नहर निर्माणमा भन्दा मर्मतमा दोब्बर खर्च, तैपनि आएन पानी

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण
नहर निर्माणमा भन्दा मर्मतमा दोब्बर खर्च, तैपनि आएन पानी

तल्लो किस्नी खोला सिँचाइ आयोजनाअन्तर्गत गौरादह–८ मा बिग्रिएको नहर । एक दशकदेखि नहर भत्किँदा किसानले सिँचाइ गर्न पाएका छैनन् ।

झापाको एक सिँचाइ आयोजनाका लागि निर्माणमा भन्दा मर्मतमा दोब्बर खर्च लागेको छ । तैपनि एक दशकदेखि नहरमा पानी आएको छैन । पानी नआउँदा किसान बोरिङको सहारा लिन बाध्य हुँदै आएका छन् । गौरीगन्ज र गौरादहको खेतीयोग्य जमिन सिँचाइका लागि निर्माण गरिएको तल्लो किस्नी खोला सिँचाइ आयोजनामा यस्तो भएको हो ।

करिब साढे चार करोड रुपैयाँमा निर्माण सम्पन्न भएको सो आयोजना पुनर्निर्माणमा नौ करोडभन्दा बढी खर्च लागिसकेको छ । तैपनि नहर अझै सञ्चालनमा आउन सकेको छैन । चालू आर्थिक वर्षमा अझै करिब सात करोड रुपैयाँ खर्च गर्ने तयारी गरिएको छ । आयोजना सञ्चालन भएको केही वर्षमै नहरमा पानी आउन छाडेको हो । सिञ्चित क्षेत्रफलको आधारमा झापाको तेस्रो ठूलो सिँचाइका रूपमा रहेको यो आयोजना त्यसयता अलपत्र छ । 

गौरादहको केही भाग र गौरीगन्जको ३ र ४ नम्बर वडा क्षेत्रको १५ सय हेक्टर जमिन सिँचाइका लागि ०५७ सालमा सिँचाइ आयोजनाको निर्माण सुरु गरिएको थियो । चार करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएको सिँचाइ आयोजना ०५९ देखि सञ्चालनमा आएको थियो । तर, सञ्चालनमा आएको पाँच वर्षमै नहर बिग्रियो । त्यसवेलादेखि बिग्रिएको नहरमा अझै पानी नआएको तल्लो किस्नी खोला सिँचाइ तथा जल उपभोक्ता समितिका अध्यक्ष घनश्याम रिजालले जानकारी दिए । ‘नहरको प्रतीक्षामा किसानले एक दशक बिताएका छन्’, रिजालले भने, ‘तर, अहिलेसम्म पानी आएको छैन ।’ 

आगामी वर्ष सात करोड खर्च गरिँदै
नहर बिग्रिएको एक दशकपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय झापाले नहर मर्मतका लागि चासो देखाएको छ । नहर निर्माणमा भन्दा बढी मर्मतमा खर्च गर्दा पनि अझैसम्म नहर सञ्चालनमा भने आउन सकेको छैन । डिभिजन प्रमुख कृष्ण राजवंशीका अनुसार नहर पुनर्निर्माणका लागि गत वर्ष ६ करोड रुपैयाँ खर्च भएको थियो । सो बजेटले खोलामा बाँध बाँध्ने काम मात्र भएको राजवंशीले जानकारी दिए । 

नहर सञ्चालनका लागि अझै सात करोड रुपैयाँ बजेट लाग्ने उनले बताए । त्यसका लागि प्रदेश सरकारले बजेट स्वीकृत गरिसकेको उनको भनाइ छ । ‘लामो सयम बन्द रहेको नहर सञ्चालनका लागि हामीले काम गरिरहेका छौँ । गत साल बाँधको काम गर्यौँ । अझै काम गर्न बाँकी छ,’ उनले भने, ‘यो वर्षको बजेट स्वीकृत भएको छ । अब कभर क्यान, बाँध, नहर सफाइ, पानी बाँडफाँडको संरचना पुनर्निर्माणलगायतको काम गर्नुपर्नेछ । आगामी वैशाखदेखि पानी सञ्चालन गर्ने योजना छ ।’ 

आयोजना नबन्दा किसानलाई समस्या
कृषकको सुविधाका लागि बनाइएको नहर केही वर्ष चलेर बन्द हुँदा कृषक मारमा परेका छन् । गौरादहको केही क्षेत्र र गौरीगन्जका किसानलाई हिउँद महिनामा खेती गर्न समस्या हुने गरेको छ । बर्खे खेती आकासे पानीका भरमा गरिने भए पनि हिउँदे खेतीका लागि किसानलाई समस्या हुने गरेको हो । ‘किसानको समस्याको त कुरै नगरौँ । केही वर्ष नहरले आस देखायो, त्यसपछि निराश बनाएको छ ।

हिउँदे खेतीका लागि सिँचाइ गर्न पानी हुँदैन’, उपभोक्ता समितिका अध्यक्ष रिजालले भने, ‘कहिले पानी आउँछ र आनन्दले खेती गरौँ भन्ने भएको छ । अहिले त दुःखले खेती गर्दैै आएका छौँ ।’ केही कृषकले घरमै बोरिङ राखेर खेती गर्दै आएका छन् । अधियाँमा खेती गर्नेलाई भने समस्या भएको गौरीगन्ज–३ का किसान घनश्याम राजवंशी बताउँछन् ।

‘किसान त जतै पनि मर्ने नै हुन् । खेती गर्यो दाम पाइँदैन । समयमा मल पाइँदैन । भएको सिँचाइ पनि भत्कियो । नहर मात्र छ । पानी आउँदैन’, उनले भने, ‘मोटर किन्नुपर्छ । मोटर चलाउँदा बिजुलीको बिल उस्तै उठ्छ । गरिबले त मोटर पनि किन्न सक्दैनन् । अर्काको खेती अधियाँ गरेर खानेले के गर्ने ?’

See More On

सुझावित समाचार