टौदहमा समुद्री पक्षी

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

टौदहमा समुद्री पक्षी देखिनु पक्षीप्रेमीका लागि सुखद अनुभूति हो, नेपालका लागि एक दुर्लभ समुद्री पक्षी टौदहमा कहिलेकाहीँ देख्न पाइन्छ

हिउँदमा काठमाडौंस्थित टौदहमा विभिन्न प्रजातिका साइबेरियन पक्षी आउँछन् । त्यहाँ साइबेरियन हाँस त थिए नै, हाँसको बथाननजिक हाँसभन्दा अलि सानो, सेतो र हल्का खरानी रङको अर्को जलपक्षी देखियो । कहिले हाँसको बथाननजिक, कहिले एक्लै पानीमा तैरिने त्यो समुद्री पक्षी अर्थात् सी–गअल् भएको चिन्न समय लागेन । पानीमा बसेको ५–७ मिनेटमै उडिहाल्थ्यो । उडिरहँदा साँघुरिएको लामो पखेटा देखिन्थे । यही पक्षीको तस्बिर टौदहमा वाइल्डलाइफ फोटोग्राफर दशरथ श्रेष्ठ बिजुक्छे, उत्सवजंग थापा, शेर्पा फ्रेन्च तेम्बा, सुगम ताम्राकार, सर्वेन्द्र पछैलगायतले खिचेका छन् । पक्षीको नाम ब्ल्याक–हेडेड गअल् भनेर नाम दिइएको छ । 

पंक्तिकार भने यो ब्ल्याक–हेडेड गअल् नभई यसको जस्तै रूपरङ भएको एउटा अर्को प्रजाति ब्राउन–हेडेड गअल् भन्ठान्छ । नियालेर हेर्दा पनि ब्ल्याक–हेडेड गअल् र ब्राउन–हेडेड गअल् हुबहु उस्तै देखिन्छन् । ‘द स्टेट्स अफ नेपाल्स बर्डस् : द नेसनल रेड लिस्ट सेरिज’ (सन् २०१६) शीर्षकको पुस्तकमा अहिलेसम्म काठमाडौं उपत्यकामा यो पक्षी करिब ६ दशकअघि एकपटक मात्र देखिएको उल्लेख छ । तर, यो पक्षी त्यसयता काठमाडौं उपत्यकामा आई नै रहेको भए पनि यसलाई ब्ल्याक–हेडेड गअल् भन्ठानियो । जे होस्, टौदहमा समुद्री पक्षी देखिनु पक्षीप्रेमीका लागि सुखद अनुभूति हो । अब यो जानकारी सर्वसाधारणमा पुग्नुपर्छ– नेपालका लागि दुर्लभ एक समुद्री पक्षी टौदहमा कहिलेकाहीँ देख्न पाइन्छ । यो लेखमा सी–गअल्को चर्चासहित नेपालको पक्षी सम्बद्ध लेखिएका पुस्तकमा यसबारे परेका जानकारी विश्लेषण गर्ने जमर्को छ ।

सी–गअल् : सी–गअल्ले ल्यारिडी पक्षी परिवारअन्तर्गतका करिब एक दर्जनजति जातिका जलपक्षी जनाउँछ । सातवटै महादेशमा यसका ५० प्रजाति छन् । यिनको शारीरिक बनावट र आनीबानी अचम्मको हुन्छ । शरीरभन्दा पखेटा लामो, खुट्टा छोटो, औँलाको टुप्पोभन्दा मुनिको भागचाहिँ हाँसकै जस्तो हुन्छ । यस्तो आकृतिका कारण यसको विचरण गर्ने मुख्य स्थल पानी हुने नै भयो । तर, यसको पेट र छातीको बनावट हाँसभन्दा फरक भएकाले हाँसजसरी तैरिन अलि असजिलो मान्छ । अर्कोतिर, यो पक्षी हाँसको तुलनामा जमिनमा सजिलै हिँडडुल गर्ने भएकाले यसलाई समुद्र, तलाउ, खोलाबाहेक जमिनमा पनि उत्तिकै देखिन्छ । 

