नेपाल बैंकर्स संघ (एनबिए)को उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । संघको भावी नेतृत्वका रूपमा रहने उपाध्यक्ष पदमा उनको एकल दाबेदारी परेको हो ।
‘करिब १५ वर्षदेखि सरकारी स्वामित्वसमेत रहेका बैंकहरूबाट कोही पनि संघको उच्च तहमा रहनुभएन,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘त्यसैले पनि सहमतिमै गरिएको हो ।’ गत वर्ष उपाध्यक्ष निर्वाचित नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर भारत फिर्ता गएसँगै उपाध्यक्ष पद रिक्त रहेको थियो ।
उपाध्यक्षमा एकभन्दा बढी व्यक्तिको दाबेदारी पर्ने अवस्था देखिए पनि संघको मंगलबार हुने ३४औँ वार्षिक साधारणसभामा पेस हुने विधानले भने एकल उपाध्यक्षको कल्पना गरेको छ । तीन वर्षअघिसम्म भने संघमा दुईजना उपाध्यक्ष हुने प्रणाली थियो । उपाध्यक्ष नै अध्यक्षमा सर्वसम्मतिले निर्वाचित हुने व्यवस्था संघमा रहिआएको छ ।
‘मर्जरबाट संस्थाहरू घट्ने सम्भावना बढ्दै गएकाले एकल उपाध्यक्षमै जाऔँ भन्ने छ,’ दाहालले थपे, ‘तर, सभाले कस्तो निर्णय लिन्छ, पछि नै थाहा लाग्नेछ ।’ संघका दुई सदस्य फेरिने भएका छन् । एक सदस्य पद रिक्त रहेको र सिभिल बैंकका सिइओ गोविन्द गुरुङको कार्यकाल सकिन लागेको छ । एभरेस्ट बैंकका सिइओ गजेन्दरकुमार नेगी र माछापुच्छ«े बैंकका सन्तोष कोइराला सदस्यमा निर्वाचित हुने भएका छन् ।