जीवनको सफलता र असफलताको मानक तीनघन्टे परीक्षा हुन सक्दैन, अभिभावकहरूले पनि मार्कसिटमा पाएको ग्रेड/अंकलाई प्रतिष्ठाको विषय बनाउन छोड्नुपर्छ
केही महिनाअगाडि भारतमा नयाँ राष्ट्रिय शिक्षा नीति लागू भएपछि शिक्षकहरूसँग भएको भर्चुअल कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘मार्कसिट विद्यार्थीहरूका लागि प्रेसरसिट र अभिभावकहरूका लागि प्रेस्टिज सिट बनेको छ, यसलाई हटाउनुपर्छ ।’ प्रधानमन्त्री मोदीले भारतको शिक्षा प्रणालीमा नयाँ बहसको थालनी गराए, परीक्षामुखी शिक्षा प्रणालीमाथि प्रश्न उठाए । विद्यार्थीको मूल्यांकन प्रणालीमाथि संसारभर नै विभिन्न खाले तर्क–वितर्क चलिरहेका छन्, बहस चलिरहेको छ ।
हामीलाई सिकाइ चाहिएको कि मार्कसिट ? : हामीलाई कस्तो सन्तान चाहिएको हो ? कस्तो नागरिक चाहिएको हो ? कस्तो शिक्षा चाहिएको हो ? ओठ निचोर्दा दूध निस्कने बालबालिकाबाट हाम्रो अपेक्षा के हो ? धेरै प्रश्नको उत्तर हामीसँग छैन । तर, एउटा कुरा स्पष्ट छ, हामीलाई विद्यार्थीको मार्कसिटमा उच्च अंक चाहिएको छ । हाम्रो एक मात्र चाहना, लक्ष्य, उद्देश्य, सपना नै बालबालिकाको मार्कसिटमा धेरै अंक हो । हामीलाई योग्य, दक्ष र सीपयुक्त नागरिक चाहिएको छैन, चाहिएको छ त केवल ए प्लस, ए ग्रेडवाला नागरिक ।
अभिभावक मार्कसिटमा लेखिएको अंक देखेर मख्ख पर्छन्, ग्रेडसिटको ग्रेड देखेर फुरुंग हुन्छन् । त्यस शिक्षाबाट उनीहरूको वास्तविक जीवनमा परिवर्तन आएको–नआएको सम्बन्धमा कुनै सरोकार छैन । सामाजिकमा उसको ग्रेड ए प्लस छ, तर उसले गाडीमा गर्भवती महिला, अशक्त, ज्येष्ठ नागरिकलाई सिट छोड्दैन । गणितमा ए ग्रेड छ, तर उसका निरक्षर बाबुआमाले उसको क्याल्कुलेटरले हिसाब निकाल्नुअघि नै हातका औँलाले साहुलाई तिर्नुपर्ने ब्याज निकालिसक्छन् । नेपालीको उसको ग्रेड बी प्लस छ, उसले घरमा खानेपानीको धारो जडानको निवेदन लेख्नुप¥यो भने दाँतबाट पसिना आउँछ ।
सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । सिक्न त बच्चाले खेल्दाखेल्दै, परिवारले कुरा गर्दागर्दै, बाहिर घुम्न जाँदाजाँदै, टिभी हेर्दाहेदै, फेसबुक चलाउँदा–चलाउँदै पनि सिकिरहेका हुन्छन् । परिस्थितिले, परिवेशले, वातावरणले बच्चालाई धेरै कुरा सिकाइरहेको हुन्छ । तर, प्रायः अभिभावकले आफ्नो बच्चालाई के सिक्यौ भनेर सोध्दैनन्, परीक्षामा कति अंक आयो भनेर सोध्ने गरेका हुन्छन् । सबै कुरा त्यहीँ आएर रोकिन्छ । हाम्रो ध्यान सिकाइमा भएन, ग्रेडसिटमा भयो ।
