गुटको स्वार्थका लागि संसद् विघटन गर्नु लज्जास्पद : नेतृ यमी

बुधबार, ७ माघ, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)की नेतृ तथा पूर्वमन्त्री हिसिला यमीले एउटा पार्टीभित्रको पनि गुटको स्वार्थ रक्षाका लागि संसद् विघटन गर्नु लज्जास्पद कदम भएको बताएकी छिन् ।

संसद् विघटनविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोध जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै यमीले भनिन्, ‘प्रधानमन्त्रीको संसद् विघटनको सिफारिस असंवैधानिक, प्रतिगामी मात्र नभई अहिलेसम्मका सम्पूर्ण क्रान्ति र परिवर्तनका विरुद्ध छ । आफू र आफ्नो गुटको स्वार्थ रक्षार्थ यो हदमा जानु लज्जास्पद विषय हो । जनक्रान्तिका लागि लडेका सहिदहरूको अपमानसमेत हो ।’

संसद्को विशेष अधिवेशनको राजनीतिक महत्व भए पनि कानुनी वैधता पाउन कठिन हुने उनको तर्क थियो । ‘विशेष अधिवेशन आह्वानको पूर्वप्रयास र प्रयत्नलाई प्रचण्ड–नेपालहरूले मोलतोलमा फिर्ता गर्नुहुन्थेन,’ उनले भनिन्, ‘त्यो विशेष अधिवेशनले प्रधानमन्त्रीलाई हटाइनेभन्दा अध्यादेश बहस गर्न ल्याउने थियो । उस्तैपरे सहमतिमा हाउसले फिर्ता लिन सक्थ्यो ।’

उक्त प्रस्ताव राजनीतिक लेनदेन र मोलतोलमा फिर्ता लिएर प्रचण्ड र नेपालले गल्ती गरेको उनको टिप्पणी थियो । ‘यसले राजनीतिक दुर्घटनालाई प्रकारान्तरले बल पुर्याइदियो भन्ने हाम्रो विश्लेषण छ,’ उनले भनिन् ।

संसद् विघटन गर्न अहिलेको संविधानमा कुनै पनि व्यवस्था नरहेको उनको तर्क थियो ।

विरोध सभामा जसपाका नेताहरू ईश्वर रिजाल, मनरत्न शाक्य, श्याम प्रजापतिलगायतले सम्बोधन गरेका थिए ।

सुझावित समाचार