अवसरको सदुपयोग

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

नयाँ खेलाडीको उदयका लागि मात्रै होइन, पुराना खेलाडीको पुनरागमनकै लागि पनि प्रतियोगिता आयोजना हुनु महत्वपूर्ण हुने गर्दछ, प्रधानमन्त्री कपमा केही खेलाडीले त्यही सत्यलाई प्रमाणित गरेका छन्

......

नयाँ खेलाडीको उदयका लागि मात्रै होइन, पुराना खेलाडीको पुनरागमनकै लागि पनि प्रतियोगिता आयोजना हुनु महत्वपूर्ण हुने गर्दछ । घरेलु क्रिकेटको नियमनकारी निकाय क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) लामो समयसम्म एउटा संकटबाट गुज्रदा सीमित मात्रै प्रतियोगिता आयोजना भए । 

आन्तरिक विवाद र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को हस्तक्षेपले निम्त्याएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बनका कारण क्यानले काम नै गर्न पाएन । आइसिसीको निर्देशनअनुसार भएको नयाँ निर्वाचनबाट गत वर्ष नयाँ कार्यसमिति आयो । उक्त कार्यसमितिले काम थाल्नु पहिले नै कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण खेलकुद गतिविधि ठप्प भए । 

पछिल्लो वर्ष दिन कोरोना महामारीकै कारण खेलकुद गतिविधि भएनन् । कोरोना महामारीले विश्व मानव समुदायलाई नै ठूलो समस्यातर्फ धकेलिदियो कि प्रतियोगिता वा अभ्यासकै लागि पनि नियमित मैदानमै हुनुपर्ने खेलाडीहरू त्यो अवसर नपाउँदा दोहोरो समस्यामा देखिए । 

कोरोना महामारीपछि नेपाली क्रिकेट पुरानै लयमा फर्केको सन्देशसहित प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु भयो । प्रतियोगिताको शनिबार फाइनल खेल हुँदै छ । उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ भिड्दै छन् । 

यो प्रतियोगिताले कोरोना महामारीपछि नेपाली क्रिकेट पुरानै लयमा फर्किएको सन्देश मात्रै दिएको छैन, लामो समयदेखि कुरेर बसेका खेलाडीका लागि महत्वपूर्ण अवसर पनि दिएको छ । कोरोना ‘ब्रेक’पछि नेपालले चाँडै नै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘कमब्याक’ गर्दै छ । आगामी विश्वकपको छनोटको आधार प्रतियोगिता विश्वकप लिग दुईअन्तर्गत अमेरिकासहित नेपालले ओमानमा घरेलु टोलीसँग खेल्दै छ । 

यो प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोटको आधार प्रधानमन्त्री कपमा गरेको प्रदर्शन नै हुनेछ । त्यो उद्देश्यका लागि केही खेलाडीले यो प्रतियोगितालाई राम्रैसँग सदुपयोग गरेका छन् । विभिन्न कारणले लामो समयदेखि राष्ट्रिय टोलीबाट बाहिर रहेका खेलाडीले मात्रै होइन, युवा खेलाडीले पनि राष्ट्रिय टोलीमा पुग्ने प्रयासका लागि यो प्रतियोगितालाई राम्रैसँग सदुपयोग गरेका छन् । 

विपिन आचार्य, बलिङ अलराउन्डर (बागमती प्रदेश)
जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सम्भावना देखाएका अर्का युवा खेलाडी हुन्, विपिन आचार्य । उनले बागमतीका लागि जारी प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरे । प्रतियोगितामा बागमतीले पाँच खेल खेल्दा चार खेलमा अवसर पाएका विपिनले सात विकेट लिए । यस्तै, टोलीको तीन इनिङमा ब्याटिङ गर्दै ५५ रनको योगदान दिए । विशेष गरी उनले आर्मीविरुद्धको सेमिफाइनल खेलमा ब्याटिङमा पनि परिपक्क प्रदर्शन देखाए । सिनियर खेलाडीहरू सहजै आउट भएको समय उनले क्रिजमा केही लामो समय टिकेर कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिने प्रयास गरे । उक्त खेलमा उनले २३ रन जोडेका थिए । 

हेमन्त वली, ब्याट्सम्यान (कर्णाली प्रदेश)
कर्णाली प्रदेश यसपटक राष्ट्रिय स्तरको प्रतियोगितामा फरक तरिकाले प्रस्तुत भयो । समूहगत चरणबाटै बाहिरिए पनि प्रायः प्रतियोगितामा पराजय मात्रै बेहोर्ने कर्णालीले यसपटक दुई जित पनि आत्मसात् गरेको छ । टोलीको यो जितमा युवा खेलाडी हेमन्त वलीले सशक्त प्रदर्शन दिए । विशेष गरी उनले एपिएफजस्तो बलियो टोलीविरुद्ध प्रशंसनीय प्रदर्शन दिए । उनी एपिएफविरुद्ध ५८ रन जोड्दा रनआउट हुन पुगेका थिए । दबाबपूर्ण अवस्था लामो समय टिकेर ब्याट चलाउन सक्ने क्षमताले उनलाई अझ अगाडि पु¥याउन सक्नेछ ।

