प्रतिगमनविरुद्धको आन्दोलनमा युवा पुस्तालाई ऊर्जा भर्दै सात सालको क्रान्तिदेखि ०६२/६३ को जनआन्दोलनसम्मका सहभागी नागरिक अगुव
अन्यायविरुद्ध लडिरहनुपर्छ म निरन्तर लडाइँमै हुनेछु : कृष्णप्रसाद भण्डारी वरिष्ठ अधिवक्ता

००७ सालको क्रान्तिमा बिपीले दिएको बन्दुक बोकेर हिँडेँ । सामाजिक न्यायका लागि अदालतमा बहस गरेँ । देश बन्यो भने हामी बन्छौँ भन्ने विश्वास थियो र छ । तर, हाम्रो विश्वासमाथि कुठाराघात हुँदै गयो । तर, त्यही विश्वासलाई बचाइराख्न यो उमेरमा पनि बहसमा उत्रिएँ । मेरो खुट्टा अलि कमजोर छ, तर शरीर तन्दुरुस्त नै छ । त्योभन्दा तन्दुरुस्त मैले ००७ सालदेखि चाहेको सपनाप्रतिको विश्वास छ । त्यसकारण म अहिले पनि लडिरहेको छु । अन्यायविरुद्ध लडिरहनुपर्छ । म निरन्तर लडाइँमै हुनेछु, जबसम्म हामीले रगत बगाएर ल्याएको व्यवस्थाभित्रै खराब मानिस जन्मिरहन्छन् ।
....
‘नेपाली जनताले श्री ३, श्री ५ को दासतालाई अस्वीकार गरे । खड्गप्रसाद कत्रो ठूलो महाराज हो ?’ गत १२ माघमा बालुवाटारमा भएको नागरिक आन्दोलनमा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमविरुद्ध बोलेका वाक्य हुन् यी । सेतै कपाल फुलेका संग्रौला ७५ वर्षका भइसके । ०४६, ०६२/६३ को परिवर्तनमा पनि संग्रौला सडकमै आन्दोलनमा थिए ।
संग्रौलालाई प्राध्यापक विजयकान्त कर्णले ०३६/३७ सालतिर वीरगन्जको जेलमा भेटेका थिए । कर्ण त्यसवेला १८ वर्षका थिए । प्रहरीले कुटेर थिलथिलो भएका थिए । त्यसवेला एसपी मोतीलाल बोहराले उनलाई एउटा कागजमा सही गर्न भनेका थिए । कागजमा पञ्चायत व्यवस्था र राजा मान्नुपर्छ भन्ने व्यहोरा लेखिएको थियो । त्यसवेला जेल भनेपछि डर लाग्ने गरेको बताउँछन् उनी । तर, त्यो डरबाट निस्केपछि भने अधिकार, समानता र लोकतन्त्रका लागि लड्न सकिने रहेछ भन्ने अनुभव छ कर्णको । तर, त्यही डरले नै अहिले सडकमा आइपुगेको बताउँछन् उनी ।
संग्रौला आफ्नो ऊर्जाको स्रोत आफ्नो सिद्धान्त र आदर्शलाई मान्छन् । भन्छन्, ‘म त मरेर जाने हो । तर मेरो सिद्धान्त र आदर्श मानवजाति रहेसम्म रहन्छ । त्यसकारण ऊर्जा आउँछ सडकमा आउन ।’ लोकतन्त्र, गणतन्त्र, संघीयता र सुन्दर संस्कृतिको निर्माण आफ्ना लागि जीवनभन्दा प्रिय कुरा रहेको संग्रौलाको भनाइ छ । उनी हाँस्दै भन्छन्, ‘सडकबाट अवकाश पनि हुँदैन र निवृत्तिभरण पनि हुँदैन ।’
प्राध्यापक कर्णको पुस्ता ०३५ सालदेखि सडकमा छ । यो पुस्ता प्रत्येक परिवर्तनका खातिर सडकमा उभिँदै आएको छ । जिन्दगीभर सडकबाटै मुठी उठाएर बाँचेको छ । ०४६ सालमा जुन ऊर्जाका साथ मुठी उठेको थियो, अहिले ०७७ मा पनि त्यही ऊर्जाका साथ कर्णहरूको मुठी उठिरहेको छ । यो मुठी जीवनको अन्त्यसम्म नथाक्ने बताउँदै मल्ल के सुन्दर भन्छन्, ‘न्याय र समानताको कुरामा अवकाश भन्ने हुँदैन । अवकाश भनेको त थकान हो । थकान भनेको आत्मसमर्पण हो । प्राप्ति छिटो पनि हुन सक्छ, ढिलो पनि हुन सक्छ । तर, अभियन्ताहरू थकित भएमा सत्तालाई झकझकाइरहने नागरिक अभियान नै तुहिन्छ ।’
