सुपरदोर्दी ‘ख’को साधारण सेयर निष्कासन हुने

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । आयोजनाले प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण लगानीकर्तामा निष्कासन गर्नका लागि सानिमा क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आयोजनाले आफ्नो जारी पुँजी २ अर्ब ७५ करोडमध्ये ८२ करोड ५० लाख रुपैयाँबराबरको १ सय रुपैयाँ अंकित दरका ८२ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ)  निष्कासन गर्ने भएको छ ।

८ अर्ब ८० करोडको स्वदेशी लगानीमा निर्माणाधीन आयोजनाको ७० प्रतिशत काम  सम्पन्न भएको आयोजनाका सञ्चालक तथा निर्देशक अर्जुन गौतमले बताए । ०७२ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको आयोजनामा सानिमा बैँकको अगुवाइमा सातवटा बैंकले लगानी गरेका छन् ।

आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको हो । हिमनदीबाट बग्ने पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६ सय ४० मिटर रहनेछ । यसले वार्षिक ३१ करोड ५० लाख युनिटभन्दा बढी विद्युत् उत्पादन गर्ने जनाइएको छ । दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेको यो आयोजना मध्यमस्र्याङ्दीपछिको दोस्रो ठूलो आयोजना हो । आयोजना निर्माण थाल्दा ४९ दशमलव ६ मेगावाट भनिए पनि हाल त्यो बढेर ५४ मेगावाट पुगेको छ । 

सुझावित समाचार