ध्वाँसे चितुवा संरक्षण गर

मंगलबार, १३ माघ, २०७७
डिजिटल संस्करण

संरक्षित वन्यजन्तुको सूचीमा राखेपछि संरक्षण गर्न विशेष ग्राह्यता पनि दिनुपर्छ

क्लाउडेड लिओपार्ड भनिने पोथी ध्वाँसे चितुवा झापामा गत पुस महिनामा मरणासन्न अवस्थामा फेला पर्यो । नेपालमा यसको उपस्थिति छ भन्ने प्रमाण क्यामेरा ट्र्यापले खिचेका तस्बिर मात्र थिए । पूर्वी नेपालमा अहिलेसम्म नै यसलाई कसैले फेला पारेको थिएन । यसैबीच पंक्तिकारद्वारा लिखित ‘ध्वाँसे चितुवा जोगाऔँ’ शीर्षक लेख धरानबाट प्रकाशित कपुरीन्युजको पुस २५ संस्करणमा छापियो । त्यसपछि संवाद भएअनुसार ‘स्मल म्यामल्स् कन्जरभेसन एन्ड रिसर्च फाउन्डेसन’का अध्यक्ष सागर दाहाल झापा र इलामस्थित चुरेक्षेत्रमा तत्कालै अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने सोचमा पुगेका छन् । हिजोआज त्यो घायल क्लाउडेड लिओपार्ड कन्काई नगरपालिकास्थित जामुन खाडी सिमसार पर्यटकीय क्षेत्रमा राखिएको छ । यस्तै, क्लाउडेड लिओपार्डको एक भाले बच्चा एक वर्षअघिदेखि झापाकै अर्जुनधारा नगरपालिकास्थित कालीखोला पर्यापर्यटन केन्द्रमा छ । 

क्लाउडेड लिओपार्ड नेपालको एक संरक्षित वन्यजन्तु हो । यो वन्यजन्तु चितुवाजस्तो देखिन्छ, तर नियालेर हेर्दा गाउँघरमा केटाकेटी तथा ससाना चौपायालाई सिकार गर्ने कमन लिओपार्ड (चितुवा)भन्दा फरक देखिन्छ । यसको शरीरमा खैरो पृष्ठभूमिमा ध्वाँसे रङको सानाठूला धब्बा यसलाई चिन्ने पहिलो आधार हो । दोस्रो, पुच्छर झन्डै शरीर बराबर लामो हुन्छ । यति नै लामो पुच्छर हिमचितुवाको पनि हुन्छ । तर, हिमचितुवाको पुच्छर मजबुत र गोलाइको आकार तुलनात्मक रूपमा मोटो हुन्छ । यसको माथिल्लोपट्टिको कुकुरदाँत (केनाइन टिथ) झन्डै दुई इन्च लामोे हुन्छ । खप्परको हाडको तुलनामा यसको केनाइन टिथ बाघ, सिंहको भन्दा लामो हो । मुख उघार्दा यसका लामा कुकुरदाँत डरलाग्दो देखिन्छ । यो रातमा विचरण गर्ने जनावर हो । तर, यसले दिनमा रूखमा चढेर बाँदर, डेढु, मलसाप्रा, रेडपान्डा, लोखर्के आदिको सिकार गर्छ । 

बिरालो परिवारः क्लाउडेड लिओपार्ड क्याट फेमिली अर्थात् फेलिडी परिवारको वन्यजन्तु हो । संसारभर यो परिवारअन्तर्गत तीन दर्जनभन्दा बढी प्रजाति जनावर अस्तित्वमा छन् । नेपालमा भने क्लाउडेड लिओपार्डसहित १२ प्रकारका प्रजाति छन् । आकारमा ठूलो–सानो भएकाले यो परिवारअन्तर्गतका जनावर दुई उपपरिवारमा विभाजित छ । प्यान्थरिनी उपपरिवारमा प्यान्थेरा र न्युफेलिज गरी जम्मा दुई जाति छन् । प्यान्थेरा जातिअन्तर्गत सिंह, बाघ, जगुआर, चितुवा (कमन लिओपार्ड) र हिमचितुवा समावेश छ । जगुआर यस प्रजातिअन्तर्गत बाघपछिको ठूलो जनावर हो जुन अमेरिकी महादेशमा मात्र पाइन्छ । न्युफेलिजअन्तर्गत पर्ने क्लाउडेड लिओपार्डचाहिँ दक्षिण एसियामा नेपालदेखि मलेसियासम्म पाइन्छ । सुमात्रा र बोर्नियो द्वीपमा यसैको एक अर्को प्रजाति सुन्डा क्लाउडेड लिओपार्ड उद्विकास भएको छ । 

