प्रधानमन्त्री ओलीको आरोप : तीनजना पूर्वप्रधानमन्त्री पार्टी र देश बर्बाद पार्न लागे

आइतबार, १८ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले नेकपाका तीन पूर्वप्रधानमन्त्री पार्टी र आन्दोलन ध्वस्त पारेर देश बर्बाद पार्नतिर लागेको आरोप लगाएका छन् । चितवनका दुई विकास योजना शिलान्यास गर्न आएका प्रधानमन्त्री ओलीले नेकपाले आयोजना गरेको जनसभालाई शनिबार सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले देश बर्बाद पार्न लागेको आरोप लगाएका हुन् । 

प्रधानमन्त्री ओलीले शनिबार भरतपुर महानगरपालिकामा बन्न लागेको सिटीहलको शिलान्यास र पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक खण्डको सडक स्तरोन्नति कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले आफू देश बनाउने अभियानमा जुटेको, तर केही साथीहरू देशको बर्बादीमा लागिपरेको उनको भनाइ थियो । ओलीले पार्टी फुटेको नभई केही मानिस बाहिर गएको दाबी गरे । ‘केही मानिसहरू कुहिएको आलुजस्तै गरी निस्किए । आधिकारिक नेकपा हामी हौँ,’ ओलीले भने ।

प्रचण्डको चुनाव प्रचारका लागि माडी पुगेर आफूले भोट मागेको, तर यहाँका जनताले जिताएको नेता कुहिएको आलु परेको उनले बताए । ‘सधैँ विरोध र खुट्टा तान्नै व्यस्त रहेको प्रचण्डलाई मैले मान्छे बनाउन सकिनँ,’ ओलीले भने, ‘अब गफ लाउने होइन, काम गर्ने नेतालाई जिताउनुस् ।’ उनले आगामी वैशाखमा निर्वाचन भएरै छाड्नेसमेत दाबी गरे । गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकासमन्त्री प्रभु साह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि सभालाई सम्बोधन गरेका थिए ।

प्रचण्ड–माधव समूहको विरोध 

प्रधानमन्त्री ओली चितवन आउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहले भरतपुरका मुख्य सडकमा कालो पर्चा फाले भने मुख्य चोकहरूमा टायर बालेका थिए । उनीहरूले कालो बेलुनसमेत उडाए । नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेको अनेरास्ववियुका केन्द्रीय सदस्य सुरजसिंह ठकुरीले जानकारी दिए । अनेरास्ववियु लेखिएको कालो पर्चामा असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरू होसियार, जनमतको कदर गर, निरंकुशता लाद्न पाइँदैनलगायत नारा लेखिएको थियो । प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक राज्यशक्तिको दुरुपयोग भन्दै भरतपुर महानगरपालिका र नेकपा प्रचण्ड–माधव समूहले विरोध गरेको थियो । 

महानगरपालिकाको पहलमा तीव्र गतिमा काम भएको अवस्थामा महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यास गरेर प्रधानमन्त्री ओलीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेणुु दाहालले बताइन् । काम सुरु भएको दुई महिनापछि शिलान्यास गर्न आउनु व्यक्तिगत स्वार्थ भएको भन्दै उनले ओली सहभागी कार्यक्रम नै बहिष्कार गरिन् ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले ओली समूहका केही व्यक्तिले जिल्लामा नेकपा जिल्ला कमिटीको नाममा गतिविधि गरेकोमा आपत्ति जनाए । विधानबमोजिम गठित आधिकारिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले सो कार्यक्रमलाई गुटको कार्यक्रम भनेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले सत्ता र पदको दुरुपयोग गरी जनतालाई भ्रम छर्न लागिपरेको र आफैँले घोषणा गरेको निर्वाचनको आचारसंहिताविपरीत कामचलाउ प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन गरिनु हास्यापद रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले महानगरको विरोधलाई आफ्नो सम्बोधनमा व्यंग्य गर्दै आफूले पैसा दिने अनि शिलान्यास गर्न केटाकेटी खोज्ने भनेका थिए । ‘संघीय सरकारको बजेटमा बनेको योजनाको शिलान्यास गर्न म यहाँ आएको हुँ,’ ओलीले भने, ‘कसैको विरोधले विकास रोकिँदैन । मयूरको प्वाँख लाउँदैमा मयूर हुँदैन ।’ 

डेढ वर्षमा सक्नुपर्ने सडकको काम चार वर्षसम्म अधुरै 
प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भरतपुर महानगरपालिकाको सिटीहल सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण गर्दै छ । पूर्व–पश्चिम राजमार्गको भरतपुर गोन्द्राङदेखि पुलचोकसम्मको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालयले निर्माण गर्दै छ ।

तर, प्रधानमन्त्रीले उद्घाटन गरेको सडक र भरतपुर महानगर सिटीहलनजिकैको भतपुर बाइपास सडकको डेढ वर्षमा सक्नुपर्ने काम चार वर्षसम्म अलपत्र अवस्थामा छ । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकदेखि आँपटारीसम्मको चार किलोमिटर चार सय मिटर सडक दुवैतर्फ सात–सात मिटरको कालोपत्रे र बीच भागमा एक मिटरको डिभाइडरसहितको सडक निर्माण कार्य चार वर्षमा पनि पूरा भएको छैन । निर्माण सम्झौताअनुसार यो सडक डेढ वर्षमा निर्माण पूरा गरिसक्नुपर्ने थियो । तर, निर्माण गर्ने ठेकेदारले काम पूरा गर्न नसक्दा पटक–पटक गरी पाँचपटकसम्म म्याद थप गरिएको छ ।

सुझावित समाचार