कोरोनाको महामारी नहुँदो हो त यो अंग्रेजी नयाँ वर्षमा लुम्बिनीका होटेल खचाखच भरिन्थे । बजारमा बेग्लै रौनक छाउँथ्यो । व्यापार–व्यवसाय त्यही किसिमले फस्टाउँथ्यो।
अहिले लुम्बिनी र आसपासको बजारमा चहलपहल छैन । लुम्बिनीका होटेल खुले पनि १५ प्रतिशतमा सञ्चालनमा रहेको लुम्बिनी होटेल संघ नेपाल लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले बताए ।
लामो समय होटेल बन्द गरेर बसेका व्यवसायीहरूका लागि यही पनि सान्त्वना भएको श्रेष्ठले बताए । उनले भने, ‘कम्तीमा होटेल खोलेर बस्ने अवस्था सिर्जना भएको छ ।’
लुम्बिनीमा साना–ठूला गरेर ९६ वटा होटेल सञ्चालनमा छन् । ती होटेलहरूले एक दिनमा चार हजार पाँच सयजनालाई सेवा दिन सक्छन् । भारतीय र तेस्रो मुलुकका पर्यटक नआएका कारण होटेलहरू पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनी आउने आन्तरिक पर्यटक दिनभर घुम्ने र साँझ घर फर्किने हुँदा होटेलभन्दा रेस्टुरेस्ट व्यवसायलाई केही सहज भएको उनले बताए ।

लुम्बिनीमा अहिले आन्तरिक पर्यटक आगमनमा वृद्धि भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । अन्तर्राष्ट्रिय नाका सञ्चालनमा नआएका कारण लुम्बिनीमा विदेशी पर्यटक आगमन भने न्यून छ । आन्तरिक पर्यटक बढ्दो क्रममा रहेकाले लुम्बिनीमा चहलपहल बढ्दो रहेकाे भट्टराईले बताए ।
बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा शनिबारबाहेक अन्य दिनमा एक हजारदेखि १५ सयसम्म दैनिक आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । उनका अनुसार शनिबार र बिदाको दिनमा पाँच हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।