सन्दीप रजाली, ब्याट्सम्यान (लुम्बिनी प्रदेश)

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ब्याटिङतर्फ सशक्त प्रदर्शन दिएर चम्किएका खेलाडी हुन्, सन्दीप रजाली । उनले टोलीका लागि चार खेलबाट समग्रमा एक सय ३४ रनको योगदान दिए । उनी टोलीका लागि सर्वाधिक रन योगदान गर्ने दोस्रा खेलाडी रहे । उनले प्रदेश नम्बर २ विरुद्ध ८३ रनको प्रहार गरे । यस्तै, नेपाल पुलिस क्लबविरुद्ध ४० रन जोडे । क्रिजमा लामो समय टिकेर धैर्यतापूर्वक रन जोड्न सक्ने क्षमता प्रस्तुत गरेका उनले भविष्यमा सिनियर टोलीमा माथिल्लो क्रमको ब्याट्सम्यानका रूपमा स्थान बनाउन सक्छन् । 

......

पुनरागमनको संकेत

पृथु बास्कोटा, ब्याट्सम्यान (बागमती प्रदेश)

उमेर समूहको प्रतियोगिताबाटै चम्किएका खेलाडी हुन्, पृथु बास्कोटा । बल र ब्याटको प्रदर्शनबाट मात्रै होइन, पृथुले टोलीको नेतृत्वकर्ताका रूपमा पनि आफूलाई प्रमाणित गरेका हुन् । सुरुवातका केही वर्ष उनी सिनियर राष्ट्रिय टोलीका पनि नियमित नै थिए । तर, उनी विभिन्न कारणले छुटे । सुरुवातमा उनलाई चोटले साथ दिएन । त्यसपछि व्यवसायतर्फ लागेका उनलाई त्यसले आफ्नो खेल जीवनलाई अझ साथ दिएन । बरु, विवादमा तानिए । 

त्यही विवादले उनलाई प्रहरी हिरासतसम्म पु¥यायो । क्रिकेट ‘कम्ब्याक’का लागि उनले कोरोना महामारीको समयलाई राम्रैसँग सदुपयोग गरे । यही समय थियो उनले फेरि क्रिकेटमा पुरानै लयका साथ फर्कन्छु भनेर मिहिनेत गरेको । उनले प्रधानमन्त्री कपकै तयारीका लागि नियमित बालुवाटर क्रिकेट एकेडेमी धाए । त्यसकै तयारीपछि उनले जारी प्रतियोगितामा सशक्त प्रदर्शन गरेका छन् । सेमिफाइनलसम्मको प्रदर्शनअनुसार उनी प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी हुन् । उनले समूहगत चरणका चार र सेमिफाइनलको एक गरी पाँच खेलबाट दुई सय १५ रन जोडेका छन् । उनको यही प्रदर्शनमा पुनरागमनको संकेत देखिएको छ । 

राजेश पुलामी, अलराउन्डर (त्रिभुवन आर्मी क्लब)

प्राविधिक रूपमा निकै क्षमतावान् ब्याट्सम्यान मानिन्छन्, राजेश पुलामी । राजेश समय–समयमा राष्ट्रिय टोलीमा परिरहेकै हुन्छन् । यद्यपि, पछिल्लो केही समयदेखि भने उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सकिरहेका छैनन् । क्रिकेटलाई आफ्नो ‘प्यासन’ मान्ने उनले पनि लकडाउनको समयमा राम्रै मिहिनेत गरे । काठमाडौंमा उनको आफ्नै एकेडेमी छ । उनले सोमपाल कामीसँग मिलेर यो लकडाउनको समयमा खुबै मिहिनेत गरे । त्यही मिहिनेतको प्रतिफलस्वरूप उनले जारी प्रतियोगितामा सशक्त प्रदर्शन गरिरहेका छन् । 

विशेष गरी उनले बागमती प्रदेशविरुद्ध सेमिफाइनल चरणमा परिपक्क प्रदर्शन देखाए । सुरुवाती क्रमका ब्याट्सम्यानहरू एकपछि अर्काे आउट भएपछि धर्मराएको आर्मीको इनिङलाई राजेशले सम्हालेका थिए । दबाबपूर्ण अवस्थामा आएर उनले ६५ रन जोड्दै आर्मीलाई बलियो योगफलतर्फ अघि बढाएका थिए । उनी प्रतियोगितामा आर्मीका लागि सर्वाधिक रन जोड्ने खेलाडी हुन् । उनले आर्मीका लागि अहिलेसम्म एक सय ७६ रन जोडेका छन् । उनले बलिङतर्फ पनि ५ खेलबाट ६ विकेट लिएका छन् । आर्मीका लागि सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् । यही प्रदर्शनले राजेशले फेरि राष्ट्रिय टोलीमा फर्कने सम्भावना देखाएका छन् ।

......

