पाकिस्तान र चीन सम्बन्धका उतारचढाब

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

सन् १९५० को दशकमा कसैले पनि पाकिस्तान र चीन आजको जस्तो घनिष्ट मित्र बन्लान् भनेर कल्पना पनि गरेको थिएन ।

सन् १९५० को दशकमा कसैले पनि पाकिस्तान र चीन आजको जस्तो घनिष्ट मित्र बन्लान् भनेर कल्पना पनि गरेको थिएन । तर, आज उनीहरूको सम्बन्ध केयौँ कठिनाइबाट गुज्रेर पनि थप बलियो बन्दै गएको देखिन्छ । चीनमा स्थापना भएको कम्युनिस्ट सरकारलाई मान्यता दिने तेस्रो मुलुक हो पाकिस्तान । अझ सन् १९५० जनवरी ४ मा चिनियाँ कम्युनिस्ट सरकारलाई मान्यता दिँदा पाकिस्तान त्यसो गर्ने पहिलो मुसलमान मुलुक बनेको थियो ।

त्यसको अर्को वर्ष सन् १९५१ मे २१ मा पाकिस्तान र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भयो । मेजर जनरल आगाँ मोहम्मद रजालाई पाकिस्तानले आफ्नो राजदूतका रूपमा चीन पठायो । त्यसपछि पाकिस्तानमा चिनियाँ पक्षबाट उच्चस्तरीय भ्रमण भयो । चीनका प्रधानमन्त्री चाउ एन लाई सन् १९५६ मा पाकिस्तान पुगे । त्यस समय पाकिस्तानले चाउको निकै धुमधामका साथ स्वागत गरेको थियो । चाउले पाकिस्तानलाई कास्मिर विवादमा कुनै पनि सैन्य कारबाही नगर्न सुझाब दिएका थिए । चाउले त्यो सुझाब दिनुको कारण थियो, पाकिस्तानलाई त्यस्तो युद्ध निकै भारी पर्नेछ । पाकिस्तान युद्धमा संलग्न भयो भने संयुक्त राष्ट्र संघको हस्तक्षेप हुने र त्यसबाट पाकिस्तानलाई थप हानि पुग्ने चीनको विश्लेषण थियो । सन् १९५६ विश्व इतिहासमा कैयौँ हिसाबले महत्वपूर्ण रह्यो ।

त्यस वर्ष सोभियत संघको कम्युनिस्ट पार्टीका प्रमुख निकिता ख्रुस्चेवले आफ्ना पूर्ववर्ती शासक जोसेफ स्टालिनको आलोचना सुरु गरे । ख्रुस्चेवको कदमको पक्ष र विपक्षमा विश्व कम्युनिस्ट जगत् दुई गुटमा विभाजन हुन पुग्यो । चीन ख्रुस्चेवको कदमको विपक्षमा थियो । दुईबीच झन्डै शत्रुताको सम्बन्ध विकसित हुन थाल्यो । भारत सोभियत संघको घनिष्ट मित्र थियो, चीनले भारतको परम शत्रु पाकिस्तानमा सम्भावित नयाँ मित्रताको खोजी सुरु ग¥यो । 

चीनले पुरानो सिल्क रोडब्युँताउने परियोजना सुरु गरेको छ र पाकिस्तान यस अभियानको अभिन्न अंग बनेको छ । चीन विश्व शक्ति बन्ने लक्ष्यका साथ अघि बढिरहँदा पाकिस्तान चीनको यात्राको महत्वपूर्ण हिस्सा बनेको छ ।

सन् १९५० को दशकमा अमेरिकाले विभिन्न विवादमा आमनेसामने हुँदा चीनविरुद्ध आणविक बम प्रयोग गर्ने धम्की दिइरहेको थियो । यसले चीन आफँैलाई पनि आणविक बम निर्माण सुरु गर्नुपर्ने लाग्न थालेको थियो । १९५६ देखि चीनले आणविक हतियार निर्माणलाई गम्भीरतापूर्वक लिन थाल्यो । सन् १९५६ मा नै चीनका प्रधानमन्त्री चाउ एन लाई र उपप्रधानमन्त्री ही लाङले डिसेम्बरमा आठ एसियाली देशको भ्रमण सुरु गरे । सन् १९५७ फेब्रुअरीसम्म जारी यो भ्रमण शृंखलाका क्रममा दुई नेता भियतनाम, कम्बोडिया, भारत, बर्मा, पाकिस्तान, अफगानिस्तान, नेपाल र श्रीलंका पुगे ।

भ्रमणको औपचारिक उद्देश्य मित्रता, शान्ति र अध्ययन बताइएको थियो । चाउ एन लाई भारत र बर्मापछि सन् १९५६ डिसेम्बर २० मा पाकिस्तान ओर्लिए । त्यसको एक वर्षअघिको एक अलग भेट पनि दुई देशको सम्बन्धको लागि उलेखनीय छ । सन् १९५५ मा इन्डोनेसियाका तत्कालीन राष्ट्रपति सुकार्णोले उनको देशको एक सहर बाङडुङमा एफ्रो–एसियाली सम्मेलन आयोजना गरेका थिए । त्यहाँ पाकिस्तानका प्रधानमन्त्री मुहम्मद अली बोगरा र चिनियाँ प्रधानमन्त्री चाउबीच भेट भएको थियो । सो भेटमा भएको छलफलले पनि सन् १९५६ को चाउको पाकिस्तान भ्रमणलाई प्रेरित गरेको बताइन्छ । 

सन् १९५० को दशकमा तिब्बत संकट सुरु हुँदा पाकिस्तानले चीनविरोधी भूमिका खेलेको थियो । त्यो समय पाकिस्तानले तिब्बती विद्रोहीको समर्थन गर्नका लागि अमेरिकी विमानलाई उडान भर्ने अनुमतिसम्म दिएको थियो । घोषित रूपमा चीनले कहिल्यै पनि अमेरिका र पाकिस्तानको सैन्य सहकार्यका लागि पाकिस्तानको आलोचना गरेन । चीनद्वारा सार्वजनिक अधिकांश बयानमा अमेरिकी विस्तारवादी महत्वाकांक्षाको आलोचना गरिन्थ्यो । चीनको विश्वासमा भारतसँग कास्मिर विवादमा फसेकाले पाकिस्तानले अमेरिकासँग सैन्य सहयोग लिएको थियो । सन् १९६२ मा सीमाविवादका कारण चीनले भारतविरुद्ध सैन्य कारबाही ग¥यो ।

त्यसपछि चीन र पाकिस्तानका लागि भारत साझा शत्रुजस्ता भए । लामो समयसम्म दुई देशको मित्रतालाई यही भारतसँगको साझा दुस्मनीले बाँधेको आरोप लागिरह्यो । तर, अहिले आएर चीन र पाकिस्तानको घनिष्टताको मुख्य कारण भारतसँगको शत्रुताभन्दा धेरै विस्तारित भइसक्यो । पाकिस्तान र अफगानिस्तानमा चीनको धेरै कुरा दाउमा छ । चीनले पुरानो सिल्क रोड ब्युँताउने परियोजना सुरु गरेको छ । पाकिस्तान यस अभियानको अभिन्न अंग बनेको छ । 

(लेखक बिबिसी उर्दू सेवाका पत्रकार हुन् ।)
बिबिसीबाट

सुझावित समाचार