उजाड कमलपोखरी

शुक्रबार, १६ माघ, २०७७
डिजिटल संस्करण

असारमै पुनर्निर्माण सक्नुपर्ने कमलपोखरीमा बल्ल काम सुरु, पुरातात्विक पहिचान मेटेर सिमेन्टको पोखरी बनाउन थालिएपछि आन्दोलन जारी

कमलपोखरीमा फुलेको कमलको फूललाई आफ्नै हातले छोएका घनश्याम राजकर्णिकारलाई कमलपोखरी पुनर्निर्माण हुन लाग्यो भन्दा निकै खुसी लागेको थियो । तर, पोखरी पुनर्निर्माणमा भएको ढिलासुस्ती र मौलिकता मासेर हुन लागेको पुनर्निर्माणले उनलाई दुःखी बनाएको छ । ‘कमलपोखरी पुनर्निर्माण हुनु राम्रो हो । यसबाट हामी कमलपोखरीबासी खुसी छौँ । तर, जुन तरिकाले अहिले पोखरीको पानी सुकाउने काम सुरु भयो । अनि कंक्रिट बिछ्याएर काम गर्ने भन्ने सुन्नमा आयो, यो त पटक्कै सुहाउने कुरा होइन,’ राजकर्णिकारले भने । 

ऐतिहासिकता, मौलिकता र पर्यावरण मासिने गरी पोखरी पुनर्निर्माण हुन लागेको भन्दै विवाद बढेको छ । जसका कारण कमलपोखरी पुनर्निर्माण फेरि पछाडि धकेलिने भएको छ । सम्झौताअनुसार गत असारमै पोखरी पुनर्निर्माण हुनुपर्ने थियो । तर, ठेकेदार कम्पनीले भर्खर सुरु गरेको छ । ढिलो गरी पोखरी पुनर्निर्माण हुन थाले पनि यसमा देखिएको विवाद र लापरबाहीले वर्षौंदेखि कमलपोखरी नियाल्दै आएका स्थानीय चिन्तित बनेका छन् ।

‘पोखरीवरपर चारैतिर रूख थियो । विभिन्न किसिमका चराहरू आउँथे । पानीहाँस आउँथ्यो । वीरशमशेरका पनातिहरू पानीहाँसको शिकार खेल्थे । पोखरीको क्षेत्रफल पनि ठूलो थियो, हामी पनि त्यहाँ गएर माछा माथ्र्याैं, माझीले त्यहाँ फुलेको कमलको फूल दिन्थे,’ ५० वर्षअघिको दिन सम्झँदै राजकर्णिकारले सुनाए, ‘त्यस्तो पोखरी अहिले यो अवस्थामा आइपुग्यो । पुनर्निर्माणपछि पहिलाको जस्तै पोखरीवरपर टहलिन पाउँछौँ कि भनेको न समयमै काम हुन सकिरहेको छ, न मौलिकतालाई कायम नै राखिएको छ ।’

डिजाइनभन्दा फरक रूपमा काम 
५० वर्षदेखि कमलपोखरी क्षेत्रमा बस्न थालेका माधव ढुंगेललाई पनि काठमाडौं महानगरपालिकाले स्थानीयसँग छलफल गरेर बनाएको डिजाइनभन्दा फरक रूपमा काम भएको देख्दा दिक्क लागेको छ । ‘पहिला हामीसँग छलफल हुँदा यहाँको माटो निकालेर फाल्ने, पोखरी सुकाउने भन्ने विषयमा कुरै भएको थिएन । अहिले एक्कासि पोखरी सुकाउन पो थाले । हेर्दाहेर्दै कंक्रिटको प्रयोग गर्न थाले । सिँढी बनाउन थाले । जुन पहिले भनिएको थिएन । पहिलाको पोखरीजस्तो पनि बनाउन लागेनन्,’ उनले भने । 

करिब चार महिनादेखि उजाड देखिएको कमलपोखरी पुनर्निर्माणमा भएको ढिलासुस्तीले पनि उनलाई महानगरमाथि प्रश्न उब्जाएको छ । ‘महानगरले पुनर्निर्माण ढिला हुनुमा कोरोना, लकडाउनलगायत कारण देखाउँदै छ । तर लकडाउनकै क्रममा धरहरा बन्यो, काष्ठमण्डप बन्यो । अरू भौतिक पूर्वाधार निर्माणका काम पनि भए । कमलपोखरी यतिकै छाडियो । के कमलपोखरी अनुकूलताअनुसार बनाउने हो ? सडक निर्माणजस्तै असार कुरेको हो ?’ उनले प्रश्न गरे, ‘हामीलाई पहिलाको जस्तै मौलिकता कायम गरेर, पर्यावरणलाई जोगाउँदै कमल फुल्ने कमलपोखरी चाहियो ।’