अभिभावक मार्कसिटमा लेखिएको अंक देखेर मख्ख पर्छन्, ग्रेडसिटको ग्रेड देखेर फुरुंग हुन्छन् । त्यस शिक्षाबाट उनीहरूको वास्तविक जीवनमा परिवर्तन आए–नआएको सम्बन्धमा कुनै सरोकार छैन । सामाजिकमा उसको ग्रेड ए प्लस छ, तर उसले गाडीमा गर्भवती महिला, अशक्त, ज्येष्ठ नागरिकलाई सिट छोड्दैन ।
प्रतिशोध जन्माउने हतियार– मार्कसिट : मेरो छोरा अहिले चार कक्षामा पढ्छ, कक्षामा प्रथम हुँदै आएको छ । एक दिन कक्षा दुईमा पढ्दा यसलाई मारेपछि फस्ट हुन पाइन्छ भनेर उसका साथीहरूले समूह बनाएर कक्षाकोठामा नै कुटेछन् । कक्षा दुईमा पढ्ने ती कलिला बालबालिकामा त्यस्तो आपराधिक सोचको विकास कसरी भयो ? प्रतिस्पर्धाको नाममा शत्रुताको विकास हुनु समाजका लागि निकै चुनौतीको विषय हो । मेरो स्कुले जीवनका एकजना सिनियर साथी थिए, सधैँ द्वितीय भइरहने । दुर्भाग्यवश ! प्रथम हुने विद्यार्थीको आमाको देहावसान परीक्षाको मुखमा नै हुन गयो । मातृशोकमा परेका ती विद्यार्थी परीक्षामा प्रथम हुन सकेनन्, अनि द्वितीयवाला विद्यार्थी प्रथम भए । उनले साथीहरूमाझ खुसी बाँड्दै भनेछन्, ‘उसको आमा नमरेको भए म प्रथम हुने नै थिइनँ ।’ बाफ रे ! कस्तो अमानवीय सोच !
मभन्दा जुनियर ब्याजका एकजना सधैँ प्रथम हुने विद्यार्थी थिए, इमानदार, मिहिनेती, परिश्रमी । उनले कक्षाकै कुनै छात्रालाई मन पराउँथे, तर छात्राको झुकाव अरूतिर नै थियो । यो कुरा कक्षाका विद्यार्थीलाई राम्रोसँग थाहा थियो । परीक्षा नजिक आइरहेको समयमा प्रतिस्पर्धी साथीहरूले प्रथम छात्रलाई उनले खुबै मन पराएको ती छात्रालाई प्रेमपत्र लेख्न उक्साए । ती छात्राले उक्त प्रस्ताव अस्वीकार गरेर जवाफ दिइन्, जसबाट ती विद्यार्थी तनावग्रस्त भए, परीक्षा राम्रो भएन, उनले कुनै पोजिसन ल्याउन सकेनन् । प्रतिस्पर्धाको इगोेले स्कुले जीवनमा नै विद्यार्थीलाई षड्यन्त्र गर्न सिकायो, जालझेल गर्न प्रेरित गर्यो ।
स्वाभाविक रूपमा प्रतिस्पर्धाले इगो जन्माउँछ, प्रतिशोध जन्माउँछ । एकले अर्कोलाई उछिन्ने प्रयास गरिरहँदा द्वन्द्वको बीजारोपण हुन्छ । कलिला मन मस्तिष्कमा हामी एक–अर्काप्रति घृणाको भाव विकास गराइरहेका छाैँ । म पनि स्कुले जीवनमा फस्ट बेन्चर विद्यार्थी नै थिए, त्यसैले हुनुपर्छ । प्रतिस्पर्धी साथीहरूसँग मेरो न दोस्ती, न दुस्मनीको अवस्था रह्यो । सहकार्य गर्न सिकाइएन, सामूहिक छलफल गर्न सिकाइएन । मनको कुनै कुनामा ईष्र्या, रिस, जलन अवश्य हुन्थ्यो ।
