कोरोनाविरुद्धको भ्याक्सिन सबै नेपालीलाई नि:शुल्क : अर्थमन्त्री

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाविरुद्धको भ्याक्सिन सबै नेपालीलाई नि:शुल्क लगाउने सरकारको तयारी रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आर्थिक पत्रकार संघको प्रतिनिधिमण्डलसँगको भेटमा बोल्दै मन्त्री पौडेलले कोरोनाको उपचारजस्तै भ्याक्सिन पनि नेपाली जनतालाई नि:शुल्क लगाउने सरकारको तयारी रहेको बताएका हुन् । 

विश्व बजारमा भ्याक्सिन आउनासाथ नेपाल सरकारले किन्ने गरी सरकारले उत्पादक देश र कम्पनीहरूसँग संवाद गरिरहेको पनि मन्त्री  पौडेलले बताए । 

बजारमा उपलब्ध हुने भ्याक्सिनहरूमा कम लागत पर्ने र गुणस्तरीय हुनुपर्ने सरकारले मापदण्ड बनाएको पनि मन्त्री पौडेलले जानकारी दिए । सरकारले सबै नागरिकलाई भ्याक्सिन लगाउने तयारी गरे पनि १४ वर्ष मुनिका उमेर समूहलाई भने नलगाइने बताए ।

मन्त्री पौडेलले भ्याक्सिन खरिद गर्न सरकारसँग आर्थिक अभाव भएको भनेर मिडियाहरूमा आएको समाचार गलत भएको स्पष्ट पारे । सरकारसँग आर्थिक स्रोतको कुनै कमी नरहेको मन्त्री पौडेलले बताए । 

अर्थमन्त्री पौडेलले मापदण्डअनुसार कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको जानकारी दिए ।

सुझावित समाचार