ओली बाठो स्याल बन्न खोजे, स्यालसँग शेरले धोका खाने दिन गए : नेपाल

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बाठो स्यालको संज्ञा  दिएका छन् ।

नेकपा प्रचण्ड-नेपाल समूहले आइतबार बिहान जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले शेर र स्यालको कहानीजस्तै प्रधानमन्त्री ओलीले आफूलाई बाठो स्याल ठानेको बताए । 

नेता नेपालले विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गिरिजाप्रसाद कोइराला र आफूलाई छुट्टै प्रलोभन देखाएर निरंकुश शासन व्यवस्था टिकाउ खोजेको स्मरण गर्दै उनले भने, ‘तर, स्यालसँग शेरले धोका खाने दिन गए ।’

ओलीले चालेका प्रतिगामी कदमविरुद्ध आन्दोलनको आँधीबहेरी ल्याएर मदन भण्डारी फाउन्डेसन गुटलाई सफाया गर्नुपर्ने उनले बताए । ‘प्रचण्ड, वामदेव गौतम र मलाईलाई अलग्याउन प्रधानमन्त्री ओलीले पटक–पटक झुटाे आश्वासन र प्रलोभन देखाए,’ उनले भने, ‘तर, तीनैजना एक ठाउँमा बसेर कुरा गरेपछि मात्रै ओलीको व्यवहारको भण्डाफोर भयो ।’ 

उनले संविधानलाई कुल्चने, लोकतन्त्र, गणतन्त्र, संघीयता,  समावेशीकरण, कम्युनिस्ट सिद्धान्तलाई  समाप्त गर्ने काम जनताले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।

सुझावित समाचार