वाणिज्य बैंकहरूको नाफा ६ प्रतिशत घट्यो, ६ अर्ब ७१ करोड ब्याज उठ्न बाँकी

शुक्रबार, १६ माघ, २०७७
डिजिटल संस्करण

कोभिड–१९ का कारण व्यवसायहरू लयमा नफर्किंदा कर्जा लगानीमा सुस्ती तथा खुद ब्याज आम्दानीमा कटौतीले बैंकहरूको नाफामा असर परेको छ । सञ्चालनमा रहेका सबै २६ वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूको नाफा ६ प्रतिशतले घटेर २८ अर्ब ९ करोडमा सीमित भएको छ । गत आवको यही अवधिमा नाफा २९ अर्ब ९३ करोड थियो । 

२६ वाणिज्य बैंकमध्ये १७ बैंकको नाफा १ प्रतिशतदेखि ६२ प्रतिशतसम्म घटेको छ । बैंकहरूको स्प्रेड दर घटेको, राष्ट्र बैंकले अन्य शुल्कमा समेत कडाइ गरेकोलगायतका कारण बैंकहरूको नाफामा दबाब देखिएको बैंकरहरू बताउँछन् । ‘बैंकहरूले पछिल्लो समय कर्जाको ब्याजदरसमेत घटाएर व्यवसायीहरूलाई राहत दिएका छन्,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘४ प्रतिशतभन्दा पनि कम स्प्रेड राखेर काम गरिरहेकाले पनि नाफामा दबाब परेको हो ।’

गत आवको पुसमा बैंकहरूको औसत स्प्रेडदर ४ दशमलव ८५ रहेकोमा यस वर्ष ३ दशमलव ९१ प्रतिशत छ । बैंकहरूले पाएको सहुलियतको लाभ व्यवसायीहरूलाई ‘पास अन’ गरेको केसीले दाबी गरे । २९ खर्ब ३७ अर्ब कर्जा लगानी गरेका बैंकहरूको खुद ब्याज आम्दानी १ प्रतिशतले घटेर ५८ अर्ब ९ करोडमा सीमित भएको छ । 

राष्ट्र बैंकले सेवाशुल्कमा गरेको कडाइसँगै बैंकहरूको शुल्क आम्दानी घटेको छ । यो रकममा २ प्रतिशतले गिरावट आएर १२ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । बैंकहरूको अन्य सञ्चालन आम्दानी भने ८५ प्रतिशतले बढेर ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । विदेशी मुद्राको विनिमयबाट हुने कमाइमा ६ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४ करोड पुगेको छ । 

यो अवधिमा बैंकहरूको करिब ४५ अर्ब ४४ करोड रुपैयाँबराबरको कर्जा खराब भएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा औसतमा १ दशमलव ५१ प्रतिशत रहेकोमा हाल १ दशमलव ५७ प्रतिशत पुगेको हो । गत चैतदेखि असारसम्मका कर्जाहरूलाई यो पुस मसान्तभित्र पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने सुविधा दिएकाले पनि बैंकहरूको खराब कर्जा स्पष्ट नदेखिएको हो । यसरी कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा १० प्रतिशत ब्याज असुल गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । यस्तो कर्जा असल वर्गमा वर्गीकरण गर्न सकिने र ५ प्रतिशत नोक्सानी व्यवस्था गरे हुने सुविधा बैंकहरूले पाएका छन् ।  

कतिपय बैंकहरूले ऋणीलाई अर्को बैंकमा रहेको कर्जा भुक्तानीका लागि पुँजी दिने र आफ्नो बैंकमा नयाँ कर्जा सिर्जना गर्ने परिपाटीसमेत मौलाएकाले खराब कर्जा दरमा खासै वृद्धि नदेखिएको एक बैंकरले बताए । कोभिडका कारण ब्याज उठाउन समस्या परिरहेका बैंकहरूले यसलाई गति दिन थालेका छन् । गत असोजको तुलनामा ब्याज उठ्तीदर राम्रो देखिएको छ । यद्यपि, अझै बैंकहरूको ६ अर्ब ७१ करोड रुपैयाँबराबरको ब्याज उठ्न सकेको छैन ।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरूले उठाउन नसकेको ब्याज रकमको ६३ प्रतिशत नियामकीय सञ्चितिमा राख्नुपर्छ । बैंकहरूले कुल ४ अर्ब २३ करोड रुपैयाँ सञ्चितिमा राखेका छन् । यसअघि पहिलो त्रैमासमा १२ अर्ब ३८ करोड ब्याज उठ्न सकेको थिएन । यसको अर्थ असोजदेखि पुसमा भने ५ अर्ब ६७ करोड रुपैयाँ उठाएका हुन् ।

 ‘नउठेको ब्याजमा पुनर्संरचना वा पुनर्तालिकीकरण भएका कर्जाहरूको ब्याजसमेत देखिन्छ,’ केसीले भने, ‘तर, पछिल्ला तीन महिनामा व्यवसायहरू खुल्न थालेकाले राम्रै दरमा ब्याज उठाउन सकिरहेका छौँ ।’ नउठेको ब्याज रकमका आधारमा हेर्दा बैंकहरूको करिब ६७ अर्ब १० करोड रुपैयाँबराबरको कर्जामा समस्या देखिन्छ ।

बैंकहरूले नियामकीय सञ्चितिमा राख्नुपर्ने रकम घटेपछि लगानीकर्तालाई लाभांशका रूपमा वितरण गर्न सक्ने रकममा पनि सुधार भएको छ । पहिलो त्रैमास (असोज)मा पाँच बैंकको यस्तो रकम ऋणात्मक देखिएकामा पुसमा एउटा बैंकको मात्रै ऋणात्मक भएको छ ।

असोजमा २१ बैंकहरूले ४ अर्ब २७ करोड रुपैयाँ लाभांशका रूपमा वितरण गर्न सक्ने अवस्थामा थिए भने पुसमा २५ वटाले १७ अर्ब ३९ करोड वितरण गर्न सक्ने भएका छन् । असोजसम्मको चुक्ता पुँजीका आधारमा बैंकहरूले १ दशमलव १९ प्रतिशतदेखि १३ दशमलव ६५ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिएका छन् । नबिल बैंकले सबैभन्दा धेरै लाभांश दिन सकिने देखिएको हो । 

सुझावित समाचार