नेकपाको प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा केन्द्रित हुने भएको छ । बिहीबार कार्की बैंक्वेट बबरमहलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहने गरी बैठकले २५ सय एक सदस्यीय संघर्ष कमिटी बनाएको छ । परिचालनका लागि सचिवालयसमेत बनाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘पार्टी एकतालाई कमजोर पार्न खोज्ने र नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्न खोज्ने सबै प्रकारका प्रवृत्ति र गतिविधिहरूका विरुद्ध पार्टी एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभाको कथित विघटनको घोषणा र त्यससँग जोडिएर आएको प्रतिगामी षड्यन्त्रविरुद्ध संघर्ष गर्ने उद्घोषसहित केन्द्रीय कमिटी बैठकले पहिलो चरणको कार्यक्रम घोषणा गरेको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भने ।
प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनदेखि स्थानीय तहका वडा तहसम्म भेला र प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ ।जसअनुसार शुक्रबार बिहान माइतीघर मण्डला र अपराह्न निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरू र पार्टीका सांसदहरूको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ भने दिउँसो २ बजे अध्यक्षद्वय माधव नेपाल र प्रचण्डले पत्रकार सम्मेलन गर्नेछन् ।
त्यस्तै, शनिबार प्रदेश कार्यालयको संयोजनात्मक छलफल गर्ने र सात दिनभित्र प्रदेश कमिटीहरूको बैठक सम्पन्न गर्ने, आइतबार ७७ जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गरिनेछन् । भेलामा पार्टी एकताविरुद्धको षड्यन्त्र र भ्रम, प्रतिगामी षड्यन्त्र र विघटनका विरुद्धको संघर्ष सञ्चालनबारे प्रशिक्षण दिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, १४ पुसमा राजधानी काठमाडौंसहित जिल्लाहरूमा प्रतिनिधिसभाको विघटन र प्रतिगामी षड्यन्त्रविरुद्ध विरोध कार्यक्रम सञ्चालन गर्ने, २० पुसमा सबै गाउँपालिका र नगरपालिकास्तरमा पार्टीको बैठक र भेलाहरू आयोजना गर्ने, २५ पुसमा सबै वडास्तरसम्म बैठक र भेला गर्ने तथा १४ पुससम्म सबै जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र भेला गरिने कार्ययोजना सार्वजनिक गरिएको छ । यसका अलवा राजधानीमा यसबीचमै पनि विभिन्न स्थानीय कार्यक्रमहरू विरोध प्रदर्शनका रूपमा आयोजना गरिने जानकारी दिइएको छ । पहिलो चरणको संघर्षका कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रूपमा उच्चस्तरीय कार्यक्रम घोषणा गरिने जानकारी दिँदै प्रवक्ता श्रेष्ठले सम्बन्धित प्रदेशका स्थायी कमिटी सदस्यहरू, प्रदेश पदाधिकारीहरूलाई तत्काल संघर्षमा जुट्न र आ–आफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिइएको पनि बताए ।
प्रचण्ड–नेपालको वरीयता तोकिएन, आलोपालो अध्यक्षतामा सहमति
अध्यक्ष प्रचण्ड र नेपालबीच पार्टी विधानअनुसार बैठकको अध्यक्षता गर्दै पार्टी सञ्चालन गर्ने सहमति भएको छ । यसबारे ७ पुसको बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराइसकेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ‘अध्यक्ष प्रचण्डले पार्टी विधानको प्रस्ट पालना गर्ने गरी दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने र वरीयता पनि बैठकको अध्यक्षताका आधारमा हुने सहमति भइसकेको अघिल्लो बैठकमै जानकारी गराइसक्नुभएको छ,’ रिजालले भने ।
जसअनुसार बैठक अध्यक्षता गर्ने अध्यक्ष पहिलो वरीयतामा हुनेछन् भने अर्को अध्यक्ष दोस्रो वरीयतामा हुनेछन् । दोस्रोपटकको बैठकको अध्यक्षता फेरिनेबित्तिकै अर्को अध्यक्ष पहिलो वरीयतामा हुनेछन् । जसअनुसार प्रचण्ड–नेपाल नेकपामा कहिले माधव नेपाल त कहिले प्रचण्ड पहिलो वरीयताको अध्यक्ष बन्ने समझदारी भएको छ । ७ पुसको बैठकको अध्यक्षता प्रचण्डले गरेको र बिहीबार त्यसैको निरन्तरताका रूपमा बैठक बसेकाले यो बैठकमा नेपाल दोस्रो वरीयतामा बसेका छन् । बैठकको सुरुवात नेपालले र समापन प्रचण्डले गरेका थिए भने सञ्चालन प्रवक्ता श्रेष्ठले गरेका थिए ।
कार्यविभाजनको जिम्मेवारी स्थायी कमिटीलाई
