७५ मा विनियोजित २२ करोडमा ठेक्का पाएको लामा कान्छाराम नाना जेभीले समयमा काम नसक्दा आव ०७६/७७ मा विनियोजित ३२ करोड रकमको ठेक्का नलागी फिर्ता भएको थियो ।

यो सडक स्तराेन्नति नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक विभागले ०५२ सालमा निर्माण सुरु गरेको याे सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्रयाक खोलेको थियो । यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन ।

द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो ।

सडक लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर गरी  ६५ किलोमिटर  छ । भौगोलिक विकटताका कारण जोखिमपूर्ण लमजुङ–मनाङ सडक भएर दैनिक सयको हाराहारीमा सवारी गुड्ने गर्छन् ।

सुझावित समाचार