स्रोत नखुलेको नौ लाख ३९ हजार रुपैयाँसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बरियारपट्टी–२ खोक्सीका ४० वर्षीय मोहम्मद सगिर मियाँ र २४ वर्षीय मेहदी मंसुर छन् ।
एक साताभित्रै सीमा क्षेत्रबाट स्रोत नखुलेको लाखौँ रुपैयाँ नेपाली नोट बरामद भएको यो दोस्रोपटक हो । गोप्य सूचनाका आधारमा कचनारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शालिग्राम शर्माले जानकारी दिए । चेकजाँचका क्रममा स्रोत नखुलेको नौ लाख ३९ हजार नौ सय १५ हजार नेपाली रुपैयाँ बरामद गरिएको डिएसपी शर्माले बताए ।
डिएसपी शर्माका अनुसार दुवैजना सीमावर्ती भारतीय बजार लदनियाँबाट स.८प ९६१४ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै थिए । दुवैलाई इलाका प्रहरी कार्यालय महेशबारीमा राखिएको छ । बिहीबार थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुर पठाइने प्रवक्ता शर्माले जानकारी दिए ।
एक सातामै दोस्रो घटना
यसअघि गत शनिबार राति सिराहाको दक्षिणी सीमावर्ती सिराहा नगरपालिका–२१ लगडीगोठबाट स्रोत नखुलेको रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतीय बजार जोगियाबाट आउँदै गरेका सिराहा नगरपालिका–२२ घर भई सिराहा नगरपालिका–७ मा बस्दै आएका ४३ वर्षीय शिवनाथ यादव थिए । उनीहरूको साथबाट स्रोत नखुलेको पाँच सय र एक हजार दरका ३१ लाख ८९ हजार रुपैयाँ नेपाली नोट बरामद भएको थियो ।
सीमा क्षेत्रमा तस्करी बढ्यो
भारतीय बजारमा सुन र सटहीको कारोबार गर्नेहरूले नेपाली रुपैयाँ नेपाल पठाउन जिल्लाका विभिन्न ग्रामीण रुटको प्रयोग गर्दै आएको पछिल्ला दुई घटनाले देखाएको छ । भारतीय बजारमा एक हजार नेपाली रुपैयाँ ६ सय १० रुपैयाँ भारुमा सटही गरिन्छ । सटही गरेबापत कारोबारीले एक हजारमा भारु १५ रुपैयाँ (२४ रुपैयाँ नेपाली) कमिसन लिने गरेका छन् । त्यससँगै सुन तस्करले सीमा क्षेत्र हुँदै नेपाली र भारतीय नोटको ओसारपसार गर्दै आएको प्रहरी अधिकारीहरूको भनाइ छ ।