सबै शक्ति निर्वाचन तयारीमा परिचालन गर्ने ओली समूहको निर्णय

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

नेकपा केपी ओली समूहले सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न ओली समूहको केन्द्रीय कमिटीले सम्पूर्ण शक्ति निर्वाचन तयारीको मुख्य एजेन्डामा केन्द्रित हुने गरी परिचालन गर्ने निर्णय लिएको हो ।

‘वैशाखमा निर्वाचन मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेको परिप्रेक्ष्यमा सबै मातहत कमिटी, जनवर्गीय र सरोकार संगठन, पार्टी सदस्य, जनप्रतिनिधि एवं सम्पूर्ण पार्टीपंक्तिलाई एकढिक्का भएर निर्वाचनको तयारीको मुख्य एजेन्डामा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दछ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने । प्रधानमन्त्री ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा दुई चरणमा निर्वाचनको घोषणा गरेका थिए ।

बैठकले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आह्वान गर्दै सरकार संविधान र लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि दृढसंकल्पित रहेको प्रस्ताव पास गरेको छ । ‘यो बैठक सबै राजनीतिक दलहरूलाई आमनिर्वाचनको यस अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न आह्वान गर्दछ,’ बैठकपछि पारित प्रस्तावमा छ, ‘परिवर्तनका पक्षधर सबै वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई आपसी संवाद, समझदारी कायम गर्दै अगाडि बढ्न आग्रह गर्दछ । हाम्रो पार्टी र सरकार नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनका उपलब्धिहरूको रक्षा एवं विकासका लागि कृतसंकल्पित रहेको विश्वास दिलाउन चाहन्छ ।’ 

त्यस्तै, बैठकले प्रतिनिधिसभा विघटन बाध्यात्मक भन्दै प्रधानमन्त्री ओलीको कदम स्वाभाविक ठहर गरेको छ । ‘जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात् नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलापहरू लोकतन्त्रको मूल्यमान्यताविपरीत, जनआकांक्षाविपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरूको क्रियाकलापहरूकै कारण यो स्थिति उत्पन्न भएको ठहर गर्दछ,’ बैठकले पारित गरेको प्रस्तावमा छ, ‘नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको कुरा स्पष्ट गरेको छ । त्यसैले सदनमा बहुमत प्राप्त दलबाट सर्वसम्मत रूपमा निर्वाचित दलको नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर गर्दछ ।’ त्यस्तै, केन्द्रीय कमिटी विस्तारलाई अनुमोदन गर्दै बैठकले विभाजनकारी गतिविधिको भ्रममा नपरी एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेको छ । 

बैठकले सरकारले गरेका कामलाई समर्थन गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक–आर्थिक रूपान्तरणको नायकका रूपमा स्थापित गर्ने संकल्प पनि गरेको छ । ‘यो बैठक करिब तीन वर्षको अवधिमा दूरगामी महत्वका विकास कार्य, रणनीतिक पूर्वाधारहरूको निर्माण, सामाजिक न्याय र सुरक्षाको विस्तार, संविधान एवं संघीयताको कार्यान्वयन, राष्ट्रियताको सुदृढीकरण एवं नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा सरकारले गरेका महत्वपूर्ण कामहरूलाई उच्च मूल्यांकन गर्दछ । ती कार्यहरूलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरू गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक–आर्थिक रूपान्तरणको नायकका रूपमा स्थापित गर्ने संकल्प गर्दछ,’ पारित प्रस्तावमा छ ।

त्यस्तै, कोभिड– १९ को विश्वव्यापी महामारीबाट सिर्जित चुनौतीलाई सामना गर्ने सम्बन्धमा सरकारले चालिरहेका कदमहरूलाई समर्थन गर्दै बैठकले कोभिड भ्याक्सिनको यथाशीघ्र आपूर्ति गर्न र सबै नेपालीलाई प्राथमिकताका आधारमा र निःशुल्क रूपमा खोप उपलब्ध हुने गराउन सरकारसँग आग्रह गरेको छ । चिनी उद्योगसँग उखु बिक्री गरेबापत प्राप्त गर्नुपर्ने बक्यौता रकम प्राप्त गर्न तराई–मधेसका विभिन्न जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धर्नामा बसेका उखु किसानको सबै रकम उद्योगीबाट अविलम्ब चुक्ता गराउने प्रबन्धका लागि सरकारलाई थप प्रभावकारी पहल गर्न पनि बैठकले माग गरेको छ । 