अर्को उपपरिवार फेलिनीअन्तर्गत बिरालो र बिरालाजस्ता एक दर्जन जाति छन् । नेपालमा यो उपपरिवारअन्तर्गत गोल्डेन क्याट, मार्बल क्याट, पल्लास क्याट, जंगल क्याट, फिसिङ क्याट, लियोपार्ड क्याट (चरीबाघ), रस्टी–स्पटेड क्याट र लिंक्स पाइन्छ । लिओपार्ड क्याट र लिंक्स पनि नेपालको संरक्षित वन्यजन्तु हो । यसैगरी, बिरालोजस्तै देखिने लिङसाङ (स्पटेड लिङसाङ) नेपालको एक अर्को संरक्षित वन्यजन्तु हो । तर, यो प्रिनोडोन्टिडी परिवारअन्तर्गतको वन्यजन्तु हो । रस्टी–स्पटेड क्याट अस्तित्व नेपालमा सन् २०१६ मा फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको गतिविधि थाहा पाउन राखेको क्यामेरा ट्र्यापले यसको केही तस्बिर पहिलोपटक नेपालमा खिचेको हो । 

क्लाउडेड लिओपार्डलाई यसरी आय–आर्जनको स्रोत बनाउनुभन्दा वासस्थानमै छाड्न उपयुक्त हुन्छ । किनभने यसको संख्या अत्यन्त कम छ । प्राकृतिक वासस्थानमै रहे यसको संख्या वृद्धि हुन्छ ।

नेपाल अध्ययनः ब्राइन हड्सनले नेपालमा क्लाउडेड लिओपार्ड फेला पारेको जानकारी ‘प्रोसेडिंग्स अफ द जियोलोजिकल सोसाइटी अफ लन्डन, इलस्ट्रेसन्स १८४८–६०’ शीर्षक पुस्तकमा पढ्न पाइन्छ । हड्सनले उसवेला यसलाई विश्वकै नयाँ वन्यजन्तु भन्ठानेर सन् १८४१ मा फेलिज म्याक्रोज्सेलोइड्स नामाकरण गरे । तर, यसको नामाकरण इडवार्ड ग्रिफिथले सन् १८२१ मै फेलिज नेंबुलोसा गरिसकेका थिए । यसकारण, पछिल्लो नामले मान्यता पाएन । माथि फेलिडी परिवारका जन्तुबारे चर्चा गरिएयो । फेरि थोरै चर्चा थपौँ । फेलिडी परिवारअन्तर्गत प्यान्थरिनी उपपरिवारमा ठूला जनावर समावेश छन् । फेलिनी उपपरिवारमा बिरालाजस्ता साना जनावर गोल्डेन क्याट, मार्बल क्याट, जंगल क्याट, फिसिङ क्याट, लिओपार्ड क्याट, (चरीबाघ), रस्टी–स्पटेड क्याट समावेश छन् । यी सबै फेलिज जातिअन्तर्गतका जनावर हुन ।

