कांग्रेस सभापति पौडेलले मानवसेवा आश्रमलाई वार्षिक एक लाख सहयोग गर्ने

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले मानवसेवा आश्रमलाई वार्षिक एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । बेसीशहरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्ला सभापति पौडेलले मानवसेवा आश्रम लमजुङलाई वार्षिक एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

 मानवसेवा आश्रम लमजुङद्धारा सडक मानवको उद्धारका निम्ति ‘मेची–महाकाली यात्राको’ टोलीको स्वागत कार्यक्रममा सभापति पौैडेलले आफुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने बताएका हुन् ।

उनले भने बेसहारा व्यक्तिलाई सहारा दिँदै आएको आश्रमको कार्यलाई उच्च सम्मान गर्दै मानवीय सेवालाई थप सहज बनाउन वार्षिक एक लाख सहयोग गर्नेछु । ०७३ चैत १२ गते स्थापना भएको यस आश्रमले जिल्लालाई छिट्टै बेवारिसे सडक मानव मुक्त जिल्ला बनाउने अभियानमा लागेको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् ।

 पुस ७ गतेदेखि सुुरु भएको मेची महाकाली अभियान अन्तर्गत लमजुङ आएको टोलीले सोमबार जिल्लाको विभिन्न स्थानबाट चार जना बेवारिसेको उद्धार गरेको छ ।

टोलीले बेसीशहर शेराबाट दुई जना, चिप्लेटीबाट एक र सुन्दरबजार नगरपालिका ९ भोटेओडार बँगैचाबाट एक जनाको उद्धार गरेको हो । उद्धार गरिएका चारै जनालाई मानवसेवा आश्रम लमजुङमा राखिएको छ । हाल आश्रममा १० जना महिला, १३ जना पुरुष र पाँच जना बालबालिका गरी २८ जनाले आश्रय लिइरहेका छन् ।  

सुझावित समाचार