तेल चोरीको घटना अनुसन्धान गर्न सिआइबीद्वारा निगमका कर्मचारी पक्राउ

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल आयल निगमको वीरगन्जस्थित शाखा कार्यालयका अधिकृत रञ्जित काप्रीलाई नियन्त्रणमा लिएको छ । दुईवटा ट्यांकरमा फल्स चेम्बर राखेर तेल चोरी गरेको विषयमा अनुसन्धान गर्न सिआइबीले काप्रीलाई ६ दिनअघि नियन्त्रणमा लिएको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । उनले भने, ‘सिआइबीले तेल चोरीका विषयमा गहन अध्ययन गरिरहेको छ । त्यसक्रममा वीरगन्जस्थित शाखा कार्यालयका कर्मचारी काप्रीलाई नियन्त्रणमा राखेको जानकारी पाएको छु ।’  

सिआइबीको नियन्त्रणमा रहेका काप्री ट्यांकरको क्यालिब्रेसन (नापचाँज) सम्बन्धी काममा खटिएका थिए । फल्स च्याम्बर राखेर तेल चोरी गरेको पुष्टि भएपछि समातिएको ना७ख ३६९६ र ना७ख २९९५ नम्बरको ट्यांकर क्यालिब्रेसन गर्दा नापजाँच ठीक रहेको भन्दै निगमका तर्फबाट हस्ताक्षर गर्ने प्रतिनिधिका रूपमा उनी खटिएका थिए ।

दुवै ट्यांकरले च्याम्बरको भित्री भागमा सानो नयाँ ट्यांकी (फल्स चेम्बर) बनाई करिब १–१ हजार लिटर पेट्रोल चोरी गरेको घटना बाहिर आएको थियो । सिआइबीले यसअघि दुवै ट्यांकरका चालकद्वय सहोदर दाजुभाइ विकेश लामा र अजय लामालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ट्यांकरका चालक र क्यालिबे्रसनमा प्रत्यक्ष जोडिएका कर्मचारी समातिएपछि घटनाको वास्तविक दोषी पत्ता लाग्ने सिआइबीको विश्वास छ ।

 अनुसन्धान प्रभावित पार्न दौडधुप
विभागीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमति लिएर आयल निगमले नै घटनाबारे सूक्ष्म अध्ययन गर्न सिआइबीलाई पत्राचार गरेको थियो । निगमको पत्राचारलगत्तै सिआइबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा कर्मचारीहरू समातिन थालेपछि भने निगम व्यवस्थापन अतालिन थालेको छ ।

स्रोतका अनुसार बिहीबार दिउँसो प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, प्रबन्धक नवविनोद पोखरेल र कर्मचारी ट्रेड युनियनका अध्यक्षद्वय गोपालचन्द्र राई र विकास बखतीले भेट गरेका थिए । उनीहरूले भेटमा पेट्रोलपम्पलाई आधुनिक र अटोमेसनमा लैजाने योजना बनाएकाले प्रहरीको पम्पबाट सुरुवात गर्न आग्रह गरेका थिए । चालक र ढुवानी व्यवसायीलाई दोष देखाएर कारबाही गर्ने मनसाय राखेको निगम व्यवस्थापन कर्मचारीसमेत छानबिनमा तानिएपछि अतालिन थालेको स्रोतको भनाइ छ ।

यसअघि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरा, महासचिव विश्व अर्याललगायतको टोलीले उद्योगमन्त्री लेखराज भट्टलाई भेटेर सिआइबीको छानबिन रोक्न दबाब दिएका थिए । यता सिआइबीले भने राजमार्गमा चल्ने ट्यांकरहरूमा लिफ्ट माग्दै घटनाबारे अनुसन्धान गरिरहेको छ ।

‘चितवन, धादिङ, अमलेखगन्जलगायत राजमार्गमा सिआइबीहरू बस्ने र त्यहाँ आएका तेलका ट्यांकरमा चढेर काठमाडौं आउने गरेका छन् । यात्राका क्रममा चालक र सहचालकसँग तेल चोरीका विषयमा कुरा गर्ने र जुन चालक तथा सहचालकले चोरीका विषयमा धेरै कुरा जानेको जस्तो गरे बताउँछन्, उनीहरूबाट थप कुरा थुत्नका लागि समातेर नै लैजाने गरेका पनि छन् ।

 यस्तो थियो घटना
४ मंसिरमा भारतीय आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल बोकेर आएका दुईवटा ट्यांकर ना७ख ३६९६ र ना७ख २९९५ मा फल्स चेम्बर राखेर तेल चोरी भएको पत्ता लागेको थियो । दुवै ट्यांकरको ३ नम्बर चेम्बरसँग जोडिएर सानो ट्यांकी स्थायी रूपमा फिटिङ गरिएको छ ।

फिटिङ गरेको नयाँ चेम्बरमा तेल राख्ने, तर निगमको डिपोमा अनलोड गर्दा सो चेम्बरको तेल नखस्ने गरी डिजाइन गरिएको छ । यस्तो तेलको डिप रडले नाप लिँदा पनि सही परिमाण देखाउने गरेको छ । दुवै ट्यांकरको नाप लिँदा सही आउने, तर तेल खन्याउँदा पूरा नआउने भएपछि शंका लागेर निगमको थानकोट डिपो प्रमुख प्रदीप यादवले सुराकी खटाएका थिए । ‘सुरुमा सुन्दा त मलाई पनि पत्यार लागेन । तर, पछि दुवै ट्यांकरलाई एकैपटक समातेर छानबिन गर्दा फल्स चेम्बर नै राखी तेल चोरी हुने गरेको घटना देखियो,’ यादवले भने । चोरी घटना पत्ता लाग्नासाथ यादवले दुवै ट्यांकरलाई १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णयसमेत गरेका थिए । 