पल्लो घरको छोराले ए प्लस ल्यायो, वल्लो घरकी नातिनी स्कुल फस्ट भई, त लफंगो भइस्, काम नलाग्ने भइस् । हामी हाम्रा सन्तानलाई यसै गरी गाली गर्छौं, अपमानित गर्छौं । सबैका आफ्नै क्षमता, प्रतिभा, रुचि, विशेषता हुन्छन्, यति साधारण कुराहरू हामी बुझ्न सकिरहेका हुँदैनौँ । चिनी नुनिलो हुँदैन, खुर्सानी गुलियो हुँदैन, एउटाका आनीबानी, स्वभावहरू अर्कासँग मिल्दैनन् । जीवन निर्वाह गर्नका लागि गुलियो चिनी पनि चाहिन्छ, नुनिलो नुन पनि चाहिन्छ । समाजको विकासका लागि विभिन्न सीप र क्षमता भएका पेसाकर्मी चाहिन्छन् । अर्को बच्चाजस्तै दुरुस्तै आफ्नो बच्चा खोज्नु केवल मूर्खता मात्र हो ।
एउटा पुसले जाडो जाँदैन, प्रतिस्पर्धा निरन्तर चलिरहने प्रक्रिया हो । सामुली प्यारोनेन भन्छन्, ‘वास्तविक विजेताले प्रतिस्पर्धा गर्दैनन् ।’ हरेक मान्छेको प्रतिस्पर्धा ऊ आफैँसँग हुनुपर्छ, न कि अरूसँग । उसले झन् मिहिनेती हुने, अझ राम्रो गर्ने कोसिस गरिरहनुपर्छ । केवल मार्कसिटमा अब्बल दरिने प्रतिस्पर्धामा होइन, सहकार्यबाट जीवनको विहंगम दृष्टिकोण प्राप्त गर्ने शिक्षाको खाँचो हो । समय आएपछि बालबालिकाले बिस्तारै बुझ्दै जान्छन् । बच्चा अवस्थामा नै एक–अर्काप्रति प्रतिस्पर्धी भावनाको विकास गरिनु नाजायज हो । बिपी कोइरालाले भनेझैँ हरेक मान्छेलाई ठूलो होइन, असल मान्छे बनाउन प्रोत्साहित गर्नुपर्छ ।
उदाहरणीय फिनल्यान्डको शिक्षा प्रणाली : फिनल्यान्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट छ, जसलाई संसारकै नमुना प्रणाली मानिन्छ । त्यहाँ निजी विद्यालय छैनन्, सात वर्ष भएपछि मात्र भर्ना लिइन्छ । नौ वर्षको भएपछि मात्र अनिवार्य शिक्षा लिनुपर्छ । विद्यार्थीलाई निकै कम गृहकार्य दिइन्छ । स्कुलले दिएको गृहकार्य लगभग आधा घन्टामा सकिन्छ । पठनपाठनको अवधि निकै छोटो हुन्छ । फिनल्यान्डमा विद्यालय तहमा एउटै मात्र परीक्षा हुन्छ, जसलाई ‘नेसनल मेट्रिकुुलेसन इक्जाम’ भनिन्छ । यो नेपालमा कक्षा १२ पास गरेसरह हो । त्यहाँ सबै विद्यार्थीलाई व्यक्तिगत रूपमा शिक्षकले तोकेअनुसार ग्रेड दिइन्छ, यो सबै प्रक्रिया शिक्षा मन्त्रालयद्वारा अनुगमन गरिन्छ । यहाँ परीक्षामार्फत एक–अर्काबीच प्रतिस्पर्धा गराइन्छ, तर फिनल्यान्डमा प्रतिस्पर्धा होइन, सहकार्य गराइन्छ ।
होम स्कुलिङ मुभमेन्टका अगुवा अमेरिकी शिक्षाविद् जोन हल्ट भन्छन्, ‘म सिक्ने प्रक्रियामा परीक्षा, टेस्ट, अंक, ग्रेड, डिग्री, प्रमाणपत्र, शिक्षक, स्कुल आदिको कुनै उपयोगी भूमिका देख्दिनँ । यी सबै कुरा सिकाइ प्रक्रियाका बाधक छन् ।’ विद्यार्थीको स्वतन्त्रता, सिर्जनशीलता र कल्पनाशीलतालाई स्कुलले स्वाहा पारिरहेका छन् ।
