महामारीले थलिएका मोफसलका रंगमञ्च जुर्मुराउँदै

सोमबार, १९ माघ, २०७७
डिजिटल संस्करण
महामारीले थलिएका मोफसलका रंगमञ्च जुर्मुराउँदै

चेतना नाट्य समूहले इलामको माई नगरपालिकामा प्रदर्शन गरेको चेतनामूलक सडक नाटक । तस्बिर : नयाँ पत्रिका

‘हामी समूहमा बसेर काम गरौँ भन्छौँ । कोरोनाले समूहमा नबस्नु भन्छ । हामी सामाजिक दूरी भत्काउँछौँ । कोरोनाले कायम गर्नुपर्छ भन्छ । यसले त हामीलाई ठूलो असर पार्‍यो ।’

कोरोना महामारीले नेपाली रंगमञ्च नराम्रोसँग थला पारेको छ । भर्खर जग बसाउँदै गरेका मोफसलका रंगमञ्चहरू अझै तहसनहस भए । रंगमञ्चमा रम्न थाल्दै गरेका दर्शक घरभित्रै थुनिए । अभिनय गरेर जीवन निर्वाह गरिरहेका रंगकर्मी बेरोजगार बने । महामारीले मोफसलका थिएटर (रंगमञ्च) नराम्रोसँग रूपमा थलियो । 

अघिल्लो वर्ष फागुनमा झापा दमकको कदम थिएटरले ‘बाछिटा’ नाटक प्रदर्शनको तयारी गर्दै थियो । प्र्रदर्शनको मिति तय भएर अन्तिम तयारीमा कलाकार जुट्दै थिए । महामारीका कारण प्रदर्शनको दुई दिनअघि नाटक नै रोक्नुपर्ने बाध्यता आइलाग्यो । 

कदमले नाटकका लागि तीन लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको थियो । दमक क्षेत्रमा बामे सर्दै गरेको थिएटर नराम्ररी पछारियो । ‘नाटक प्रदर्शनको अन्तिम तयारीमा थियो । प्रचारप्रसारदेखि आवश्यक सबै काम सकिएको थियो,’ थिएटरका कला निर्देशक सिजन दाहाल भन्छन्, ‘प्रदर्शनको दुई दिनअघि रोक्नुपर्‍यो । त्योवेला नाटक गर्दाको तीन लाख ऋण अझै तिर्न सकेको छैन । महामारीले चुर्लुम्म डुबायो ।’ 

महामारीले थलिएको कदम थिएटर करिब एक वर्षपछि बिस्तारै उठ्दै छ । थिएटरले आफ्ना गतिविधि गर्न सुरु गरिसकेको छ । ‘हामीले केही साताअघि कार्यशाला गर्‍यौँ । फागुन पहिलो साताबाट झापाका सातवटा स्थानीय तहमा प्लेब्याक नाटक प्रदर्शनको तयारी गरिरहेका छौँ,’ दाहाल भन्छन्, ‘प्रदर्शन रोकिएको बाछिटा नाटक पनि प्रदर्शन गर्ने छलफलमा छौँ ।’ 

काठमाडौंका नाटकघरमा जस्तो नियमित दर्शक मोफसलमा छैनन् । तर, दर्शक नाटक घरसम्म आउने वातावरण तयार हुँदै गर्दा कोरोनाले नाटक घर नै ठप्प पार्‍यो । अब दर्शकलाई नाटक घरसम्म ल्याउन नसकिने हो कि भन्ने चिन्ता छ, रंगकर्मीहरूलाई । ‘काठमाडौंभन्दा हाम्रा समस्या अलिक फरक छन् । काठमाडौंले दर्शक पाएको छ । हामीले भर्खर तयार गर्दै थियौँ । अब दशर्कलाई हलसम्म ल्याउन समस्या होला कि ! तर, हामी आफ्नो ठाउँबाट लाग्नेछौँ,’ कला निर्देशक दाहाल भन्छन्, ‘काठमाडौंमा तयारीका हल छन् । सबै सामान आफ्नै छन् । हामीले शून्यबाट काम थाल्नुपर्छ ।’

महामारीले रंगकर्मीलाई निकै नै मुस्किल बनाएको छ । मोरङ झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाइँले नाटक गरेरै जीवन निर्वाह गरिरहेका कलाकार पलायन हुने अवस्था सृजना भएको बताए । ‘महामारीले त थला बसायो । नाटक गर्न पाइएन । नाटकको माहोल राम्रो भइसकेको थियो ।