क्लाउडेड लिओपार्डको आकार फेलिज जातिका जनावरभन्दा निकै ठूलो छ । हेर्दा पनि बिरालोजस्तो नभई चितुवाजस्तो देखिन्छ । यसकारण, वैज्ञानिकहरू यो जनावर फेलिज जातिसँग मिलिरहेको छैन भन्ने बुझाइमा थिए । यसको स्थान सुनिश्चित गर्न जोहन इडवार्डले सन् १८६७ मा फेलिडी परिवारमा एक अर्को नयाँ जाति न्युफेलिज पत्ता लगाए । त्यसपछि इडवार्डले क्लाउडेड लिओपार्डको नयाँ वैज्ञानिक नाम न्युफेलिज नेंबुलोसा नामाकरण गरे । यसको आकृति र स्वभाव प्यान्थेरा जातिका जन्तुसँग मिल्ने भएकाले यसलाई प्यान्थरिनी उपपरिवारमा समाहित गरियो । सन् १८६७ बाट यसको वैज्ञानिक नामाकरण र वर्गीकरणमा संशय हटेको छ । 

‘द फाउना अफ ब्रिटिस इन्डिया : इन्क्लुड्स सिलोन एन्ड बर्मा’ (सन् १९३९) शीर्षक पुस्तकमा उल्लेख भएअनुसार ध्वाँसे चितुवालाई लेप्चा, लिम्बू, भोटे, खस समुदायले क्रमशः पुङमार÷सट्चुक, जिक, कुङ, लाम्चितुवा भन्छन् भन्ने लेखेको छ । ‘इरिक डिनस्टेइन र जेएन मेहताद्वारा लिखित ‘द क्लाउडेड लिओपार्ड इन नेपाल’ (सन् १९९०) शीर्षक लेखअनुसार सन् १९८७ मा १ जोडी क्लाउडेड लिओपार्डको बच्चा जनकपुरनजिकको जंगलमा फेला पारिएको थियो । गाउँलेले माउ मारेका ती बचेरा ललितपुरस्थित जन्तु उद्यानमा लगियो । यसपछिका विवरण भने पाइन्न । सन् १९८८ मा नवलपरासीमा कुखुराको खोरमा एक भाले क्लाउडेड लिओपार्ड पस्दा गाउँलेले झापामा जस्तै घायल बनाए । त्यो उपचारपछि चितवन सौराहा लगियो । 

यादव घिमिरे र राजु आचार्यको जर्नल अफ थ्रेटेन्ड ट्याक्सामा प्रकाशित ‘क्लाउडेड लिओपार्ड नियोफेलिज नेंबुलोसा इन इलिगल वाइल्डलाइफ ट्रेड इन नेपाल’ (डिसेम्वर २०२०) शीर्षक लेखअनुसार अहिलेसम्म नेपालमा यसको तस्बिर चितवन, पर्सा लाङटङ, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसहित अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्र खिचिएको छ । नेपालमा यसको राम्रो तस्बिर खिचिएको छैन भन्ने अवस्था छ । यसको तस्बिर कति महत्वपूर्ण छ भन्ने जानकारी वाइल्डलाइफ फोटोग्राफर चुङबा शेर्पाले यसप्रति दर्साएको मोहलाई नियाल्दा पुग्छ । उनले पुस १२ गते राति १० बजेतिर चितवन सौराहामा रहँदा झापामा क्लाउडेड लिओपार्डलाई घाइते तुल्याइएको छ भन्ने जानकारी पाए । तुरुन्तै होटेलबाट निस्केर उतै गाडी हुुइँक्याए, उज्यालो नहुँदै झापा पुगे । १३ गते जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रका प्रतिनिधिसँग एक सहमति गरेर यसको तस्बिर खिच्न पाए । त्यहाँ भएका सबै वन्यजन्तुको तस्बिर शेर्पाले खिचेर पर्यटकीय क्षेत्रलाई उपलब्ध गराउने सहमति भएको रहेछ । 

निरीह अवस्थाः झापा जिल्ला वन कार्यालय प्रमुख युवराज मास्केले बताएअनुसार जिल्ला वन कार्यालयमा राख्ने उपयुक्त स्थान नभएकाले तत्काललाई जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा क्लाउडेड लिओपार्ड राख्न अनुरोध गरिएको हो । पूर्ण रूपमा स्वस्थ भइसकेपछि यसलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन । मास्केले ललितपुरस्थित केन्द्रीय जन्तु उद्यानमा कुरा भइरहेको जनाए । मास्के भन्छन्, ‘वासस्थानमै छाडौँ, फेरि गाउँलेलाई दुःख देला । यसपालि त सख्त घाइते मात्र भयो । अर्कोपटक मारिन पनि सक्छ ।’ उनी यसबारे बृहत् छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । 