युवा खेलाडी, जसको प्रदर्शनले आशा जगायो

गौतम केसी, बलर (बागमती प्रदेश)

प्रतियोगितामा देखिएका नयाँ खेलाडीमध्ये सशक्त प्रदर्शन दिएका युवा खेलाडी हुन्, गौतम केसी । बागमतीले उनलाई सुरुवातमा अवसर दिएन । तर, जुन खेलबाट उनले मैदानमा उत्रने अवसर पाए, त्यही खेलबाट उनले आफूलाई प्रमाणित गरे । गौतमले आर्मीविरुद्धको सेमिफाइनलसहित तीन खेल मात्रै खेल्ने अवसर पाए । त्यही तीन खेलबाट उनले आफूलाई सेमिफाइनल चरणसम्म सर्वाधिक विकेट लिने खेलाडी बनाएका छन् । उनले तीन खेलबाटै ११ विकेट लिएका छन् । यही प्रदर्शनबाट उनले आफ्नो उज्वल भविष्यको बाटो तय गरेका छन् ।  

अर्जुन कुमाल, ब्याट्सम्यान (गण्डकी प्रदेश)

सानै उमेर तर परिपक्क प्रदर्शन दिएका खेलाडी हुन् अर्जुन कुमाल । भारतमा क्रिकेट सिकेका अर्जुनले यसअघि उमेर समूहमा नेपालको राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । उनले नेपालको यू–१६ राष्ट्रिय टोलीबाट खेलेका थिए । सिनियर राष्ट्रिय प्रतियोगितामा पहिलोपटक सहभागी भएका उनले पनि आफूलाई थप सशक्त रूपमा प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशको प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा देखिएका उनी टोलीका लागि ब्याटबाट सर्वाधिक योगदान गर्ने खेलाडी रहे । गण्डकी समूहगत चरणबाटै बाहिरिँदा उनले टोलीका लागि समग्रमा एक सय १७ रन जोडे । अन्य खेलाडीले उनलाई उछिन्न सकेनन् ।  

......

उपाधि भिडन्त आज

प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि शनिबार दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आर्मी पहिलो संस्करणमै उपाधिको अनुभव लिएको टोली हो । फाइनल खेलमा वर्षा बाधक बन्दा आर्मी र नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषित गरिएको थियो । 

त्यसपछि दोस्रो संस्करणमा भने आर्मीलाई नै पराजित गर्दै एपिएफले उपाधि जितेको थियो । आर्मीलाई यसपटक त्यही पराजयको बदला लिने अवसर पनि हुनेछ । आर्मीलाई यो फाइनल खेलले अर्काे अवसर पनि दिएको छ, एक्लो विजेता बन्ने ।

आर्मीले प्रधानमन्त्री कपको यसअघिका तीनमध्ये तीनवटै फाइनल खेल खेलेको छ । लगातार चारपटक फाइनल खेल्न लागेको आर्मीले अहिलेसम्म एकल रूपमा उपाधि उचाल्न भने पाएको छैन । दुई वर्षअघि भएको तेस्रो संस्करण्को फाइनलमा आर्मी नेपाल पुलिससँग पराजित भएको थियो । 

फाइनलअघि दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । आर्मीका कप्तान विनोद भण्डारीले प्रतियोगिताभरि आफ्ना खेलाडी लयमा देखिएकाले आफू आशावादी रहेको बताए । ‘खुसीको कुरा प्रत्येक खेलमा फरक–फरक खेलाडीले राम्रो प्रदर्शन दिँदै आएका छन् । यो हाम्रा लागि राम्रो कुरा हो,’ विनोद भन्छन्, ‘फाइनलमा सबै खेलाडीबाट टिम गेमको अपेक्षा गरेको छु । विगतभन्दा पनि जसले जुन गेममा राम्रो खेल्यो, त्यसले जित्ने हो । उपाधिका लागि हामी आशावादी छौँ ।’

एपिएफका कप्तान शरद भेषावकरले पनि उपाधिका लागि आफ्नो खेलाडीको लय निर्णायक बन्ने बताए । ‘खेलाडीहरूले निरन्तर एकैनासको प्रदर्शन गरिरहेका छन् । फाइनलअघि सबै खेलाडी फिट पनि देखिएका छन्,’ शरदले भने, ‘भोलि हाम्रो बलियो टोली मैदान उत्रनेछ । हाम्रो उद्देश्य उपाधि नै हो ।’ दुवै खेलाडीले लामो समयपछि फाइनल खेल्न पाउँदा खुसी लागेको बताए । आर्मी र एपिएफले यसै प्रतियोगिताको समूहगत चरणमा पनि प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा एपिएफ ६ रनले विजयी भएको थियो ।

सुझावित समाचार