तल्लो डोल्पाका विद्यालय एक महिनापछि खुले

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पाका चिसोले बन्द भएका विद्यालय एक महिनापछि खुलेका छन् । हिउँदको अत्यधिक चिसोले पठनपाठन प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय खुलेका हुन् । 

त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाका सबै विद्यालय खुलेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाको निर्णयबाट एक महिना बन्द गरिएको विद्यालय गत बिहीबारदेखि खुलाएर पठनपाठन सुरु गरिएको त्रिपुरा मावि त्रिपुराकोटका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।

माघ लागे पनि चिसो अझै नघटेकाले पठनपाठनमा समस्या भएको बताउँदै उनले घाम लागेको मौका छोपेर खुला चौरमा लगेर भए पनि पढाउने गरिएको बताए । 

चिसो अत्यधिक रहेको र कक्षाकोठामै बसेर पढ्न समस्या हुने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा सुष्मा परियारले बताइन् । कक्षाकोठाबाहिर घाममा लगेर शिक्षकले पढाउने गरेको उनको भनाइ छ ।

गत वर्षहरूमा फागुन पहिलो साताबाट मात्रै विद्यालय खुल्ने गरे पनि यस वर्ष लकडाउनका कारण बालबालिकाको पढाइ बिग्रेको भन्दै माघको मध्यबाटै विद्यालय खुलाउने निर्णय गरिएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

विद्यालय खुले पनि विद्यार्थीको उपस्थिति न्यून रहेको छ । जिल्लाबाहिर घर भएका शिक्षक पनि विद्यालय पुग्ने क्रम जारी रहेको आदर्श माध्यमिक विद्यालय जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीले बताए ।

जिल्लाका दुईवटा स्थानीय तहमा विद्यालय खुले पनि काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकाका विद्यालय भने अझै खुलेका छैनन् ।

१५ पुसदेखि बन्द भएका तीनवटै स्थानीय तहका विद्यालय फागुन पहिलो साता मात्रै खुल्ने बताइएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, छार्काताङसोङ र से–फोक्सुन्डो गाउँपालिकाका २४ वटा विद्यालय गत कात्तिक महिनादेखि नै बन्द भएका हुन् ।
प्रत्येक वर्ष कात्तिक अन्तिममा बन्द भएका उपल्लो डोल्पाका विद्यालय ६ महिनापछि वैशाखमा मात्र खुल्ने तापरिचा माविका शिक्षक लोकेश खत्रीले बताए ।

यस समयमा अत्यधिक हिमपात हुने र चिसोले स्थानीयवासीसमेत जाडो छल्न बेंसी झर्ने भएकाले विद्यालय लामो समयसम्म बन्द हुने गरेका छन् । 

जिल्लाका आठवटा स्थानीय तहमध्ये केहीले वार्षिक परीक्षा सम्पन्न गरेरै १५ पुसमा विद्यालय बन्द गरेका थिए भने केही स्थानीय तहले बन्द गर्नुअघि प्रथम त्रैमासिक परीक्षा मात्र सञ्चालन गरेका थिए । जिल्लाका आठवटै स्थानीय तहमा गरेर एक सय १२ वटा विद्यालय छन् ।

सुझावित समाचार