महासंघले ५० स्टार्टअपलाई पुँजी जुटाइदिने

बिहिबार, ८ माघ, २०७७
डिजिटल संस्करण

नवीन सोचमा आधारित उद्यम गर्न चाहने ५० वटा स्टार्टअपलाई उद्योग वाणिज्य महासंघले पुँजी जुटाइदिने निर्णय गरेको छ । सुरुवाती पुँजी महासंघको स्टार्टअप समितिअन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत जुटाइनेछ । महासंघका कार्यकारिणी सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्टअप एन्ड इनोभेसन समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण  हिस्सा साना तथा मझौला उद्यम व्यवसाय भएको बताउँदै कामका लागि बाहिरने युवा शक्तिलाई पर्याप्त रोजगारी सिर्जना गरी मुलुकभित्रै युवा शक्तिलाई राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको बताए ।

उनले भने, ‘युवा जनशक्तिको बाहुल्य रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी मुलुकबीचमा रहनु नै हाम्रो समृद्धिको बलिया आधार भएकाले हामीसँग भएका अथाह सम्भाव्यताबाट वास्तविक रूपमै फाइदा उठाउनुपर्छ ।’ यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य आवश्यक रहेको पनि उनले बताए । 

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा धेरै चुनौती थपिएकाले मुलुकभित्र रोजगारी सिर्जना, कामका लागि बाहिरनुपर्ने बाध्यताको अन्त्य, पढेलेखेको युवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ सबैको जोड हुनुपर्ने बताए । 

 ‘स्टार्टअप एन्ड इनोभेसनले समितिले पायो पूर्णता
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्टअप एन्ड इनोभेसन समितिले पूर्णता पाएको छ । समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य तथा सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दीपेन्द्र चौलागाईं, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार चयन भएका छन् ।

महासंघ सचिवालयका अनुसार समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ सोनर गोम्सर र कविराज जोशी चयन भएका छन् । यस्तै, सल्लाहकारमा ओम राजभण्डारी, सौरभ ज्योति र अनिल चित्रकार चयन भएका छन् । बुधबार एक कार्यक्रमबीच अध्यक्ष शेखर गोल्छाले समितिमा चयन भएका सदस्यहरूलाई औपचारिकपत्र हस्तान्तरण गरे ।
 

See More On

सुझावित समाचार