वीरगन्ज उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पदमा विजयी गोपाल केडिया र सुबोधकुमार गुप्तालाई सम्मान गरेको छ । केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा केडिया वरिष्ठ उपाध्यक्ष हुन् ।
संघका उपाध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी)को अध्यक्षतामा आयोजित कार्यक्रममा पटवारीले नेपालकै इतिहासमा बहालवाला अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएको सम्भवतः पहिलोपटक भएको संघले जनाएको छ । दुईजनाको उपस्थितिले पर्सा, बारा क्षेत्रको आर्थिक क्रियाकलापमा थप नयाँ ऊर्जा थपिने र विगतका वर्षदेखि वीरगन्ज उवासंघले उठाउँदै आएका आर्थिक विकासका मुद्दाहरूले दिशा पाउने विश्वास पटवारीले व्यक्त गरेको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि संघका पूर्वअध्यक्ष तथा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगन्ज उद्योग वाणिज्य संघले नेपालको चेम्बर आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बताएका थिए । उनले महासंघको कार्यकारिणी सदस्य पदमा निर्वाचित वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष क्रमशः गोपाल केडिया र सुबोधकुमार गुप्ताको काँधमा नयाँ जिम्मेवारी थपिएको भन्दै निजी क्षेत्रका साझा अपेक्षालाई महासंघमार्फत कार्यान्वयन गराउन ध्यानाकर्षण गराएको जनाइएको छ ।