जनताले स्थिरताका लागि दुईतिहाइ मत दिए पनि नेकपाले जोगाउन सकेन : नेता सिंह

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

 कांग्रेस नेता प्रकाशमान सिंहले जनताले राजनीतिक स्थिरताका लागि झन्डै दुईतिहाइ मत दिए पनि नेकपाले जोगाउन नसकेको बताएका छन् ।

उनले संसदलाई पार्टीभित्रको अन्तर्संघर्षको सिकार बनाउनु निन्दनीय भएको टिप्पणी गरेका छन् । नेता सिंहले सरकारको संसद् विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदमको विरुद्धमा सबै लोकतन्त्रवादीहरू एकढिक्का भएर उभिनसमेत आग्रह गरेका छन् ।

‘संसद् विघटनको सिफारिस असंवैधानिक कदम हो, जनताले राजनीतिक स्थिरताका लागि करिब दुईतिहाइ मत दिँदा पनि नेकपाले त्यसलाई जोगाउन सकेन, पार्टीभित्रको अन्तर्संघर्षको सिकार संसदलाई बनाउनु निन्दनीय छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यदि प्रधानमन्त्रीले यस्तो अप्रिय निर्णय लिएको साँचो हो भने  लोकतन्त्र र संविधानलाई संकटमा पार्ने असंवैधानिक कदकाे घोर भर्त्सना गर्दछु ।  साथै सम्पूर्ण लोकतन्त्रवादीहरूलाई एकढिक्का भएर यसको खिलापमा उभिनसमेत अपिल गर्दछु ।’

सुझावित समाचार