पेट्रोलियम पाइपलाइन  हरेक दिन सञ्चालन गरिने
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट हरेक दिन सञ्चालन गर्ने तयारी नेपाल आयल निगमले गरेको छ । अहिले सो पाइपलाइनबाट साताको तीन दिन मात्रै डिजेल आपूर्ति हुँदै आएको छ ।

नेपाल आयल निगमको आइतबार सम्पन्न ५१औँ वार्षिकोत्सवमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पूर्वाधारका क्षेत्रमा भएका कामलाई निरन्तरता दिएर टुंगोमा पुर्याउने बताए । उनका अनुसार डेढ वर्षअघिबाट सञ्चालनमा आएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट चाँडै पेट्रोलसमेत आयात गरिनेछ । त्यसपछि साताभर नै पाइपलाइन सञ्चालन गरी अधिकतम लाभ लिन सकिने पौडेलले बताए ।

त्यस्तै, अमलेखगन्जमा पाइपलाइनको दोस्रो चरणअन्तर्गत पेट्रोलको भण्डारणगृह, डिपो विस्तार गरी लोड–अनलोड सेड स्थानान्तरणलगायतका काम अघि बढाइने उनले बताए ।

पूर्व झापामा पेट्रोलियम तथा ग्यास भण्डारण, धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण, चितवनको लोथरमा सबैभन्दा ठूलो क्षमताको पेट्रोलियम भण्डारणगृह निर्माण, पोखरामा भर्टिकल ट्यांक निर्माण, पोखरा र भैरहवाको विमानस्थलमा हवाई इन्धन भण्डारणगृह निर्माणदेखि नेपालगन्जमा नमुना पेट्रोलपम्प बनाउने काम अघि बढाइएको उनले जानकारी दिए ।  कैलालीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि जग्गाको पहिचान गर्ने काम अघि बढाइरहेको उनले बताए ।

पछिल्लो दुई वर्षमा इन्धन अभाव हुन नदिएको बताउँदै उनले उपभोक्तामुखी सेवालाई प्राथमिकता दिएको बताए । विश्वले अँगालेको नवीन प्रविधिको हाइड्रोजन इन्धन उत्पादनका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको पनि उनले जानकारी दिए । त्यस्तै, इन्धन चुहावटमा संलग्नलाई कारबाही गरी पछिल्लो समय इन्धन चुहावट लक्षित नोक्सानी दरभन्दा तल नै राख्न सफल भएको उनले दाबी गरे । उनले तेल बोक्ने ट्यांक, ट्रकमा मेकानिकल लक लगाई चोरी घटनालाई कम गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भर्चुअल सम्बोधन गर्दै राष्ट्रको हितलाई ध्यानमा राखेर पेट्रोलियम कारोबार गर्न निर्देशन दिए । उनले पेट्रोलियम पूर्वाधार निर्माणका क्षेत्रमा अघि बढाएको परियोजना कार्यान्वयन गर्न सबै कर्मचारी अनुशासित भएर खट्न सुझाब दिएका थिए ।

‘आयल निगमले पेट्रोलियम पदार्थको निरन्तर आपूर्ति गरेर देश विकासका लागि बनेका ठूला र गौरवका आयोजना निर्माणमा ठूलो सहयोग गरेको छ,’ उनले भने । कार्यक्रममा निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले पेट्रोलियम पदार्थको गुणस्तरलाई ध्यान दिएर कारोबार गरिरहेको बताए । उनले निगमको डिपो सुधार गर्ने र भण्डारण क्षमता वृद्धि गर्ने काममा अघि बढेको बताए । ‘कोभिड–१९ का वेला अचानक लकडाउन भएको समयमा पनि खाना पकाउने ग्यासलगायतको आपूर्तिमा हामीले सहजता दिलाउन सक्यौँ, यसलाई उपलब्धि मानेका छौँ,’ उनले भने ।

पेट्रोलियम पदार्थमा चर्को नाफा राखेर अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्ने गरेको आरोपलाई उनले बचाउ गरेका छन् । ‘पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि सुरु गरेको स्वचालित मूल्य प्रणालीले राम्रो काम गरेको मैले महसुस गरेको छु,’ उनले भने । आपूर्ति व्यवस्था थप सहज बनाउन आयल निगम आफैँले ग्यासको कारोबार गर्न लागेको उनले बताए । सरकारको नीति तथा कार्यक्रममा समावेश भएका पेट्रोलियम पूर्वाधारसम्बन्धी सबै काम अघि बढाएको उनले जानकारी दिए ।

 समयअगावै पाइपलाइन निर्माण टुंग्याउने यादव पुरस्कृत
आयल निगमले ५१औँ वार्षिकोत्सवमा सबैभन्दा महत्वपूर्ण ‘सुवर्णशमशेर पुरस्कार’बाट इन्जिनियर प्रदीप यादवलाई सम्मान गरेको छ । उनले निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा रहेर मोतीहारी–अमलखेगन्ज पेट्रोलियम पाइपलाइन समयअगावै निर्माण टुंगो लगाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

निर्माण अवधि ३० महिना रहेको पाइपलाइन परियोजना १८ महिनामै टुंग्याइएको थियो । पाइपलाइनबाट डेढ वर्षयता निर्वाध रूपमा डिजेल आयात भइरहेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइपलाइन परियोजना निर्माणमा देखाएको कुशलताको मूल्यांकन गर्दै यादवलाई सम्मान गरेको बताए । यादव हाल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुखका रूपमा कार्यरत छन् । यहाँ रहँदा पनि पछिल्लो एक वर्षमा उनले डिपो सुदृढीकरणमा महŒवपूर्ण भूमिका खेलेको पौडेलले बताए । 

सुझावित समाचार