प्रचण्डमाथि ओली पक्षको कारबाही 
ओली पक्षको नेकपा बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाएको छ । बैठकले अध्यक्ष प्रचण्डलाई अनुशासनको कारबाही गरी कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाएको हो । यससँगै ओली आफ्नो पक्षको एकल अध्यक्ष भएका छन् भने अबदेखि बैठकका निर्णयमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्नेछ ।

सातवटै प्रदेश र जनसंगठनमा तोकिए इन्चार्ज 

ओली पक्षले सातै प्रदेश र जनवर्गीय संगठन मोर्चामा इन्चार्ज तोकेको छ । जसअनुसार प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा, सुदूरपश्चिममा लेखराज भट्ट, जनवर्गीय संगठनमा टोपबहादुर रायमाझी र राजधानी उपत्यकामा कृष्णगोपाल श्रेष्ठ तोकिएका छन् । नयाँ जिम्मेवारी पाउने रायमाझी र थापा पूर्वमाओवादी समूह र बाँकी पूर्वएमाले समूहका हुन् ।

प्रचण्ड–माधवलाई ओलीको आरोप : चुनावको डरले पुनर्स्थापनाको माग 
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले चुनावमा पराजित हुने डरले प्रचण्ड–माधव समूहले बैसाखीका भरमा सरकारमा जाने उद्देश्यले प्रतिनिधिसभा पुनस्र्थापनाको माग अघि सारेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने निर्णय गरिसकेपछि जनतामा जान उहाँहरूलाई केको डर ? जनताले देश बिगार्ने, एकता तोड्ने, अग्रगमनको बाटोबाट जान व्यवधान खडा गर्नेलाई मत दिन्छ ? त्यसकारण एक–डेढ वर्ष भए पनि संसद् पुनस्र्थापना गरेर, जोड–घटाउ गरेर, जालझेल, तिकडम, यता सम्झौता, उता सम्झौता, कसैको आशीर्वादबाट यसो सरकारमा पुग्न पाइन्थ्यो कि भन्ने उहाँहरूलाई लागेको छ,’ ओलीले भने, ‘चुनाव भयो भने सरकारमा जाने मौकै आउँदैन भन्ने ठानिरहनुभएको छ, त्यसैले चुनाव सुन्नेबित्तिकै उहाँहरू निद्रामा झस्किनुहुन्छ । तर, त्यसरी झस्यांग हुनुपर्दैन, मूलधारमा आउनुस्, महाअभियानमा सामेल हुनुस् ।’

ओलीले शान्तिपूर्ण र सशस्त्र आन्दोलन चलिरहेका वेला सुरक्षित रूपले बसेको व्यक्तिलाई प्रचण्ड–माधव खेमाले आन्दोलन परिचालनको संयोजक तोकेको भन्दै कटाक्षसमेत गरेका थिए । ‘लाखौँ जनता सडकमा उत्रिएर यत्रो परिवर्तन ल्याए, भूमिगत हिँडेर, ज्यान जोखिममा राखेर परिवर्तनको आन्दोलनमा सामेल भए, तर परिवर्तनपछि, लोकतन्त्र आइसकेपछि पनि एउटा मान्छे पर्दाभित्रबाट राजनीति गर्छ, इन्टरभ्यु दिन्छ, उसको नेतृत्वमा आन्दोलन, कठैबरा ! अब आन्दोलन केका लागि ?’ ओलीको कटाक्ष थियो । उनले सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरिएकाले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको घटनाक्रमको व्याख्यासमेत गरेका थिए ।

बादलले भने– चुनावमा गएर फुटवादी र अवसरवादीलाई परास्त गर्नुपर्छ 

ओली पक्षको बिहीबारको केन्द्रीय कमिटी बैठकबाट त्यस समूहमा खुलेका गृहमन्त्री रामबहादुर थापा बादलले चुनावबाटै फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताएका छन् । ‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ, अब चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ,’ बादलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहाँहरू (प्रचण्ड–माधव समूह)को ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ, उहाँहरू दुस्मनको जालमा पर्नुभएको छ ।’ प्रधानमन्त्री ओली राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिएका कारण पनि आफूले समर्थन गरेको बताएका थिए ।

‘कम्युनिस्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ दिन म यहाँ उपस्थित भएको हुँ,’ बादलको भनाइ थियो, ‘पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउनेछ ।’ बादलले ओली समूहलाई समर्थन गरे पनि उनीनिकट अधिकांश नेता भने प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।

सुझावित समाचार