प्रतिनिधिसभा विघटनविरुद्ध साहित्यकार, रंगकर्मी, चलचित्रकर्मी र संस्कृतिकर्मीहरूले संयुक्त रूपमा सडक आन्दोलनको घोषणा गरेका छन् । ८५ जना स्रष्टाहरूद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबाट जनआन्दोलन ०६२/०६३ का उपलब्धिहरूसमेत खोस्ने, संकुचित पार्ने र मुलुकलाई अझै अन्धकारतर्फ लैजान खोजेकोले आन्दोलनको घोषणा गरेको उल्लेख छ ।
‘आजको राजनीतिक प्रतिगमन एवं राज्यको बढ्दो निरंकुश व्यवहारले सम्पूर्ण स्रष्टाहरूलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ’, सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘विद्यमान सामाजिक संरचना, राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न संकटहरूको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ ।’
सबैखाले प्रतिगमनका विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा ‘स्रष्टा आन्दोलन–२०७७’ घोषणा गर्दै आन्दोलनका कार्यक्रमहरू तय गर्न संयोजन टिम र सचिवालय टिम निर्माण गरेको वक्तव्यमा जनाइएको छ । वक्तव्य जारी गर्ने स्रष्टाहरूमा साहित्यकारहरू निनु चापागाईं, नारायण ढकाल, विमल निभा, श्रवण मुकारुङ, इस्माली, भूपाल राई, राजन मुकारुङ, धनकुमारी सुनार, मातृका पोखरेल, विनोदविक्रम केसी, राजु स्याङ्तान, स्वप्निल स्मृतिलगायत ८५ जना छन् ।
त्यस्तै रंगकर्मी र संगीतकर्मीमा अनुप बराल, दयाहाङ राई, दिया मास्के, सिर्जना सुब्बा, आकांक्षा कार्की, केदार श्रेष्ठ, घिमिरे युवराज, नाजिर हुसेन, बुद्धि तामाङ, झुमा लिम्बू, अन्जानबाबु शर्मालगायत रहेका छन् ।