पोखरी जस्ताको तस्तै बनाउनुपर्नेमा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ जोड दिन्छन् । ‘कमलपोखरी सुकाइएपछि त्यहाँको माछा, कछुवालगायत जलचर मरेका छन् । कंक्रिटका सिँढीहरू निर्माण भएका छन् । जुन रानीपोखरी पुनर्निर्माणको क्रमजस्तै देखिएको छ । रानीपोखरी पुनर्निर्माणका क्रममा त्यहाँ रहेको मन्दिर पुनर्निर्माणमा धेरै ध्यान दिँदा पोखरी जुन रूपमा पुनर्निर्माण हुनुपर्थ्यो, त्यो हुन सकेन । रानीपोखरीका लागि ध्यान नदिँदा पोखरीको बालुवा, माटो झिकियो । अहिले आएर विभिन्न समस्या आउन थालेको छ । रानीपोखरीको जस्तो समस्या कमलपोखरीमा नदेखियोस् भन्ने नै हाम्रो चाहना हो,’ अभियन्ता श्रेष्ठले भने ।

पोखरी तथा ढुंगेधारा विज्ञ सुशील श्रेष्ठले अहिले महानगरले गरिरहेको कामले त्यहाँको स्थानीयमा ठूलो असर पुग्ने बताउँछन् । ‘सिमसार भन्नेबित्तिकै ऐतिहासिक भयो । पोखरी भन्नेबित्तिकै यसले जमिनमा पानीको सञ्चिति गरिरहेकै हुन्छ । त्यहाँका वरपर रहेका बस्तीमा जाने पानीको स्रोत कमलपोखरी नै हो । त्यहाँको आसपासका मानिसहरूलाई सरकारले पानी दिन सकेको होइन, पोखरीमै भर परिरहेका छन् । आज त्यो पोखरीलाई बिगार्दा भोलि पानीको ठूलो समस्या आउन सक्छ,’ उनले भने । 

कमलपोखरी छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंह भने कमलपोखरी पुनर्निर्माण विरोधका नाममा विरोध भएको मात्र बताउँछन् । ‘यति सुन्दर व्यायाम हल, पार्कसहित कमलपोखरी निर्माण गर्न लागेका छौँ । विरोध गर्नुको कारण नै छैन,’ उनले भने, ‘कंक्रिटको प्रयोग भयो भन्ने जुन विषय छ, त्यो त धेरै पहिलादेखि प्रयोग भएको थियो । यसमा विरोध गर्नुको कुनै कारण छैन । अभियन्ताहरूले विरोध गर्ने भए सुन्धारामा निर्माण भइरहेको ऐतिहासिक धरहरा जुन कंक्रिटको प्रयोगबाट भइरहेको छ । त्यसको विरोध गरुन् ।’ 

१५ असारमै सक्नुपर्ने काम सुरु नै भएन
कमलपोखरी पुनर्निर्माण सम्झौताअनुसार गत १५ असारभित्रै पुनर्निर्माण सक्नुपर्ने थियो । तर हालसम्म पनि पुनर्निर्माणले गति लिन सकेको छैन । लकडाउनका कारण पोखरी निर्माणका लागि आवश्यक सामान ल्याउन नसकिएकाले काम ढिलो भएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । ‘पोखरी निर्माणका लागि विशेष खालका ठूलो ढुंगा आवश्यक पर्छ । त्यो ढुंगा ल्याउन कोरोना भाइरस, लकडाउन, निषेधाज्ञाजस्ता कारण सकिएन । जसले गर्दा काम ढिलाइ भएको हो,’ प्रवक्ता डंगोलले भने, ‘अब चैतमा काम सकिने गरी अगाडि बढ्छ ।’ 

पुनर्निर्माणका लागि १९ असार २०७६ मा शिलान्यास भएको थियो । महानगरले ‘हाम्रो काठमाडौं आफैँ बनाऔँ’ नाराका साथ थालेको पुनर्निर्माण शिल्यान्यास मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले गरेका थिए । नौ करोड ४७ लाख रुपैयाँ लागतमा सबै काम सक्ने गरी जय धनञ्जय (कँडेल निर्माण सेवा)लाई ठेक्का दिइएको छ ।