महामारीले सबै ठप्प भयो,’ उनी भन्छन्, ‘मेरो अनुभवमा नाटक खेल्न धनी परिवारका आउँदैनन् । भुइँ मान्छे नै कलाकार बन्न आउने देखियो । महामारीले आर्थिक हिसाबमा झन् कमजोर बनायो । कलाकार विकल्प खोज्न बाध्य भए । विकल्प पनि पाउने अवस्था रहेन ।’ झोराहाट नाट्य समूहले मोफसलमा निरन्तर नाटक प्रदर्शन गर्दै आएको थियो । तर, एक वर्षदेखि नाटक प्रदर्शन गर्न सकेको छैन । 

बिस्तारै जुर्मुराउँदै मोफसलका रंगमञ्च
कोरोना महामारीले थलिएका मोफसलका रंगमञ्च केही समययता बिस्तारै जुर्मुराउन थालेका छन् । कतै नाटक प्रदर्शन सुरु गरेका छन् भने कतै कार्यशाला थालिएको छ । केही नाटकघरहरू अब तत्काल नाटक प्रदर्शन गर्ने तयारीमा छन् । ‘अहिले हामी कार्यशाला गरिरहेका छौँ,’ गुरागाईं भन्छन्, ‘महामारी सकिएको छैन । तर, चहलपहल बढ्यो । हामी पनि चाँडै नाटक पनि प्रदर्शन गर्न सकिन्छ कि भन्ने छ ।’ 

सुनसरीको इटहरीमा रहेको कलालय पनि बिस्तारै रंगमञ्चमा फर्कने तयारी गर्दै छ । केही समयअघि इलामको सूर्योदय नगरपालिकाको सहकार्यमा यहाँ ११ दिन कार्यशाला गरेको कलालय अध्यक्ष सोनु जयन्ती बताउँछन् । गत वर्षदेखि गर्दै आएको अन्तरदेशीय साझा रंगमञ्च कार्यक्रम र स्कुल थिएटर कार्यक्रमलाई पनि निरन्तरता दिने तयारी भइरहेको उनले बताए । ‘हामी समूहमा बसेर काम गरौँ भन्छौँ ।

कोरोनाले समूहमा नबस्नु भन्छ । हामी सामाजिक दूरी भत्काउँछौँ । कोरोनाले कायम गर्नुपर्छ भन्छ । यसले त हामीलाई ठूलो असर पार्‍यो । बल्ल दर्शक बढ्दै थिए,’ उनी भन्छन्, ‘फागुन पहिलो साताबाट रोकिएको काम गर्ने कि भन्ने छलफलमा छौँ ।’

इलाममा क्रियाशील चेतना नाट्य समूहले पनि कोरोना महामारीपछि गतिविधि सुरु गरेको छ । यो समूहले केही दिनअघि इलामको माई नगरपालिकाका विभिन्न क्षेत्रमा चेतनामूलक सडक नाटक प्रदर्शन गरेको समूहका अध्यक्ष सुरेश पोर्तेलले बताए । ‘अब बिस्तारै पुरानै अवस्थामा फर्कनुपर्छ ।

हामीले वैदेशिक रोजगारीसम्बन्धी चेतनामूलक सडक नाटक ग¥यौँ । केही दिनमा केही ठाउँमा अझै गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘एक वर्षसम्म त्यसै बस्दा कलाकारलाई फममा आउन पनि गाह्रो भएको छ । शरीरलाई चलायमान नबनाउँदा पुरानो अवस्थामा आउन केही समय लाग्ने रहेछ ।’ चेतना नाट्य समूहले फागुन अन्तिममा कार्यशाला गरेर नाटक प्रदर्शनको तयारी गरिरहेको उनले बताए । 

झापाको काँकडभिट्टामा रहेको परिवर्तन थिएटरले पनि थिएटरमा गतिविधि सुरु गरेको छ । केही समयअघिबाट कार्यशाला सुरु भएको अध्यक्ष लीला विष्टले बताइन् । क्रमशः अब नाटक प्रदर्शन गर्ने उनको भनाइ छ । ‘गाउँमा रंगमञ्च’को अभियानसहित लामो समयदेखि इलामको ग्रामीण दक्षिणी क्षेत्रमा क्रियाशील छ, चुलाचुली रंगमञ्च ।

कोरोना महामारीको मारमा परेको यो रंगमञ्चले पनि क्रमशः पुरानै अवस्थामा फर्कने कोसिस गर्दै छ । ‘महामारीपछि कार्यशाला गर्‍यौँ । त्यसबाट ‘एकादेशको रिठ्ठु’ नामक चेतनामूलक नाटक तयार पारेका छौँ । यसलाई चुलाचुली गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा एक सातादेखि देखाइरहेका छौँ,’ रंगमञ्चका अध्यक्ष अर्जुन लिम्बूले भने, ‘यसमा हामीलाई स्थानीय सरकारले केही सहयोग गरेन । तर, महामारीपछि पनि गाउँमा रंगमञ्चको अभियान जारी राख्नुपर्छ भनेर हामीले काम गरिरहेका छौँ ।’

See More On

सुझावित समाचार