सी–गअल्को पुच्छर परेवाको जस्तो र ठुँडो भने झन्डै चिलको जस्तो हुन्छ । माछा, साना पक्षी, ठूला पक्षीका बचेरा यसका आहारा हुन् । कहिलेकाहीँ यसले उडेका पक्षीलाई समाएर सिकार पनि गर्न सक्छ । यसैले यसलाई गंगाचिल भन्ने गरिन्छ । तर, पानीभित्रको माछा समाउन यसले ठुँडो प्रयोग गर्छ, जब कि चिलले नंग्राले समात्छ । यो पक्षी युरोप तथा अमेरिकाको समुद्री किनारामा प्रशस्त देखिन्छन् । समुद्री किनाराका पर्यटकीय स्थलमा यो पक्षीको चहलपहल अन्यत्रभन्दा निकै हुन्छ ।

बागमती टौदह : डच नागरिक एरेन वान रिइसेन लिखित ‘द बर्डस् अफ द बागमती एन्ड टौदह एरिया, २००३–२०१६’ शीर्षक पुस्तकमा बागमती र टौदहमा उल्लेखित १३ वर्षको अन्तरालमा के कति पक्षी प्रजाति कुन–कुन महिनामा देखिएका थिए भन्ने विवरण छ । पुस्तकअनुसार ब्ल्याक–हेडेड गअल् सन् २००३–२०१६ मा मार्च र नोभेम्बर महिनामा जम्मा तीनवटा बागमती–टौदह क्षेत्रमा देखिएका थिए । ३८ सेन्टिमिटरसम्म लामो हुने यो पक्षीलाई कमन ब्ल्याक–हेडेड गअल् पनि भनिन्छ । यो पक्षी युरोप, मध्यएसिया, साइबेरिया, उत्तर अफ्रिकालगायत एसियाका समुद्री किनारका देशमा पाइन्छ । यो टौदहमा उत्तरबाट समुद्रतर्फ लाग्दा नोभेम्बरमा केही दिन विचरण गर्दोरहेछ । पुनः जाडो कम भएपछि समुद्रतिरबाट उत्तरतर्फ लाग्दा पनि टौदहमा केही दिन बिताउँछ भनेर बुझ्दा अन्यथा हुन्न । यसकारण यो काठमाडौं उपत्यकाका निम्ति बटुवा पक्षी हो ।

एरेनले ब्ल्याक–हेडेड गअल्बाहेक पल्लास गअल् र लेसर ब्ल्याक–हेडेड गअल् पनि देखेको विवरण पुस्तकमा छ । उनले अघिल्लो प्रजाति सेप्टेम्बर महिनामा जम्मा तीनपटक र पछिल्लो जनवरी महिनामा एकपटक देखेका थिए । यसको टाउको केही गोलाकार हुन्छ । शरीरको रङ सेतो, खरानी रङ र पखेटाको टुप्पोतिर थोरै भाग कालो हुन्छ । वाइल्डलाइफ फोटोग्राफरले यो वर्ष टौदहमा खिचेका तस्बिरमा पखेटाको रङ स्पष्ट देखिन्छ । तस्बिरमा पखेटाको छोटा प्वाँखको टुप्पोतिर एकतिहाइजति भाग एकसरो कालो छ । कालो भाग लामा प्वाँखतर्फ बढ्दै गएको छ । लामो प्वाँखमा करिब दुईतिहाइ भाग कालो छ । यसका आधारमा यो वर्ष टौदहमा देखिएको उल्लेखित पक्षी ब्ल्याक–हेडेड गअल् नभई ब्राउन–हेडेड गअल् हो । ब्ल्याक–हेडेड गअल् र ब्राउन–हेडेड गअल् सजिलै छुट्याउन सकिन्न । गुगल डटकममा आइडेन्टिफिकेसन, ब्राउन हेडेड गअल् भर्सेस ब्ल्याक हेडेड गअल् टाइप गरेर खोजी गर्दा यी दुईबीचका भिन्नता सचित्र रूपमै उपलब्ध हुन्छ ।

