माइत बसेकी श्रीमती लिन ससुराली गएका विक १६ दिनदेखि बेपत्ता

ससुराली पक्षले नै बेपत्ता पारेको परिवारकाे आरोप

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण
माइत बसेकी श्रीमती लिन ससुराली गएका विक १६ दिनदेखि बेपत्ता

बेपत्ता भएका लक्ष्मण विक

बझाङका एक युवक १६ दिनदेखि बेपत्ता भएका छन् । ससुराली दाङ हिँडेका जयपृथ्वी नगरपालिका– ४ गोलाई घर भएका २० वर्षीय लक्ष्मण विक १६ दिनदेखि बेपत्ता भएका हुन् । 

विकले चौध महिनाअघि दाङ तुल्सीपुर नगरपालिका– १८ की गायत्री कुमालसँग विवाह गरेका थिए । श्रीमती भेट्न ससुराली गएका विक बेपत्ता भएपछि उनका आफन्तले ससुराली पक्षले नै बेपत्ता पारेको आरोप लगाइरहेका छन् ।

विवाह भएको पाँच महिनासम्म बझाङ बसेर माइतीघर दाङ हिँडेकी गायत्री बझाङ फर्किन नमानेपछि लिन गएका  छोरा ससुरालीबाट बेपत्ता भएको उनका बुबा हरि विकले बताए । लक्ष्मण र गायत्रीको फोनमा समेत झगडा हुने गरेको थियो । छोरालाई ससुराली बोलाएर ससुराली पक्षले नै बेपत्ता पारेको उनको आरोप छ ।

श्रीमती लिन ससुराली हिँडेका लक्ष्मण बेपत्ता भएपछि खोजीको लागि दाङ प्रहरीमा उजुरी दिए पनि हालसम्म केही पत्ता नलागेको भन्दै परिवार चिन्तामा परेका छन् । 

काठमाडौंमा रहेका लक्ष्मणलाई माघको पहिलो सातातिर गायत्रीले नै फोन गरेर लिन आऊ भनेर फोन गरेको उनका दाइ गणेश विकले बताए । उनले भने, ‘बुहारीले नै  लिन आऊ भनेर फोन गरेर बोलाएकी हुन्, हालसम्म पनि भाइको अत्तोपत्तो छैन । माइती पक्षले नै बेपत्ता पार्यो कि भन्ने शंका उत्पन्न भएको छ ।’ 

See More On

सुझावित समाचार