नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो कदम संविधानको अक्षर, मर्म र भावनाविपरीत छ । नेपाली कांग्रेसले यसलाई राजनीतिक रूपमा गम्भीर रूपले प्रतिवाद गर्नेछ ।’
प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको यो कदम अधिनायकवादी आकांक्षाको अन्तिम प्रयत्न भएको भन्दै त्यसलाई असफल पार्न आग्रह गरेका छन् ।
‘चुनावको वेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ, जनता कोरोनाको मारमा रहेका वेला सत्ताको जित–हारको द्वन्द्व आफैँमा लज्जास्पद थियो र छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौँ र उद्घोष गर्दछौँ– यो प्रयत्नलाई असफल तुल्याइनेछ ।’
प्रवक्ता शर्माले सरकारको असंवैधानिक र आवेगपूर्ण सिफारिसलाई अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई अपिल गरेका छन् ।
उनले संविधान र लोकतन्त्रको रक्षाका निमित्त सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादीलाई एकजुट हुन अपिल गरेका छन् ।
सरकारको यो कदमबारे छलफल गर्न कांग्रेसले दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।