ब्राउन–हेडेड गअल् : ब्राउन–हेडेड गअल् ४२ सेन्टिमिटरसम्म लामो हुन्छ । माथि नै भनियो, यसको पखेटाका लामा प्वाँखको कालो रङको हिस्सा आधाभन्दा बढी हुन्छ । टाउको पनि ब्ल्याक–हेडेड गअल्को जस्तो गोलाकार हुँदैन । ठुँडोमुनि चिउँडोदेखि घाँटीसम्मको भाग ब्ल्याक–हेडेड गअल्को भन्दा केही खुला र लम्बाइ बढी हुन्छ । ब्राउन–हेडेड गअल्को टाउकोको रङ बर्खामा ब्ल्याक–हेडेड गअल्कै जस्तो कालो रङमा परिणत भएको देखिन्छ । प्रजननकालपछि काला प्वाँख बिस्तारै झर्दै जान्छ र अन्तमा दुवै पक्षी प्रजातिका आँखापछाडि थोरै भाग मात्र काला प्वाँख बाँकी रहन्छ । यसैले तिनका कानका पछाडि काला टाटा देखिन्छन् । यसको वासस्थान ब्ल्याक–हेडेड गअल्को जस्तो व्यापक छैन । ब्राउन–हेडेड गअल् दक्षिण–पश्चिम चीन, किर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, तिब्बत, मंगोलियालगायत दक्षिण र दक्षिण–पूर्व एसियामा रहन्छन् । बर्खामा दक्षिण–मध्यएसियामा पुग्छन् र त्यहीँ बचेरा काड्छन् । हिउँदमा भने जाडो छल्न भारत, श्रीलंकाको समुद्री तटसहित दक्षिण–पूर्वी एसियामा जान्छन् । यसक्रममा केही दिन नेपालका ठूला तलाउ, ताल तथा नदीमा केही दिन अडिन्छन् । ‘द स्टेट्स अफ नेपाल्स बर्डस् : द नेसनल रेड लिस्ट सेरिज’ शीर्षक पुस्तकमा लेखिएअनुसार यो पक्षी नेपालमा सर्वप्रथम सन् १९६३ को अक्टोबर महिनामा बागमती नदीमा देखिएको थियो । 

पक्षीसम्बन्धी एक अर्को सामग्रीले नेपालमा यो पक्षी करिब एक सय ८० वर्षअघि नै भेटिएको जानकारी दिन्छ । सन् १८४६ मा प्रकाशित ‘क्याटलग अफ द स्पेसिमेन्स एन्ड ड्रइङ्स अफ म्यामालिया एन्ड बर्डस् अफ नेपाल एन्ड तिब्बत बाई हड्सन’ शीर्षक पुस्तकमा यो पक्षी नेपालमा ब्राइन हड्सनले संकलन गरेको जानकारी छ । पुस्तकअनुसार हड्सनले यसको वैज्ञानिक नाम लरुस ब्रुनैसेफालस् लेखेर ड्रइङसहितको जानकारी सन् १८४० मा प्रकाशन गरेका थिए । ब्राउन–हेडेड गअल्कै पहिलेको वैज्ञानिक नाम लरुस ब्रुनैसेफालस् हो । 

यो पक्षी कोसी ब्यारेज, दुधकोसी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्रसहित कास्की, विराटनगरमा देखिएको जानकारी पाइन्छ । वन्यजन्तु अध्येता नरेश कुसी र जेराल्डिन वेरहान लिखित ‘हुम्ला : जर्नी इन्टु द हिडेन सांग्रिला’ पुस्तकमा लिमी उपत्यकामा खिचिएको यसको तस्बिर समावेश छ । सञ्जय श्रेष्ठ, गोपी श्रेष्ठलगायतले यो पक्षीको तस्बिर अघिल्लो वर्ष भक्तपुरस्थित मनोहरामा खिचेका छन् । उनीहरूले पनि यसलाई ब्ल्याक–हेडेड गअल् नै भन्ठानेका छन् । तर, नेपालको धेरैजसो भूभागमा पक्षी अध्ययन गरेका हटन चौधरीको जानकारी भिन्न छ । चौधरीले उपलब्ध गराएको जानकारीअनुसार यो पक्षी काठमाडौं उपत्यकामा केही दशकयता देखिने गरेको छ ।

सुझावित समाचार