महानगरले पारित गरेको डिजाइनअनुसार पोखरीपरिसरमा खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन र बास्केटबल कोर्ट हुनेछ । केटाकेटी खेल्न खुला पार्क बनाइनेछ । साँझपख पार्कमा चहलपहल होस् भनेर बिजुलीबत्ती जडान गरिनेछ । पोखरीको बीचभागसम्म पुल बनाइनेछ । चारै कुनामा कमलका फूलसहित स–साना पोखरी र बीचमा फोहोरा निर्माण गर्ने र पोखरीवरिपरि ढुंगाको सिँढी बनाउनुका साथै पार्कको सम्पूर्ण भागमा ठूला आकारका ढुंगा छापिनेछन् ।

महानगरले आफ्नै नीति तथा कार्यक्रमको खिल्ली उडाएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा महानगरले ऐतिहासिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण मानिएको कमलपोखरी, शंखपार्क, कोटेश्वर महादेवलगायतको संरक्षण र संवद्र्धन गर्ने भनेको थियो । तर, संरक्षण गर्ने नाममा महानगरले पहिले नै भएका गल्ती दोहो¥याउन थालेको सम्पदा अभियन्ताहरू बताउँछन् । कमलपोखरी पुनर्निर्माणबारे विवाद सुरु भएपछि पुरातत्व विभागले कमलपोखरी संरक्षण कार्यलाई अगाडि बढाउँदा पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्ने गरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी, प्राचीन स्मारक संरक्षणको परिधिभित्र रही कार्य गराउन आग्रह गर्दै महानगरलाई पत्रसमेत पठाइसकेको छ । 

कमलपोखरी पुनर्निर्माणको विवाद सर्वोच्व अदालतसम्म पुगेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता विष्णुप्रसाद भुसाल, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता लिशा महर्जन र सञ्जय अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतलाई विपक्ष बनाएर सर्वोच्व अदालतमा रिट दायर गरेका हुन् । 

यसकारण पोखरीलाई पहिलाको जस्तै बनाउनुपर्छ

सुशील श्रेष्ठ, ढुंगेधारा तथा पोखरी विज्ञ

पोखरी पुनर्निर्माण गर्दा कंक्रिट प्रयोग नगर्नुस्, पानी नसुकाउनुस् । प्राकृतिक रूपमै बनाउनुस् । मौलिक रूपमा सबैले हेर्नलायक पोखरी बन्नुपर्‍यो । कमलपोखरीको राम्रो पक्ष भनेको वातावरणलाई राम्रो बनाइदिनु हो । अहिले जसरी पानी सुकाउने काम भएको छ, त्यसले भोलि त्यो क्षेत्रमा पानीको समस्या आउन सक्छ । आज लगेर पाँच करोड लिटर पानी हालिदिँदैमा त्यहाँ पानी जम्छ भन्न सकिन्न । त्यसैले वेलैमा सचेत हुनुपर्‍यो । पोखरी बनाउन त्यहाँको पानी सुकाउनुपर्छ भन्ने छैन । कमलपोखरीमा रहेको पूरै पानी सुक्न अझै केही समय लाग्छ । पानी सुकेर गएपछि त्यहाँ पानी रहँदैन । पानी नरहे पोखरी रहँदैन । पैसा खर्च गरेर बनाउन लागेको पोखरीमा पानी नै नहरे पोखरीको के अर्थ ? 

महानगरले बनाउन लाग्दा जहिले विरोध किन ? 

ईश्वरमान डंगोल प्रवक्ता, काठमाडौं महानगर

मौलिकपन आउने गरी नै कमलपोखरी निर्माण गर्न लागेका हौँ । पोखरीसम्म पुग्न पहिलाकै जस्तो सिँढी बनाउनका लागेका हौँ । यसका लागि ढुंगा र सिमेन्टको आश्यकता पर्छ । ढुंगा अड्याउन सिमेन्टको प्रयोग गर्नैपर्छ । ढुंगालाई अड्याउन सिमेन्ट राख्ने भनेको हो, जुन बाहिरबाट देखिँदैन । आधुनिक जमानामा कंक्रिटको प्रयोगविना कहाँ पूर्वाधार निर्माण भएको छ ? श्राद्धमा बिरालो बाँध्ने प्रवृत्तिलाई निरन्तरता दिनु भएन नि । 

डिजाइन निर्माणका क्रममै स्थानीय बासिन्दा, सम्पदाविद्, राजनीतिक दलका प्रतिनिधिलगायतको सहमतिपछि पुनर्निर्माण थालिएको हो । पहिला रानीपोखरी निर्माण गर्दा पनि त्यस्तै भयो । महानगरले बनाउन लाग्दा जहिले विरोध भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरु गरेपछि विवाद सामसुम भयो ।

सुझावित समाचार