नेकपा प्रचण्ड–नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले मुख्य राजनीतिक दललाई बाहिर राखेर अहिलेको विवाद निरुपण नगरी निर्वाचनका अरू कार्यक्रम अघि बढाउन नसक्ने बताएका छन् ।
मंगलबार निर्वाचन आयोगमा पत्रकारसँग कुराकानी गर्दै नेता पाण्डेले प्रमुख रूपमा यो अहिलेको समस्या समाधान नभई निर्वाचनको अरू काम अगाडि नबढ्ने बताएका हुन् । ६४ प्रतिशत मत होल्ड गरेको पार्टी नेकपा, गएको प्रतिनिधिसभामा दुई सय ७५ मध्ये एक सय ७४ सिट लिएर बसेको पार्टीको टुंगो नलागीकन निर्वाचन अगाडि बढ्न नसक्ने ठाेकुवा गरे ।
उनले भने, ‘मुख्य खेलाडी नभएको खेलमा कसरी प्रतिस्धार्धा हुन्छ ? एउटा पुरानो दृष्टान्त पनि बताऊँ, ०६४ मा निर्वाचन हुँदा तीनपटक मिति सरेको छ । मधेसकेन्द्रित दलहरूले हामीलाई टाइम छैन, अहिले हामीलाई टाइम पुगेन भन्दा पनि ‘तपाईंहरूलाई आउन कहिले टाइम चाहिन्छ ?’ भनेरसमेत मिति सारिएको छ । राजनीतिक दललाई बाहिर राखेर अहिलेको विवादलाई निरुपण नगरी निर्वाचन अरू कार्यक्रम अघि बढ्ने भन्ने त हुन्छ जस्तो मलाई लाग्दैन ।’