जिल्लाका १२ स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाको वार्षिक बजेट सबैभन्दा कम छ । हरेक आर्थिक वर्षको सरकारी बजेट कम भए पनि काममा भने हेलम्बुले उदाहरण नै प्रस्तुत गर्ने गर्छ । यहाँको आन्तरिक स्रोत पनि न्यून छ ।
प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक पुरातत्त्व र अल्पसंख्यक ह्योल्मो समुदायको बसोवास रहेको हेलम्बु स्याउका लागि प्रख्यात छ । पर्यटन क्षेत्रमा भारी सम्भावना बोकेर बसेको हेलम्बुको प्रवर्द्धनका लागि गाउँपालिकाले दर्जन योजना अगाडि सारेको छ । तर, खर्च भने निकै नै कम । सबै योजनामा गाउँपालिकाले अगुवाइ गरेको छ । निजी क्षेत्रले जुटाएको खर्चले योजना अघि बढ्दै छन् ।

गत हप्ता आरोही सतीशमान पति, पासाङ भोटे र जितबहादुर तामाङले हेलम्बुको बेमथाङ पिक हिमाल चढे । गाउँपालिकाले आरोहणका लागि रु. एक लाख सहायता गरेको थियो । हेलम्बु क्षेत्र गुरु रिम्पोछे र मिलारेपाको तपोभूमिका रूपमा पनि चर्चित छ । पाँच हजारदेखि ६ हजार तीन सय मिटर उचाइसम्मको नौ मनमोहक हिमाल भएकाले गाउँपालिकाले यहाँ हिमाल आरोहण तालिम केन्द्र स्थापना गरेको छ । हिउँमा खेलिने साहसिक खेल स्किङ रिसोर्ट तालिम केन्द्र पनि स्थापना गरिएको छ ।
घोप्टेघ्याङबाट आमायाङ्ग्रीसम्म ६० किलोमिटर लामो हेलम्बु ग्रेट ट्रेलको निर्माण कार्य जारी छ । पाँच सय ६७ फिट गहिराइमा तीन सय मिटर लामो पुल निर्माण गरेर बहुप्रतिक्षित मेलम्ची खानेपानीको मुहान क्षेत्र अम्बाथाङमा बन्जी जम्पको काम तीव्र गतिमा भइरहेको छ ।
हेलम्बु ग्रेट ट्रेललगायत दर्जन बढी पर्यटन योजनाका लागि गाउँपालिकाले न्यूनतम खर्च गरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘सरकारी बजेट कम छ र आन्तरिक स्रोत पनि छैन,’ निजी क्षेत्रलाई गुहार मागेर योजना अघि बढेको बताउँदै उनले भने, ‘योजना हेरेर प्रदेश र संघीय सरकारले बजेटको व्यवस्था गर्ला भन्ने हाम्रो विश्वास छ ।’

घोप्टेघ्याङमा प्याराग्लाइडिङ, तिम्बु र अम्बाथाङमा क्यानोनिङको सुरुवात गरिएको उनले सुनाए । भूकम्पपछि यो वर्ष पर्यटकीय क्षेत्र हेलम्बुमा बाह्य तथा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । हेलम्बु धार्मिक तथा पुरातात्त्विक महत्त्वकाे क्षेत्र हो । यहाँ ६० गुम्बा र १० मन्दिर छन् । तीन सय वर्षभन्दा बढी पुरानो चिरीगुम्बा, मेलम्चीघ्याङ, तार्केघ्याङ र सेर्माथाङमा आठदेखि १५ करोडसम्मको लागतमा गुम्बाको पुनर्निर्माण हुँदै छ ।
भारत सरकारको सहयोगमा हेलम्बुमा मात्रै चार गुम्बा निर्माणाधीन छन् । हेलम्बुबाट ४५ सय मिटरमा रहेको गन्जलापास भएर लाङटाङको ग्याङ्जेन गुम्बा र सेमिसिदाङबाट लाङटाङ हुँदै ४९ सय ५० मिटर उचाइमा रहेको च्यादाङ भञ्ज्याङ निस्कने पर्यटक पदमार्ग निर्माण पनि सुरु गरिएको छ । विनाबजेट यति धेरै महत्त्वाकांक्षी योजना घोषणा र सुरुवात गरेर हेलम्बुले नमुना नै प्रस्तुत गरेको छ ।