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सचिवालय, स्थायी कमिटी र रिक्त महासचिवको पदपूर्ति गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ । बैठक सञ्चालनका लागि बिहीबारकै बैठकबाट महासचिव नियुक्ति गर्ने तयारी भए पनि आवश्यक गृहकार्य नपुगेको भन्दै प्रचण्ड–नेपालले कार्यविभाजनसम्बन्धी सबै जिम्मेवारी स्थायी कमिटीलाई दिने समझदारी गरेअनुसार बैठकले निर्णय गरेको हो । ‘केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र संगठनको कार्ययोजना तथा कार्यविभाजनबारे स्थायी कमिटीले नै आवश्यक निर्णय लिन सक्ने गरी बैठकले जिम्मेवारी दिएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा प्रचण्डले भने- प्रतिक्रियावादीको ठूलो ग्रान्डडिजाइनमा विघटन
नेकपा अध्यक्ष प्रचण्डले ०१७ सालमा जस्तै प्रतिगमन हुन थालेको भन्दै सशक्त आन्दोलनको आवश्यक हुन सक्ने बताएका छन् । ‘प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, सबै जाली–फटाहाहरूले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरूलाई ध्वस्त पार्न चाहेका छन् । मेरो अध्ययन, विश्लेषण र घटनाक्रम नजिकबाट नियालेर हेर्दा यो पार्टीभित्रको सामान्य अन्तर्संघर्ष मात्र होइन । यो प्रतिक्रियावादीहरूको ठूलो डिजाइनअन्तर्गत विचलित साथीहरूलाई उपयोग गरेर कम्युनिस्ट आन्दोलन र नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूलाई निस्तेज गर्ने र प्रतिगमनको आधार तयार पार्ने ठूलो डिजाइनअन्तर्गत नै यी सबै नाटक मञ्चन भएका हुन् । नेपालमा फेरि एकचोटि ०१७ सालजस्तो प्रतिगमन वा प्रतिक्रान्तिकारी षड्यन्त्र जो मञ्चन हुँदै छ, त्यसलाई सफल हुन दिने वा नदिने ? यो तपाईं–हाम्रा लागि, मैले हेर्दा यो जीवन–मरणको संघर्ष हो’ बैठकमा प्रचण्डले भने ।
उनले क्रान्तिको झन्डा उठाउने र फ्याँक्नेहरूबीचको लडाइँ सुरु भएको बताए । ‘अहिलेको लडाइँ हामी कम्युनिस्टहरूले सात दशक लामो संघर्ष र बलिदानबाट हजारौँहजारको रगत–पसिना बगाएर प्राप्त गरेका उपलब्धिहरूको अपहरण गर्ने अपहणकारी र त्यसको रक्षा गर्न चाहने जनताबीचको लडाइँ हो । यो एकातिर क्रान्तिको झन्डा उठाउने र फ्याँक्नेहरूबीचको लडाइँ हो,’ प्रचण्डले भने, ‘अहिले प्रारम्भिक आन्दोलनका कार्यक्रम घोषणा गरेका छौँ । तर, जस्तोसुकै मूल्य चुकाउन तयार भएर अगाडि जाने प्रतिगामीहरूको यो षड्यन्त्र र डिजाइन, इन्टरनेसनल डिजाइन पनि कहीँ न कहीँ जोडिएको छ, यो हामी बुझ्छौँ । केन्द्रीय कमिटीमा आइसकेका तपाईं–हामीले इन्टरनेसनल डाइनामिक्स के छ भन्ने बुझेका छौँ ।’
प्रचण्डले केन्द्रीय कमिटी ठूलो बनाएकोप्रति इंगित गर्दै भने, ‘एकथरी मान्छेहरू बडो अराजक र अनैतिक तरिकाले ११ सयको केन्द्रीय कमिटी घोषणा गरेर जुन विचलन कम्युनिस्ट आन्दोलनमा देखा परेको छ र पदका निम्ति जता पनि दौडिने मान्छेहरूलाई आकर्षित गर्ने षड्यन्त्र भएको छ, हामी त्यसलाई चुनौती दिन चाहन्छौँ । पूर्वगुटतिर फर्काउने कुनै पनि षड्यन्त्र हामीलाई मान्य छैन । त्यसका निम्ति जरुरी पर्यो भने सडकमा, अदालतमा, जहाँ पर्छ जान सक्छौँ । भीषण संघर्ष गर्ने अवस्था आउन सक्छ ।’
नेपालले भने– विभाजन होइन, एकताको पक्षमा लागिरहन्छौंँ
अध्यक्ष माधवकुमार नेपालले आफ्नो समूह कम्युनिस्ट आन्दोलनलाई एकीकृत दिशामा अगाडि बढाउन दृढतापूर्वक अघि बढिरहने बताएका छन् । उनले अहिले भइरहेका सबै षड्यन्त्रविरुद्ध एकताबद्ध भएर पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्ने गरी क्रान्तिकारी दिशामा लैजान अपिल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
‘हामी पार्टी विभाजनको पक्षमा छैनौँ, एकताको पक्षमा छौँ, एकताका लागि सधैँभरि दृढतापूर्वक उभिन्छौँ र त्यसका लागि लागिरहन्छौँ, हामी विधिविधान र पद्धतिको पक्षमा छौँ । हामी आफैँले दुःख गरेर, जेलनेल, भूमिगत यात्रा खेपेर अनेकौँ उतारचढाव व्यहोरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकप्रियताको चुलीसम्म पुर्याउन यहाँसम्म ल्याएका हौँ,’ नेपालको भनाइ थियो, ‘हामी पार्टीलाई सिद्धान्तनिष्ट विचारनिष्ठ, पद्धतिनिष्ठ बनाउन चाहन्छौँ । पार्टीभित्र हुर्किएको गलत प्रवृत्तिका विरुद्धमा सधैँ उभिन्छौँ र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउँछौँ ।’
उनले सबैखाले जालझेल र षड्यन्त्र चिर्दै आन्दोलनका पक्षमा दृढतापूर्वक लाग्न पनि केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका थिए । इतिहासको चुनौतीपूर्ण घडीमा विश्वासका साथ पार्टी नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा बैठक सुरु गर्दै अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरूलाई आभारसमेत व्यक्त गरेका थिए ।