बेलायतले जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगरे पनि जेलमै राख्ने

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

सन् २०१० मा अमेरिकाको गोप्य सूचना सार्वजनिक गरेपछि विश्वभर चर्चामा आएका विकिलिक्सका सञ्चालक जुलियन असान्ज अझै बेलायतकै जेलमा रहने भएका छन् । पछिल्लो समय अमेरिकाले उनलाई फिर्ता ल्याएर कारबाही अघि बढाउने तयारीसहित कानुनी प्रक्रिया सुरु गरेको थियो । 

यद्यपि, उक्त प्रयासमा बेलायतको एक अदालतले असान्जलाई अमेरिका फर्काउनु सुरक्षित नरहेको निर्णय सुनाएको छ । वेस्टमिस्टर म्याजिस्ट्रेट कोर्टका न्यायाधीश भेनेस्सा बारइटसरको यो निर्णयसँगै उनी अझै बेलायतको जेलमै रहने भएका हुन् । 

असान्जले जेलमै आफूलाई सुरक्षित महसुस गरेका छन् । सन् २००६ मा अमेरिकामा विकिलिक्सको सुरु गरेका अस्टे«लियन नागरिक असान्जले अमेरिकाको धेरै गोप्य सूचना बाहिर ल्याएका थिए । उनले अमेरिकी सेनामार्फत पाएको आधिकारिक गोप्य सूचनाहरू सार्वजनिक गरेका थिए । त्यससँगै अमेरिकाले थप कारबाहीका लागि उनलाई फिर्ता ल्याउने प्रयास गरिरहेको छ । यद्यपि, त्यसमा सफलता मिलेको छैन । अमेरिकासँगै अरू केही देशले पनि आफूलाई पक्राउ पुर्जी जारी गरेपछि असान्जले लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका थिए । 

इक्वेडरले आफ्नो दूतावासमा शरणार्थीको रूपमा उनलाई बस्न दिएको थियो । यद्यपि, केही समयपछि इक्वेडरका अधिकारीहरूले नै प्रहरीलाई बोलाएर जिम्मा लगाएका थिए । त्यससँगै उनी बेलायतको जेलमा छन् । 

न्यायाधीश बारइटसरले उनलाई अमेरिका फर्काइँदा उनी आफैँले आफैँलाई मार्न सक्ने सम्भावना देखिएको तर्क गरेकी छिन् । अमेरिकाले बेलायती अदालतको यो निर्णयविरुद्ध पुनरावेदन गर्ने भएको छ । आफ्नोबारेको मुद्दाको सुनुवाइका लागि कालो सुट र मास्क लगाएर अदालतमा उपस्थित भएका असान्जले भने कुनै पनि प्रतिक्रिया दिन मानेनन् ।

उनी सन् २०१९ देखि बेलायतको जेलमा छन् । त्यसअघि उनी सात वर्ष लन्डनस्थित इक्वेडरको दूतावासमा शरणार्थीको रूपमा बसेका थिए । अमेरिकाले असान्जलाई आफ्नो अतिगोप्य सूचनाहरू ‘ह्याक’ गरेको र तीनलाई सार्वजनिक गरेको आरोपमा देशमै फर्काएर अनुसन्धान र कारबाही गर्ने तयारी गरेको छ ।

असान्जका वकिल इद फिजल्यान्डले उनलाई आफ्ना समर्थकहरूले बेलायतमै बस्ने व्यवस्था गरिदिने प्रस्ताव गरेका थिए । फिजल्यान्डका अनुसार समर्थकहरूले असान्जलाई लन्डनमा एउटा घरको व्यवस्था गरिदिने, जहाँ उनी आफ्नी श्रीमती र नानीहरूसँगै गोप्य रूपमा बस्न सक्ने भनेका थिए । 

अदालतले जेलमै बस्ने निर्णय सुनाएपछि असान्जले पनि राहत महसुस गरेको वकिल फिजल्यान्डले बताएका छन् । ‘तपार्इंको निर्णयले सबै कुरा परिवर्तन गरिदिएको छ । यो निर्णयपछि कुनै फरक कदम उठाउने सम्भावना रहेन,’ उनले भनेका छन् ।
 

सुझावित समाचार