‘लोकतान्त्रिक शासन व्यवस्था संस्थागत गर्ने काम कहिल्यै सकिँदैन’
०६२/६३ सालको दोस्रो जनआन्दोलनको सुरुवात नागरिक समाजबाट भएको थियो । नागरिक अगुवाहरू सडकबाट निरंकुश राजतन्त्रविरुद्ध आवाज उठाउन थालेपछि मात्रै राजनीतिक दलहरू सडकमा आइपुगेका थिए । र, त्यसैको शक्तिबाट राजा ज्ञानेन्द्र श्रीपेच फुकाल्न बाध्य भए । त्यो नागरिक आन्दोलनको नेतृत्वकर्तामध्ये एक थिए डा.देवेन्द्रराज पाण्डे ।
गत पुस अन्तिममा प्रज्ञा प्रतिष्ठानमा भएको आन्दोलनमा पाण्डे भिडियो वक्तव्यमार्फत भनिरहेका थिए, ‘०६२/६३ को जनआन्दोलनको जनादेश के थियो भने मुलुकमा शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीलाई सुनिश्चित गर्दै त्यो प्रणालीको आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक हर क्षेत्रको हिसाबले उत्कृष्ट समाज निर्माण तथा दिगो शान्ति स्थापना गर्ने । र, जनताको अधिकार, नागरिकको मर्यादा र शान्ति सुव्यवस्थाको साथै सामाजिक न्याय स्थापना गर्ने आदेश थियो । त्यसका लागि राजनीतिक पार्टीहरूले कति समर्पण भाव देखाए, कति विकृति मौलाए त्यो आफ्नो ठाउँमा छँदै छ ।’
प्राध्यापक कृष्ण खनाल अहिले पनि सडकमै छन् । ऊर्जाका साथ सडक आन्दोलनमा रहनुको कारण युवावस्थादेखि नै निर्माण भएको चेतनाप्रतिको ‘इमोसनल अट्याचमेन्ट’ भएको बताउँछन् उनी । युवावस्थामै निर्मित चेतनाले निरन्तर खोजिरहेको समाज, प्रणाली विचारका कारण सडकमा उत्रन अभिप्रेरित भइरहने खनालको भनाइ छ । भन्छन्, ‘चेतनशील विचारले एउटा नागरिकलाई सडकमा पुर्याउँछ । जो स्वतन्त्र मानिसबाट मात्र सम्भव हुन्छ । जुन ऊर्जा सदावहार पनि हुन्छ । उमेरले छेक्दैन ।’ प्रत्येक सचेत नागरिकले मुक्त समाज खोज्ने र त्यो समाजबाट निर्मित प्रणालीमा आफूलाई समेट्न खोज्ने भएकाले नै ऊर्जा सदावहार हुने स्पष्टीकरण दिन्छन् खनाल । यसलाई वैचारिक ऊर्जा पनि भन्छन् उनी ।
‘नयाँ पुस्तालाई ऊर्जा दिन पनि सडकमा आउनुपर्छ’
पत्रकार नारायण वाग्ले बालुवाटारमा प्रहरीको लाठी खाइसकेपछि पनि सडकमा पुनः उत्रिएको भिडियो फुटेज प्रशस्तै भेटिन्छन् । ०६२/६३ या ०४६ सालमा फर्कने हो भने पनि वाग्लेजस्ता प्रहरीको लाठी र अश्रुग्यासको परवाह नगर्नेहरू धेरै थिए । जो अहिले पनि सडकमा उही मुठी र आवाजसँग उत्रिरहेकै छन् । तीन दशकभन्दा लामो समयदेखि त्यो ऊर्जा नघट्नुमा नयाँ व्यवस्थामा निर्माण भएको सरकारले बसाउन खोज्ने निरंकुश नजिर कारक भएको बताउँछिन् डा.अरुणा उप्रेती ।
यत्रो लामो समय लडेर पाएको उपलब्धि भोलिका दिनमा गुम्ने भयले पनि सडकमा उभिने ऊर्जा स्वतः निस्कने उनको भनाइ छ । ‘भारतमा अन्ना हजारे हिजो पनि लडेकै थिए र आज पनि लडिरहेकै छन् । समाजप्रतिको दायित्व भएको मान्छेलाई उमेरले छेक्दैन,’ उप्रेती भन्छिन्, ‘नयाँ पुस्तालाई ऊर्जा दिन पनि सडकमा आउनुपर्छ । व्यवस्थाको रक्षाका खातिर पनि सडकमा आउनुपर्छ । अहिलेको नजिर स्थापित भयो भने समस्या आउँछ भनेर सडकमा गएको हो ।’