वाराणसीको सडक किनारमा एकजना वृद्ध भिखारी बसेर माग्ने गर्थे । सडक आउजाउ गर्ने मानिस या त उनलाई पैसा दिन्थे या केही खाना दिन्थे । यही मागेको पैसा र खानाले उनको जीवन चलिरहेको थियो । उनको शरीरभरि घाउ पनि थिए । त्यसले गर्दा उनलाई धेरै गाह्रो भइरहेको थियो ।
एकजना युवक दैनिक भिखारी बसेर माग्ने बाटोबाट हिँड्ने गर्थे । एक दिन युवाले सधैँ साक्षात्कार हुने भिखारीसँग कुरा गर्ने निधो गरे । उनले भिखारीको अघिल्तिर गएर सोधे, ‘बाबा ! यति कठिन अवस्थामा पनि तपाईंमा जिउने आशा देखिन्छ । तपाईंले त ईश्वरसँग मुक्तिका लागि प्रार्थना गर्नुपथ्र्यो ।’
भिखारीले जवाफमा भने, ‘के मैले आफ्ना लागि प्रार्थना गरिनँ होला त ? तर, मेरो प्रार्थनाको कुनै अर्थ रहेन । सायद भगवान्ले मेरा माध्यमबाट मानिसहरूलाई सन्देश दिन चाहन्छन् होला । के सन्देश भने, जो–कसैको अवस्था पनि मेरोजस्तै हुन सक्छ । आखिर म पनि त तिमीहरूजस्तै थिएँ । तर, आज म यो दुःखमा डुबेको छु । यसैले ममार्फत उनी सबैलाई एउटा उदाहरण दिइरहेका छन् ।’
जवाफ सुनेर युवकले बूढा भिखारीलाई प्रणाम गर्दै भने, ‘आज तपाईंले मलाई जीवनको एउटा ठूलो सत्यबारे बताउनुभयो । म यसलाई जीवनभर भुल्नेछैन ।’