मेटिन नसकेको धङधङी : एसइई परीक्षामा लेटर ग्रेडिङ प्रणाली अपनाइएको वर्षौं भइसक्यो, तर हाम्रो नानीदेखि लागेको बानी गएको छैन । हामी पुरानै ढर्राबाट चलिरहेका छाैँ, धङधङी अझै बाँकी छ । एसइई ग्रेडसिटमा समग्रमा कुन ग्रेड आयो भनेर उल्लेख गरिँदैन, तर हामी मेरो छोराले ए प्लस ल्यायो, मेरी छोरीले ए ग्रेड ल्याइन् भनेर सामाजिक सञ्जालबाट बधाई पस्किरहेका हुन्छाैँ । अहिलेको पद्धतिबाट ग्रेड प्वाइन्टलाई अंकमा बदल्न सकिँदैन, तर हामी अहिले पनि यति अंक पायो भनेर प्रतिशतमा बदल्न खोजिरहेका हुन्छाैँ ।
कुनै प्रश्नको उत्तर पाँचजना परीक्षकलाई परीक्षण गर्न दिइयो भने उनीहरूले दिने अंक फरक–फरक नै हुन्छ । एउटा परीक्षकले गर्ने मूल्यांकनको तरिका अर्को परीक्षकसँग मिल्दैन, एउटा जाँचकीले जति अंक दिन्छ, अर्को परीक्षकले त्यत्ति नै अंक दिन्छ भन्ने हुँदैन । यिनै कमजोरीलाई हटाउन हामी लेटर ग्रेडिङमा गयौँ, तर हाम्रो सोच बदलिएन । कुनै विद्यार्थीले जिपिए चार प्वाइन्ट ल्यायो भने शतप्रतिशत अंक प्राप्त गर्यो भनेर भ्रम फैलाउन थाल्यौँ । अंकप्रतिको मोह घटेन, हामीले नयाँपन स्वीकार गर्न सकेनौँ ।
जिन्दगी बर्बाद बनाउने मार्कसिट : मैले पढाउने विद्यालयमा एकजना दलित समुदायकी अब्बल छात्रा थिइन् । ती छात्राको लक्ष्य क्लियर थियो, एक मात्र सपना थियो, शाखा अधिकृत बन्ने, सिडिओ बन्ने । जब कक्षा १० उत्तीर्ण गरिन्, तब उनी कुन विषय पढ्ने भनेर अलमलमा परिन्, उनका अभिभावक डाक्टर थिए । ती छात्रालाई विज्ञान पढ्ने दबाब आयो, शाखा अधिकृत बन्नका लागि विज्ञान नै पढ्नुपर्ने किन ? शाखा अधिकृतका पाठ्यक्रमका कति विषयवस्तु विज्ञान विषयसँग सम्बन्धित छन्, अभिभावकले लेखाजोखा गर्न चाहेनन् । ट्यालेन्ट विद्यार्थीले विज्ञान नै पढ्नुपर्छ भन्ने मनोविज्ञानको सिकार ती छात्रा भइन् । उनको रुचि, प्राथमिकता, चाहना विज्ञान छँदै थिएन । तर, उनी विज्ञान पढ्न विवश भइन् ।
अभिभावकहरू छोराछोरीको प्रतिभा के छ, क्षमता के छ, रुचि केमा छ, उसको सपना के छ भनेर पटक्कै ख्याल गर्दैनन् । हरेक आमाबुबाले मार्कसिटको अंक हेरेर छोराछोरीको भविष्यको खाका बनाउँछन् । मार्कसिटले धोका दिन्छ, परीक्षा संयोगको कुरा हो । परीक्षामा कम र बढी अंक आउनुको पछाडि अनेकन कारण हुन सक्छन् । प्रश्नहरू तुलनात्मक रूपमा सजिला हुन सक्छन्, परीक्षाकोठामा गडबड गरेर पनि लेखेको हुन सक्छ, उत्तरपुस्तिका परीक्षकले उदार भएर जाँचेको पनि हुन सक्छ, घोकेका कुराहरू मात्र परीक्षामा आएका हुन सक्छन् । यस्ता प्राविधिक पक्षतिर हामी पटक्कै ध्यान दिँदैनौँ ।