केही वर्षयता पूर्वी नेपालमा फेला परेका घायल वन्यजन्तु जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा राखी आय–आर्जनको स्रोत बनाउने गरिएको छ । त्यहाँ यसरी वन्यजन्तु राख्नुहुन्छ वा हुन्न, सरकारले यसबारे नीति बनाउला । वन्यजन्तुको प्रजातिविशेषका निम्ति त्यो सही ठाउँ हो कि होइन, त्यसमा पनि बहस होला । क्लाउडेड लिओपार्डलाईचाहिँ यसरी आय–आर्जनको स्रोत बनाउनुभन्दा वासस्थानमै छाड्न उपयक्त हुन्छ । किनभने यसको संख्या अत्यन्त कम छ । प्राकृतिक वासस्थानमै रहे यसको संख्या वृद्धि हुन्छ । शान्तराज ज्ञवाली र अरूहरू लिखित ‘द स्टेट्स अफ नेपाल्स म्यामल्स : द नेसनल रेड लिस्ट सेरिज’ (सन् २०११) शीर्षक पुस्तकमा नेपालमा क्लाउडेड लिओपार्ड एक सयजति संख्यामा हुन सक्ने अनुमान छ । 

थप अध्ययनः थाइल्यान्डको एक अध्ययनअनुसार क्लाउडेड लिओपार्डको पोथीले २२ देखि ३९ वर्ग किलोमिटर र भालेले २९ देखि ४९ वर्गकिलोमिटर क्षेत्रमा विचरण गर्छ । यस आधारमा इलाम, झापाका विभिन्न जंगलमा क्लाउडेड लिओपार्डको उपस्थिति हुनुपर्छ । उसो त हिउँदमा जाडो छल्न हिमाली भेगबाट वन्यजन्तु कम उचाइका जंगलमा बसाइँ सर्छन् । यस आधारमा इलाम, पाँचथरको उच्च भूभागमा रहेका क्लाउडेड लिओपार्ड झापासम्म आइपुगेको हुन सक्छ । यो जनावर हिउँदबाहेक वर्षामा देखिन्थ्यो, देखिँदैनथ्यो जानकारी छैन । यो वन्यजन्तु हिउँदमा इलाम र झापा जिल्लाको चुरेक्षेत्रमा विचरण गर्दोरहेछ भन्नेचाहिँ पुष्टि भएको छ । इलामको विशेषगरी चुलाचुली गाउँपालिका, माई नगरपालिका र झापाको शिवशताक्षी, कन्काई र अर्जुनधारा नगरपालिकाको जंगल क्लाउडेड लिओपार्ड विचरण क्षेत्र हुनुपर्छ । 

उल्लेखित ठाउँमा विश्वमै लोपोन्मुख वन्यजन्तु पाउनु एक किसिमले आश्चर्य नै हो । झापाबाट प्रकाशित हुने विद्युतीय पत्रिका न्युजसञ्जाल डटकमका सम्पादक रमेश समदर्शीले बताएअनुसार चुरेक्षेत्रमा पहिले पनि चितुवाले हाँस, कुखुरा खाँदै आएको थियो । उनले केही वर्षअघि गाउँलेले कुखुराको खोरमा पसेको चितुवा मारेको पनि सुनेका थिए । पहिले आउने गरेको चितुवा क्लाउडेड लिओपार्ड नै पो थियो कि ? मारिएको थियो भने, यसको छाला अवश्य पनि कसैले राखेका होलान् । गाउँमा खोजतलास गर्दा स्थानीय बासिन्दाबाट अवश्य पनि यसबारे थप जानकारी बटुल्न सकिन्छ । सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेपछि यसलाई संरक्षण गर्न विशेष ग्राह्यता पनि दिनुपर्छ । यसकारण, सरकारले देशभर क्लाउडेड लिओपार्ड विशेष संरक्षण कार्यक्रम ल्याउन आवश्यक छ । 

सुझावित समाचार