‘नरशमशेरले छिटो गर, छिटो गर... भन्दै चक्कुले मेरो गालादेखि चिउँडोसम्म काटिदियो’

आइतबार, १८ माघ, २०७७
डिजिटल संस्करण

म धर्मभक्त माथेमा । प्रजातन्त्र र नागरिक अधिकारका निम्ति समर्पित एक योद्धा । पेसाले म शारीरिक सुगठन प्रशिक्षक । म दरबारमा राजा, युवराज र भाइभारदारहरूलाई शारीरिक व्यायामको तालिम दिन्थेँ । 

राणाहरूको तानाशाहको विरुद्धमा अभियान चलाएको आरोपमा आफ्नै घरबाट २ कात्तिक १९९७ बिहान मलाई गिरफ्तार गरिएको थियो । १० माघ १९९७ मा भयानक दुर्घटना भयो । अग्रज जनयोद्धा शुक्रराज शास्त्रीलाई तानाशाही राणाहरूले फाँसी दिएर हत्या गरे । 

मलाई पनि राणा सरकारले ११ माघमै मृत्युको सजाय सुनायो । त्यसै बिहान मलाई सिंहदरबार सैनिक स्कुलबाट सदर जेल लगियो । त्यसै दिन मेरो परिवारलाई मसँग भेट्न खबर पठाइयो । मेरा बुबा आदिभक्त र भाइ ध्रुवभक्तलाई राणा सरकारको अनुरोधमा अंग्रेज सरकारले कलकत्तामै गिरफ्तार गरेर थुनेको थियो । काठमाडौंमा भएकी मेरी फुपूकी छोरी र गाउँका मेरा चेला मलाई भेट्न आए । उनीहरू भेट्न आएपछि मलाई जेलबाट बाहिर ल्याए । मेरो हात पछाडि लगेर सिक्रीले बाँधिएको थियो । मैले उनीहरूलाई मेरो कुरा सुनाएँ, ‘मलाई जेलमा बेस्सरी पिटे । मलाई शारीरिक रूपमा कमजोर बनाउन बलजफ्ती इन्जेक्सन लगाए ।’ 

मलाई पनि शुक्रराजलाई झैं फाँसीमा झुन्ड्याएर मार्ने योजना बन्दै रहेछ । शुक्रराजको हत्या गरिएको ठीक तीन दिनपछि अर्थात् १३ माघ साँझ डिल्लीबजारवरिपरिका सबै पसलहरू चाँडै बन्द गर्न उर्दी राजा सरकारले गऱ्याे । अनुमान गर्दा मलाई राति १० बजेतिर डिल्लीबजारको बाटोबाट ज्ञानेश्वर हुँदै सिफलतिर लगियो । मेरो दुवै हात पछाडि फर्काएर बाँधिएको र आँखामा पट्टी बाँधिएको थियो । 
सिफलमा पुऱ्याएपछि नरशमशेरले मलाई, ‘अन्तिम इच्छा के छ’ भनेर सोध्यो । 
मैले भने, ‘राणाशासनको छिट्टै नै अन्त्य भएको हेर्ने इच्छा छ ।’ 
त्यसपछि मलाई रूखको दक्षिणतिर लत्रेको हाँगामा बाँधिएको डोरीमा झुन्ड्याउन लगियो । भुइँमा लगाइएको गाह्राेमा मलाई टेकाएर घाँटीमा पासो लाइयो । मेरो घाँटीमा पासो लाएपछि मैले टेकेको गाह्राे भत्काइयो । तर, डोरी बाँधिएको हाँगा लच्कियो र मैले खुट्टा टेक्न पुगेँ । र, म मरिनँ ।

फेरि अर्को मोटो हाँगामा डोरी बाँधेर उसरी नै मलाई पर्खालमा उभ्याएर फाँसीमा चढाइयो । अनि पर्खाल भत्काइयो । म पीडाले छटपटाएँ । फाँसीको डोरी नै छिन्यो । म मरिनँ, तर घाँटीमा डोरी कस्सिएकै थियो । मलाई निक्कै गाह्रो भयो । छटपटाएँ । 

नरशमशेरले ‘छिटो गर, छिटो गर’ भन्दै आफैँले चक्कुले मेरो घाँटीको डोरी काट्यो । र, फेरि तेस्रोपटक मलाई झुन्ड्याउने आदेश दियो । मैले भनेँ, ‘म तपाईंको गुरु हुँ । दुईपटकसम्म फाँसीमा बाँचिसकेँ । फेरि फाँसी दिनु न्यायसंगत होइन ।’ 

‘तँलाई केको न्याय ? झन्डै मलाईसमेत मुछेको थिइस्’ भन्दै नरशमशेरले आफ्नो हातको चक्कुले मेरो गालादेखि चिउँडोसम्म काटिदियो । म पीडाले झन् कराएँ । चिच्याएँ । र, रिसले नरशमशेरलाई एक लात हानेँ । नरशमशेर लडेर ५–६ हात पर पुग्यो । 

त्यसपछि नरशमशेरले आफ्ना सिपाहीलाई आदेश दिँदै मलाई कुट्न लगायो । अर्को हाँगामा फेरि मलाई झुन्ड्याउन डोरी बाँध्दै थिए । सिपाहीको कुटाइले म बेहोस भैसकेको थिएँ । बेहोस् अवस्थामै मलाई उनीहरूले झुन्ड्याए । तेस्रोपटक बडाे कष्टले मेरो प्राण गयो । यतिखेर रातको १२ बजेको थियो । 

तानाशाह मुर्दावाद !

प्रजातन्त्र जिन्दावाद !


(यो लेख नाट्यकर्मी घिमिरे युवराजले तयार गरेका हुन् । बृहत् नागरिक आन्दोलनमा चाबहिल सिफलमा सहिद माथेमाको सालिकमा नाट्यकर्मी आशान्त शर्माले वाचन गरेका थिए ।)

सुझावित समाचार