हाम्रो हेराइ, बुझाइ र सोचाइ पराम्परागत छ । तीक्ष्ण बुद्धि भएको विद्यार्थीले विज्ञान मात्र पढ्नुपर्छ भन्ने धारणा छ । अभिभावकको रोजाइको विषय नै पढ्नुपर्ने बाध्यता छ । हामी विद्यार्थीको इच्छाविपरीत निर्णय गर्छौं, जसको कारण सोचेजस्तो परिणाम आउँदैन । अब्बल विद्यार्थीले विज्ञान पढ्दा हुन्छ, मानविकी पढ्दा हुन्छ, शिक्षा पढ्दा हुन्छ, व्यवस्थापन पढ्दा हुन्छ । त्यो सब विद्यार्थीको रुचि, चाहना, क्षमतामा निर्भर हुनुपर्छ । मार्कसिटमा आएको अंकलाई आधार बनाएर विद्यार्थीको भविष्यमाथि खेलवाड कदापि गरिनुहुन्न ।
सिकाइको बाधक मार्कसिट : बालबालिकाले आमाको काख छोड्न नपाउँदै परीक्षाको सामना गर्नुपर्छ । अहिले नर्सरीदेखि नै प्रवेशपरीक्षाको आतंक चल्न थालेको जो छ । विद्यालयहरू खुला कारागारमा परिणत भएका छन् । विद्यार्थीले विद्यालय जाँदा जेल गएको जस्तो अनुभूति गरिरहेका छन्, विद्यालयहरू ब्यारेकमा रूपान्तरण भएका छन् ।
होम स्कुलिङ मुभमेन्टका अगुवा अमेरिकी शिक्षाविद् जोन हल्ट भन्छन्, ‘म सिक्ने प्रक्रियामा परीक्षा, टेस्ट, अंक, ग्रेड, डिग्री, प्रमाणपत्र, शिक्षक, स्कुल आदिको कुनै उपयोगी भूमिका देख्दिनँ । यी सबै कुरा सिकाइ प्रक्रियाका बाधक छन् ।’ विद्यार्थीको स्वतन्त्रता, सिर्जनशीलता र कल्पनाशीलतलाई स्कुलले स्वाहा पारिरहेका छन् । स्वतन्त्र सिकाइ हुुनुपर्छ । प्रवेश परीक्षा, नियमित हाजिरी, जाँच, होमवर्क, क्लासवर्कको आतंकबाट मुक्त हुनुपर्छ । विद्यार्थीले सिक्न चाहेका र रुचिअनुसारका विषय पढाउनुपर्छ । साप्ताहिक परीक्षा, मासिक परीक्षा, त्रैमासिक परीक्षा जस्ता परीक्षाको बोझ बोकाइएको छ । कोचिङ, ट्युसनको भारी बोकाइएको छ । विद्यार्थीको सम्पूर्ण समय किताबी कुरा रट्नमा खर्च गर्न लगाइएको छ । उसमा अन्तर्निहित प्रतिभाको प्रस्फूटन गराउने वातावरण निर्माण गर्न सकिएको छैन ।
एउटा असफलता नै जीवनको बर्बादी होइन : भारतीय वैज्ञानिकहरू चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्न असफल भएपछि ढाडस दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘विज्ञानमा असफलता भन्ने हुँदैैन, केवल प्रयोग र प्रयास मात्र हुन्छ ।’ तर, हामी विद्यार्थीको असफलतामा उनीहरूको मनोबल कहिल्यै उकास्न प्रयास गर्दैनौँ । एउटा विद्यार्थीका लागि परीक्षाको नतिजा आउनु र यमराज आउनु उस्तै–उस्तै हो । परीक्षाको नतिजाले कतिपय विद्यार्थीलाई आत्महत्याको बाटोसम्म पु¥याएको छ । परीक्षामा असफल हुने विद्यार्थीलाई हेय र घृणाको दृष्टिले हेर्ने परिपाटीमा सुधार भएन, विद्यार्थीलाई अपमानित र हतोत्साहित गराउने प्रयास गरिरहेका छौँ । कोसिस गर्नेहरू कहिल्यै हार्दैनन् भनेर हामीले बुझाउनै सकेनौँ ।
तीन सयभन्दा बढी प्रयोग गरी क्युरी दम्पतीले रेडियम पत्ता लगाए । खलासीको काम गर्दागर्दै रजनीकान्त सुपर स्टार बने । कलेजको पढाइ छोडेर सानो पर्सनल कम्प्युटरबाट व्यापार सुरु गरेका स्टिभ जब्स एप्पलका मालिक बने, वेटरको काम गर्दागर्दै मेस्सी धनी फुटबल खेलाडी बने । बीचमै कलेज छोडेका बिल गेट्स विश्वकै धनी व्यक्ति बने । सातपटक एसएलसी फेल रवीन्द्रनाथ टैगोर प्रख्यात साहित्यकार बने । घरेलु नोकर गोर्की महान् लेखक बने, खुट्टाले लेखेरै भए पनि झमक घिमिरेले मदन पुरस्कार जितिन् । मेडिकल साइन्सको पढाइ हापेका अल्छी डार्बिन प्रख्यात वैज्ञानिक बने, सुरुमा क्षमतावान् नभएको भनी हेपिएका न्युटनले विज्ञानमा निकै ठूलो योगदान दिए । साइकलको पसल खोलेको राइट दाजुभाइले हवाईजहाजको आविष्कार गरे । तीनपटक एसएलसी फेल हरिवंश आचार्य नामी कलाकार बने । तेह्र वर्षमै स्कुल छोडेर पुस्तक पसलमा काम गर्ने माइकल फराडेले विद्युत्को आविष्कार गरे । कलेज छोडेर हिँडेका लियो टोल्सटोय प्रख्यात साहित्यकार बने । थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी त्याग र तपस्याले विश्व नेता बने । कक्षा ६ मा फेल भएका विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री भए । यी प्रेरणादायी व्यक्तित्वबाट पाठ सिकाउँदै बालबालिकालाई अंकका लागि होइन, सिकाइका लागि प्रेरित गर्नुपर्छ ।
अन्त्यमा : अब परीक्षालाई जीवन र मरणको विषय बनाइनु हुँदैन । जीवनको सफलता र असफलताको मानक तीनघन्टे पेपर पेन्सिल टेस्ट हुन सक्दैन । अभिभावकले पनि मार्कसिटमा पाएको अंकलाई प्रतिष्ठाको विषय बनाउन छोड्नुपर्छ । विद्यार्थीमा अन्तर्निहित प्रतिभालाई प्रस्फूटन हुने वातावरणको सिर्जना गरिनुपर्छ । विद्यार्थीको रुचि र क्षमताअनुसार सिकाइको अवसर प्रदान गरिनुपर्छ ।
मार्कसिट धेरै विद्यार्थीको जीवनका लागि अग्लो पहाड बनेर खडा भएको छ, चुनौतीको पर्खाल बनेर उभिएको छ । कलिला बालबालिकालाई परीक्षाको हाउगुजी देखाएर मानसिक रूपमा प्रताडित गराउने प्रवृत्तिको अन्त्य गरिनु आवश्यक छ । अब मार्कसिट विद्यार्थीका लागि प्रेसरसिट र अभिभावकका लागि प्रेस्टिज सिट बन्नु हुँदैन । स्वतन्त्र सिकाइको अवधारणाको विकास गरिनुपर्छ ।
(लेखक शिक्षक तथा अधिवक्ता हुन्)